मिलनबिन्दुबाट टाढिएको ओली-नेपाल सम्बन्ध

हिमाल प्रेस २ साउन २०८१ १८:१६
532
SHARES
मिलनबिन्दुबाट टाढिएको ओली-नेपाल सम्बन्ध

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको सम्बन्ध थप तिक्त बन्दै गएको छ। दुई नेताबीच सम्बन्ध बिग्रिएको २०७८ साल भदौमा एमाले विभाजन भएपछि हो।

चार महिनाअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुवै पार्टीले समर्थन दिएपछि दुई नेताबीचको सम्बन्धमा सुधार आएको थियो। कतिपय सार्वजनिक कार्यक्रममा ओली-नेपाल सँगै देखिन्थे। सञ्चारमाध्यममा उनीहरूबीच कुराकानी भएको तस्बिर प्रकाशित हुन्थे। एकीकृत समाजवादीका नेताहरूका अनुसार नेपालले निकटस्थहरूसँग एमालेसँग एकताको कुरा पनि उठाएको बताएका थिए। नेपाल ‘साना कम्युनिस्ट झुन्ड बोकेर कहीँ नपुगिने’ निष्कर्षमा पुगेका थिए। एमाले स्रोतका अनुसार नेपाल-ओली मिलाउन दोस्रो स्तरका नेताले पनि गृहकार्य गरेका थिए।

पछिल्लो समय यी दुई नेताको सम्बन्ध फेरि बिग्रिएको छ। बिग्रेको सम्बन्ध फरक शैलीमा झल्किएको छ। उनीहरू एकले अर्काको कार्यक्रम बहिष्कार गरेर सम्बन्ध बिग्रेको पुष्टि गरिरहेका छन्। गत असार १६ मा एकीकृत समाजवादीको महाधिवेशन एमालेले बहिष्कार गरेको थियो।

महाधिवेशनमा समाजवादीले ओलीलाई निमन्त्रणा पठाएको थियो। ओलीले एमालेबाट प्रतिनिधि पनि पठाएनन्। कार्यक्रममा ओली उपस्थित नभएपछि नेपालले ओलीका ‘पीए’सम्मलाई फोन गरेको अभिव्यक्ति दिएका थिए। ‘एमाले विभाजनको आलो घाउ पचाउन नसकेर नआएका हुन सक्छ,’ नेपालले भनेका थिए, ‘मैले फोन पनि गरेँ, म्यासेज पनि गरेँ। तर आएनन्।’

ओलीले भने यसबारे चासो राखेनन्। ओली समाजवादीलाई पार्टी मान्दैनन्। एकीकृत समाजवादीको कार्यक्रममा प्रधानमन्त्री रहेका प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासँगै साना दलका प्रतिनिधि देखिएका थिए। यसअघि पनि समाजवादीको कुनै कार्यक्रममा एमालेका प्रतिनिधि पुगेका थिएनन्।

महाधिवेशनको समयमा ओली काठमाडौँको एक कार्यक्रममा सहभागी भएका थिए। यसअघि एमालेको चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा भने नेपाललाई बोलाइएको थिएन। ओलीले समाजवादीलाई पार्टी नमान्ने कारण नेपाललाई निम्तो दिएनन्। त्यसबेला ओली-नेपाल तिक्ताको चरमबिन्दुमा थियो।

अध्यक्ष नेपाल पनि के कम! ओलीको शपथ बहिष्कार गरेर उनले बदला लिएका छन्। प्रधानमन्त्रीका रूपमा ओलीले गत सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथ प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू उपस्थिति हुने प्रचलन छ।

समाजवादी उच्च स्रोतका अनुसार नेपाल समाजवादीका नेता प्रकाश ज्वालाको गृहजिल्ला (बर्दिया) गएका थिए। ज्वालाकी आमाको निधनपछि नेपाल समवेदना प्रदानका लागि शपथको अघिल्लो दिन त्यता प्रस्थान गरेका थिए।

समाजवादीका अर्का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने शपथमा पुगेका थिए। उनी शपथको पूरै समारोह बसेर ओलीसँग हात मिलाएर फर्किए। जानकारहरू नेपाल-ओलीको सम्बन्ध ‘व्यक्तिगत इष्र्या’ ले बढाएको बताउँछन्। ओली कुनै बेला समाजवादीसँग एकता गर्न चाहन्थे। दुई पार्टी मिलाएर सबैभन्दा ठूलो दल बनाउने ओलीको इच्छा थियो। उनले जतिबेला एकताको हात बढाएका थिए, त्यसबेला कोशीमा हिक्मत कार्कीको सरकार थियो। ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतले विश्वासको मत लिँदै थिए।

एमाले नेताहरूका अनुसार ओलीले त्यसबेला समाजवादीको आस लिएका थिए। कोशी सरकारले विश्वासको मत पाउने विश्वास ओलीको थियो। कोशीका समाजवादी नेता एवं राजेन्द्र राईत हिक्मतसँग मिल्नुपर्ने बताइरहेका थिए। नेपालले रोके। यसपछि नेपालसँग ओली चिढिए।

कांग्रेस-माओवादी गठबन्धन बन्दा प्रचण्डपछि नेपाल प्रधानमन्त्री बनाउने सहमति थियो। ओली नेपाललाई रोक्न चाहन्थे। ओलीले सार्वजनिक रूपमै प्रचण्डपछि संविधानतः देउवा प्रधानमन्त्री बन्ने बताएका थिए। यसको अर्थ थियो, नेपाललाई रोक्नु।

‘यसबेला ओलीले हाम्रा अध्यक्ष (माधव नेपाल)लाई रोक्न लागे’, समाजवादीका नेता गंगालाल तुलाधर भन्छन्। नेपालको फेरि प्रधानमन्त्री बन्ने सपना ओलीले धूलिसात बनाइदिएको विश्लेषण गर्नेहरू पनि छन्। यद्यपि ओलीले कांग्रेस-माओवादी गठबन्धन तोडे। ओलीले सोही गठबन्धन मात्र तोडेनन्, कांग्रेससँग गठबन्धन बनाएर आफैँ प्रधानमन्त्री बनेका छन्।

अब नेपाल प्रधानमन्त्री हुने सम्भावना कमजोर छ। ‘ओली प्रचण्डभन्दा पनि कठोर बने। प्रचण्डले छाड्थे भने पनि ओलीले ५ वर्ष नै प्रधानमन्त्री हो भन्दिए’, तुलाधर भन्छन्। यही कारण आफ्नो पालो काटिएको नेपालको बुझाइ थियो। प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर ओली प्रधानमन्त्री बनेका छन्। नेपालको ‘उधारो’ आशा मर्‍यो। ओली सत्ता सम्हालिरहेका छन् भने नेपाल प्रतिपक्षमा पुगेका छन्। नेपालले ओलीलाई वामपन्थी राजनीतिको ‘खलनायक’ भनेर आरोप लगाउन थालेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =