महिलाका भरमा चलेका स्वास्थ्य चौकी

रमा केसी २ साउन २०८१ १३:४८
48
SHARES
महिलाका भरमा चलेका स्वास्थ्य चौकी

सुर्खेत- पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका-७ मा रहेको काप्रिचौर स्वास्थ्य चौकीको स्वास्थ्य चौकीको भवन मापदण्डअनुसारको छैन। एउटै कोठाबाट बिरामीलाई परामर्शदेखि परीक्षणसम्मका काम गर्नुपर्ने बाध्यता छ। जटिल रोगका बिरामीको उपचारका लागि प्रयोगशाला सेवा र भिडियो एक्सरे सेवा छैन।

पर्याप्त स्रोतसाधन नभए पनि स्वास्थ्यकर्मीले आफ्नो ठाउँबाट उत्कृष्ट सेवा प्रवाह गर्दै आएको सेवाग्राहीहरू बताउँछन्। स्वास्थ्यचौकीमा सबै कर्मचारी महिला छन्।  चौकीमा सेवा लिन आएकी सोही ठाउँकी पातली ओलीले चौकीबाट प्राप्त हुने सवै सेवा पाए पनि विशेषज्ञ सेवा भने पाउन नसकेको बताइन्। उनले सबै महिला स्वास्थ्यकर्मी भएको हुँदा आफ्नो समस्या भन्न पनि सजिलो भएको जनाइन्। भिडियो एक्सरे र प्रयोगशालाका लागि भने बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो उनको छ।

अर्का सेवाग्राही सन्तोष केसीले चौकीले चौकीबाट सन्तोषजनक सेवा प्रवाह भएको बताए। ‘गाउँमा बस्ने भनेकै महिलाहरु बढी हो। उहाँहरू (स्वास्थ्यकर्मी) औषधि उपचार गर्न भनेकै बेला आइदिनुहुन्छ,’ उनले भनिन् , ‘महिला भएदेखि सुत्केरीका लागि सबैभन्दा राम्रो भएको छ।’

स्वास्थ्यचौकीमा गर्भवतीको नियमित  परीक्षण राम्रो भएको उनको बुझाइ छ। महिला मात्रै स्वास्थ्यकर्मी भएका कारण गाउँका महिला सुत्केरी व्यथा लाग्नेबित्तिकै स्वास्थ्यचौकी आउने गरेको उनले बताइन्।

स्वास्थ्यचौकी इन्चार्ज सुनिताकुमारी खत्रीले सेवा प्रवाहमा आफूहरूले कुनै कमी र भेदभाव नगरेको बताइन्। कोही बिरामी आएपछि रातिको समयमा पनि डेराबाट आएर सेवा दिने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

लेकबेसी नगरपालिका-६ स्थित स्वास्थ्य चौकी कल्याणमा पनि सबै स्वास्थ्यकर्मी महिला छन्। चौकीमा कार्यरत ६ जनामा इन्चार्ज एचए भगवती श्रेष्ठ, सीअहेव यशोदा पुन, अनमी लीला पुरी, सीअहेव जमुना बुढा, ल्याब असिस्टेन्ट डिलमाया जीसी र अनमी खिमा राना हुन्।

इन्चार्ज भगवती श्रेष्ठ सबै कर्मचारी महिला हुँदा कार्य सम्पादन र सेवा प्रवाहमा सजिलो भएको बताइन्। धेरैजसो पुरुष काम गर्न बाहिरिएका कारण चौकीमा उपचार गर्न महिला नै बढी आउने गरेका छन्। प्रसूति सेवालगायत अन्य आकस्मिक सेवा पनि दिनरात गर्नुपरेको भन्दै उनले सेवाग्राहीले पनि उपचारमा सहयोग गर्ने गरेको उनको भनाइ छ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले सबै महिला कर्मचारी भएको स्वास्थ्य चौकीबाट सेवा प्रवाहबारे कुनै गुनासो नआउने गरेको जनाएको छ। कार्यालयका वरिष्ठ निरीक्षक उदय बीसीले सबै स्वास्थ्यकर्मी महिला हुँदा काम गर्दा सहज भएको प्रतिक्रिया आएको बताए। उनका अनुसार जिल्लामा महिला स्वास्थ्यकर्मीले धानेका स्वास्थ्य चौकीको संख्या आधा दर्जनभन्दा बढी छ।

प्रकाशित: २ साउन २०८१ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 7 =