विपद्ले निम्त्याएको विपत्ति

असावधानीले अकालमै जान्छ ज्यान

विवेक विवश रेग्मी १ साउन २०८१ १९:००
28
SHARES
असावधानीले अकालमै जान्छ ज्यान फाइल तस्बिर।

इटहरी- कोशी प्रदेशमा प्राकृतिक विपद्बाट एक वर्षमा ७७ जनाको निधन भएको छ। आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशमा प्राकृतिक विपद्‍बाट ७७ जनाको निधन भएको हो। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकअनुसार बाढीबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ।

तथ्यांकअनुसार ११७ स्थानमा आएको बाढीका कारण २२ जनाको निधन भएको छ भने २४ जना घाइते भएका छन्। यसै गरी विभिन्न जिल्लामा भएको आगलागीबाट २० जनाको निधन हुँदा एक सय ३४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार एक हजार ७३१ स्थानमा आगलागी हुँदा सो संख्यामा क्षति भएको हो। यस्तै २५३ वटा जंगली जनावरको आक्रमणबाट १३ जनाको निधन भएको छ भने ५७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार ८७ स्थानमा गएको चट्याङबाट १३ जनाको निधन भएको छ, जसमा ३६ जना घाइते भएका छन्। यसै गरी ४९६ स्थानमा गएको पहिरोका कारण ९ जनाको निधन हुँदा २० जना घाइते भएका छन्।

कोशी प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालका अनुसार आर्थिक वर्ष सकिएसँगै घटना अद्यावधिक गरिएको हो। प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनसम्बन्धी तथ्यांक अद्यावधिक गर्दा सो संख्यामा घटना भएको पाइएको दाहालले बताए।

दाहालका अनुसार प्राकृतिक विपद्‍बाट प्रदेशभर ७ हजार ९०८ वटा चौपाया मरेका छन्। जसमा सबैभन्दा बढी आगलागीमा ७ हजार ३६५ वटा रहेका छन्।

यसै गरी प्राकृतिक विपद्का कारण २ हजार २७४ घरपरिवार प्रभावित भएका छन्। एसएसपी दाहालका अनुसार प्राकृतिक प्रकोपमा उद्धारका लागि कोशी प्रदेशका १४ वटै जिल्लामा १७ हजार ६८१ जना प्रहरी परिचालन गरिएको थियो। जसमध्ये सबैभन्दा बढी आगलागीमा ११ हजार २६७ जना प्रहरी परिचालन गरिएको उनले बताए।

सुख्खायाममा आगलागी हुँदा पहाडी जिल्लामा क्षति भएको र बर्खायाममा बाढीका कारण तराईका जिल्लामा क्षति हुने गरेको उनको भनाइ छ। पहिरोका कारण पहाडी जिल्लामा मानवीय तथा भौतिक क्षति हुने गरेका कारण सचेत रहनसमेत उनले आग्रह गरे।

‘मनसुन सुरु हुनुभन्दा अगाडि नै हामीले सबै जिल्लामा सचेतना फैलाएका छौँ। घटना भएमा तत्कालै प्रहरीलाई खबर गर्न र जोखिम भएको स्थानबारे जानकारी गराउन सचेत गराएका छौँ,’ दाहालले भने, ‘घटना हुन सक्ने अवस्था देखिएमा तत्कालै प्रहरीलाई खबर गरेमा मानवीय क्षतिको घटनामा कमी आउँछ।’

उनले प्रदेश सरकार र स्थानीय सरकारसँगको समन्वयमा उद्धार कार्य गरिएको जनाए। जोखिम भएका क्षेत्रमा बसोबास गर्न नहुने र जोखिम हुने क्षेत्रमा कुनै पनि बहानामा नजानका लागि पनि आग्रह गरे।

‘अनावश्यक यात्रा गर्दा पनि प्राकृतिक विपद्बाट मानवीय क्षति हुँदै आएको छ,’ उनले भने, ‘सकभर मनसुनको समयमा यात्रा नगर्ने, गर्नु परे पनि गन्तव्यको अवस्था बुझेर मात्रै यात्रा गर्दा मानवीय क्षतिमा कमी आउँछ।’

उनका अनुसार मनसुनको अवस्थामा मनसुनबारे जानकारी लिएर ठाउँ, परिवेशको अवस्था बुझेर, बाटो, खोलानालाको अवस्था बुझेर मात्रै यात्रा गर्नुपर्ने हुन्छ। यात्रा गर्नुअघि प्रहरीको हटलाइन नम्बर १०० वा १०३ मा बुझ्न सकिने समेत दाहालले जनाए। ‘बाढीपहिरोको जोखिमबारे अगाडि नै बुझ्दा पनि अकालमै ज्यान गुमाउनुपर्दैन,’ एसएसपी दाहालले भने। मानवीय असावधानीका कारण बर्सेनि प्राकृतिक विपद्बाट मानिसले अकालमै ज्यान गुमाउनुपरेको र बेलैमा सचेत भएमा ज्यान जोगाउन सकिने उनले सुझाए।

उनका अनुसार जोखिम भएका स्थानबाट मानिसहरूलाई उद्धार र स्थानान्तरण गरिएको छ। ‘बाढी आउनेजस्तो देखिएपछि तत्काल प्रहरीलाई खबर भएमा हामीले उद्धार गर्ने वा स्थानान्तरण गर्ने निक्र्यौल निकालेर मानवको ज्यान जोगाउने कार्य गरिरहेका छौँ,’ उनले भने, ‘कोशी प्रदेश प्रहरीले २४ घण्टा नै टोली खटाइरहेको छ।’

पहिरोमा परी सासूबुहारीको मृत्यु

यसैबीच पहिरोमा परी मंगलबार सासूबुहारीको मृत्यु भएको छ। संखुवासभाको सिलिचोङ गाउँपालिका-१ बिलुवा दोभानस्थित घरमै पहिरो खस्दा पहिरोले पुरिएर ५५ वर्षीया मोतीमाया राई र उनकी बुहारी २७ वर्षीया समीक्षा राईको घटनास्थलमै मृत्यु भएको दाहालले जानकारी दिए।

मृतक मोतीमायाकी २७ वर्षीया छोरी रबिना राई घाइते भएकी छन्। ‘घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँ लगिएको छ,’ दाहालले भने। उनका अनुसार मोतिमायाका ज्वाइँ ३३ वर्षीय मनिकुमार राई, नाति १२ वर्षीय अमिर राई र नतिनी ४ वर्षीया समृद्धि राईको उद्धार गरिएको छ।

प्रकाशित: १ साउन २०८१ १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =