काठमाडौँ- चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १७ जनाको शव भेटिएको छ।
सशस्त्र प्रहरी बलका अनुसार थप दुई शव फेला परेको हो। मंगलबार दिउँसो २:३० बजे नवलपरासी, मध्यविन्दु नगरपालिका-१२, जमुनीघाटस्थित नारायणी नदीमा बालुवाले पुरिएको अवस्थामा एक जना महिलाको शव भेटिएको छ। त्यस्तै ३:४५ बजे पूर्वी नवलपरासी, गैंडाकोट नगरपालिका-१० खरखरेस्थित नारायणी नदीको बीच बगरमा एक पुरूषको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। हालसम्म ९ जनाको सनाखत भएको छ भने ८ जनाको हुन बाँकी छ।
गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। टिकट नकाटी बसमा यात्रा गरेका यात्रीका आफन्तजनले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए। दुई बसमा ६५ यात्रु सवार रहेको खुलेको छ।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसबाट हामफालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका-९ का जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता उपचार पश्चात घर फर्केका छन्। रौतहटकै देवाही बनाही नगरपालिका-१० का नन्दन दासको उपचार भइरहेको छ।