वृद्ध बालाई जंगलको बीचमा लगेर छाडेपछि…

विवेक विवश रेग्मी १ साउन २०८१ १६:५६
2.6k
SHARES
वृद्ध बालाई जंगलको बीचमा लगेर छाडेपछि… तस्बिर सौजन्य : दिनेश गिरी

इटहरी-  भनिन्छ- ‘मानिसलाई कुनै रोग लागेन भने पनि बुढ्यौली रोग अवश्य लाग्छ।’ यो भनाइले आममानिसको हृदय छुन्छ। त्यही भएर हरेक सन्तानले वृद्ध हुँदै गएका बाआमालाई सँगै राख्छन्। बाआमालाई हृदयभन्दा टाढा राख्नै सकिँदैन। मोरङमा एउटा यस्तो घटना भएको छ जुन घटना सुन्दा आमाबाबुप्रति सन्तानहरू कतिसम्म निर्मम हुँदा रहेछन् भन्ने स्पष्ट हुन्छ।

मोरङको बेलबारी नगरपालिका ७ का ७० वर्षीय वृद्धलाई छोराबुहारीले बेलबारी-चिसाङ साझेदारी वन क्षेत्रको बीच जंगलमा लगेर छोडेको घटना बाहिरिएको छ। चार दिनयता वृद्धलाई जंगलको बीचमा लगेर छाडिएको पाइएपछि मंगलबार (आज) उद्धार गरिएको हो। घटनास्थल पुगेकाहरूले एक वृद्धमाथि सहानुभूतिसहित करुणाभाव व्यक्त गरेका छन्।

चिसाङ साझेदारी वनका अध्यक्ष दिनेश गिरीका अनुसार उद्धार गरिएका वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको छ। ‘जंगलको बीचमा लगेर छाडिएको रहेछ। त्यहाँ जोकोही पुग्नै सक्दैन,’ गिरीले हिमालप्रेससँग फोन सम्पर्कमा भने, ‘वनको गस्ती टोली हात्ती निरीक्षण गर्न जाँदा बीच जंगलमा देखेपछि सोधीखोजी हुँदा घटना बाहिरिएको हो।’

वृद्धले गस्ती टोलीसँग छोराबुहारीले आफूलाई जंगलमा छाडेको बताएका छन्। ‘जंगलमै लगेर छाडिएको हो भन्ने पुष्टि हुने आधार पनि छ। गस्ती टोलीले बाइक जंगलमा गएको डाम पनि देखेका कारण जंगलमै लगेर छाडेको देखिन्छ,’ गिरीले भने, ‘हामीले दुईतिर बोरामा घोचा हालेर प्राथमिक स्ट्रेचर बनाएर गाडी आउने ठाउँसम्म बोकेर ल्यायौँ। त्यसपछि गाडीमा हालेर अस्पतालसम्म पुर्‍याएका छौँ।’

गिरीले वृद्धलाई सबडिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय र बेलबारी नगरपालिकाका प्रतिनिधिसहितको रोहबरमा उद्धार गरिएको जनाए। वृद्धको भनाइ उदृत गर्दै उनले भने, ‘छोराबुहारीले यहाँ ल्याएर छाडेपछि चारदिन देखि यहीँ बसिरहेको छु।’

अध्यक्ष गिरीका अनुसार वृद्धको शरीरमा चोट देखिएको छ। थरथर काँपिरहेको अवस्थामा भेटिएका उनी राम्ररी बोल्न सक्ने अवस्थामा छैनन्। ती वृद्ध वडा नं. ७ डाँगी टोलमा बस्ने गरेको खुलेको वडाध्यक्ष सुनीता चौधरीले पुष्टि गरिन्। आफूले छोराबुहारीलाई वडामा डाकेको जानकारी पनि उनले दिइन् । ‘छोराबुहारीलाई वडामा ल्याउन प्रहरीलाई भनेकी छु,’ उनले भनिन् ।

चौधरीका अनुसार बेलबारी ७ स्थित एक परिवारमा आफन्तकहाँ आउजाउ गरिरहने वृद्ध सुन्दरहरैँचास्थित कोरियाडाँगी भन्ने ठाउँमा बस्दै आएका थिए। जेठो छोराकहाँ बस्दै आएका उनका कान्छा छोरा भने भारतको पञ्जाबमा रोजगारका सिलसिलामा छन्। ‘एक छोरा पञ्जाबमा बस्ने, एकजना सुन्दरहरैँचामा बस्ने र आउजाउ गर्ने हुँदोरहेछ। एक साताअघि छोराकोमा जान्छु भनेर बेलबारीबाट हिँड्नुभएको रहेछ,’ वडाध्यक्ष चौधरीले फोन सम्पर्कमा भनिन्, ‘बेलबारीमा भने छोराकै रिलेसनजस्तो रहेछ। केही दिनअघि आएर फेरि छोराकोमा जान्छु भनेर हिँडेको पुष्टि भएको छ।’

उनका अनुसार भारतमा रहेका कान्छा छोरा भने सम्पर्कमा आएका छन्। जेठा छोरासँग भने सम्पर्क हुन सकेको छैन। उनले भनिन्, ‘बेलबारीबाट जेठा छोरा हिँडेको छ। घटना बाहिरिएपछि जेठो छोरा सम्पर्कमा आएका छैनन्। हामीले सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ।’ इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार वृद्धका परिवारको खोजी कार्य भइरहेको छ।

सेतै फुलेका दाह्री र कपाल। पातलो टिसर्ट र हाफपाइन्ट लगाएका वृद्धको छेउमा पानीको बोतल छन्। पानी कसैले ल्याएर दिएको र चार दिनयता त्यही पानी मात्रै पिएर बाँचिरहेको वृद्धको आँखाले बताउँछ। बाइकमा कसैले ल्याएर छाडेको कि हिँड्दै आएको? भनेर स्थानीयले जिज्ञासा राख्दा ती वृद्धले ‘छोराबुहारीले बाइकमा ल्याएर छाडेको’ बताएका छन्। राम्ररी बोल्न नसक्ने अवस्थामा भेटिएका ती वृद्धलाई छोराबुहारीले आफूसँगै राख्नुपर्छ भन्ने बोध नभएका कारण जंगलमा जगेर छाडिदिएको हुनसक्ने स्थानीयवासीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =