गण्डकी विश्वविद्यालयमा एसियामै पहिलोपटक एमआईटी एआई पढाइ हुने

हिमाल प्रेस २ साउन २०८१ २१:०५
90
SHARES
गण्डकी विश्वविद्यालयमा एसियामै पहिलोपटक एमआईटी एआई पढाइ हुने

पोखरा- गण्डकी विश्वविद्यालयमा एसियामै पहिलोपल्ट एमआईटी एआईबारे पढाइ हुने भएको छ। बुधबार एक कार्यक्रम आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लिजेन्स कार्यक्रम सार्वजनिक गरेको हो। आगामी सेप्टेम्बरदेखि सोसम्बन्धी विद्यार्थीले गण्डकी विश्वविद्यालयमा अध्ययनको मौका पाउने छन्।

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले एसियामै पहिलोपल्ट गण्डकी विश्वविद्यालयले एआई पढाउन थालेको बताए। विषय सार्वजनिक गर्दै गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले एमआईटी एआई विषय समय सान्दर्भिक भएको बताए। प्राविधिक शिक्षा आजको आवश्यकता रहेको भन्दै उनले बजारले खोजेको शिक्षा उपलब्ध गराउन विश्वविद्यालयलाई निर्देशन दिएका छन्। ‘प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो, बजारले खोजेको जस्तो शिक्षित जनशक्ति उत्पादनमा जोड गरौँ,’ उनले भने। मन्त्री थापाले रोजगारीका लागि विदेश जाने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न यस्ता कार्यक्रम सहायक सिद्ध हुने विश्वास लिएका छन्।

एमआईटी एआई कार्यक्रमको सार्वजनिकीकरणँसगै प्रचारप्रसारको समेत आवश्यकता रहेको उनको भनाइ छ। विश्वविद्यालयलाई समन्वयात्मक हिसाबले अगाडि बढाउनुपर्ने विषय उनले उठाएका छन्। गुणस्तरीय शिक्षालाई आत्मसात् गर्दै शैक्षिक आयाम र आयतन बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भनाइ मन्त्री थापाको छ।

विश्वविद्यालय डिन कपिल अधिकारीले एमआईटी एआईको आवश्यकता ठानेर नै कार्यक्रम सार्वजनिक गरिएको उल्लेख गरे। उनले विश्वविद्यालयले प्राविधिक विषयलाई प्राथमिकतामा राखेको बताए।

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले आईटी पार्क समेत अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए। ५७६ रोपनी जग्गा विश्वविद्यालयको नाममा प्राप्त भएको उनले बताए। हाल विश्वविद्यालयमा करिब ५ सय विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: २ साउन २०८१ २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =