झापा सवारी दुर्घटना : एक वर्षमा ८७ जनाले गुमाए ज्यान

हिमाल प्रेस २ साउन २०८१ १८:०८
झापा सवारी दुर्घटना : एक वर्षमा ८७ जनाले गुमाए ज्यान प्रतिनिधिमूलक तस्बिर

भद्रपुर– जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ। गत आर्थिक वर्षको साउनदेखि गत असरासम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो।

सवारी दुर्घटनामा मृत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए। सडक दुर्घटनामा परी एक सय ६४ गम्भीर र आठ सय तीन जना सामान्य घाइते भएका छन्।

सबैभन्दा धेरै पाँच सय ५१ वटा मोटरसाइकल दुर्घटनामा परेका छन्। प्रहरी नायब निरीक्षक गौतमका अनुसार ३७ ट्रक, ३५ बस, ८८ जीपरकार, ३१ ट्रयाक्टर र ६० टेम्पो दुर्घटनामा परेका छन्। वर्ष आव २०७९-८० को भन्दा गत आवमा २६ दशमलव २७ प्रतिशतले सडक दुर्घटनामा कमी आएको जिल्लास्थित ट्राफिक कार्यालयले जनाएको छ।

आव २०७९-८० मा आठ सय चार सडक दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाएका थिए। ट्राफिकसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना कम भएको प्रहरी नायब निरीक्षक गौतमले बताए।

जिल्लामा गत आव २०८०-८१ मा ५७ हजार चार सय ५६ सवारीसाधन कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक गौतमका अनुसार गत वर्ष सवारिसाधन कारबाहीबाट रु तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ राजस्व संकलन भएको छ।

संघीय सरकारले निर्धारण गरे अनुसार पहिलो पटक कारबाहीमा पर्नेलाई पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो पटक एक हजार पाँच सय जरिवाना लिने गरिएको प्रहरी नायब निरीक्षक गौतमले बताए।

गतवर्ष सबैभन्दा धेरै १६ हजार छ सय ७६ मोटरसाईकल कारबाहीबाट एक करोड सात लाख ३१ हजार एक सय ४१ राजस्व संकन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।

त्यस्तै १८ हजार छ सय ५७ कार तथा जीपलाई कारबाही गर्दा रु एक करोड सात लाख २७ हजार राजस्व संकलन भएको थियो।

जिल्लामा दुर्घटना हुनुको प्रमुख कारण मादक पद्धार्थ सेवन ९मापसे० गरेर सवारिसाधन चलाउन रहेको नायब प्रहरी निरीक्षक गौतमले बताए। गतवर्ष मापसे गरेर सवारीसाधन चलाउने दुई हजार ६४ सवारीसाधनलाई करबाही गरिएको थियो। पदार्थ

सवारी दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांशले मापसे गरेका व्यक्ति पाइएको प्रहरी नायब निरीक्षक गौतमले जानकारी दिए। यसैगरी तीव्र गति, चालकको लापरबाहीलगायत कारण रहेका उनले बताए। रासस

प्रकाशित: २ साउन २०८१ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =