बस दुर्घटनाका बेपत्ता खोज्न गण्डक ब्यारेजसम्म पुगे ३०१ सशस्त्र प्रहरी [भिडिओसहित]

हिमाल प्रेस १ साउन २०८१ १६:१५
32
SHARES
बस दुर्घटनाका बेपत्ता खोज्न गण्डक ब्यारेजसम्म पुगे ३०१ सशस्त्र प्रहरी [भिडिओसहित] हराएका यात्रु खोज्दै सशस्त्रको गोताखोर टोली।

काठमाडौँ- गत शुक्रबार चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूलीमा हराइरहेका दुईवटा बसका यात्रुको खोजीका लागि सशस्त्र प्रहरीले जनशक्ति थप गरेको छ।

मंगलबार सशस्त्र प्रहरीले ३०१ जना सुरक्षा फौज घटनास्थलदेखि करीब १ सय ३२ किलोमिटरको दुरीमा रहेको गण्डक ब्यारेजसम्म परिचालन गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

दुर्घटनास्थल सिमलताल वरिपरिका स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जना परिचालन गरिएको छ। उक्त फौजले २ वटा मोटर बोट र ७ वटा र्‍याफ्ट बोटसहित खोजी गरिरहेको छ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा १ सय १५ जना परिचालन गरिएको छ। उनीहरू १५ वटा टोलीमा बाँडिएर घटनास्थल, देवघाट, शिवघाट, सिसवार र गोलघाटसम्म नदी किनारमा खोजी गरिरहेको डीएसपी थापाले बताए।

सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरूमा पनि परिचालित छन्।

सशस्त्र प्रहरी बल नेपाल नं २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको फौज गण्डक ब्यारेज ईलाकामा परिचालन भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा फौज गैडाकोट नगरपालिका-१० को ईलाकामा परिचालित भएको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक ब्यारेज ईलाका, सुरक्षा बेश चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका-३ भुटाहा ईलाका र सुरक्षा बेश प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका-१५ खर्कटा ईलाकामा परिचालित भएका छन्।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको बस त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

खोजी तथा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट २ वटा सोनार डिभाईस, २ वटा मोटर बोट र ६ वटा र्‍याफ्ट बोट प्रयोग भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं‍ १७ गण चितवनबाट १ सोनार डिभाईस, १ वटा मोटर बोट र ५ वटा र्‍याफ्टसहित जम्मा १४ वटा बोट प्रयोग गरिएको छ।

घटना भएको पाँचौ दिनसम्म १५ वटा शव फेला परेका छन्। ती मध्ये ९ वटाको सनाखत भएको छ भने ६ वटाको सनाखत हुन बाँकी रहेको चितवन प्रहरीले जानकारी दिएको छ।

सशस्त्रले गरिरहेको खोजीको भिडिओ

प्रकाशित: १ साउन २०८१ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast