बद्री पाण्डे : संस्कृतका अब्बल विद्यार्थीदेखि ४१औँ पर्यटनमन्त्रीसम्म

हिमाल प्रेस १ साउन २०८१ १४:१०
590
SHARES
बद्री पाण्डे : संस्कृतका अब्बल विद्यार्थीदेखि ४१औँ पर्यटनमन्त्रीसम्म मन्त्रालयमा सोमबार पदभार ग्रहण गरेपछि निर्णयमा हस्ताक्षर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे। तस्बिर : रासस

काठमाडौँ– बाजुराबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सहमहामन्त्री देशको ४१औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन्। केपी शर्मा ओली सरकारमा मन्त्री सम्हाल्ने पाण्डे नयाँ अनुहार हुन्। राजनीतिमा निरन्तर संलग्न रहँदै आएको झन्डै चार दशकपछि पाण्डे मन्त्री पदमा नियुक्त भएका हुन्।

‘पाण्डे राजनीतिमा खारिएका र अनुभवी नेता हुन्। उनले जुन जिम्मेवारी पाएका छन्, त्यसलाई राम्ररी पूरा गर्नेछन् भन्नेमा ढुक्क हुन सकिन्छ’, विद्यार्थी जीवनदेखि पाण्डेका गतिविधिलाई नजिकबाट नियाल्दै आएका प्रा.डा. शान्तिकृष्ण अधिकारीले भने।

अधिकारीको बुझाइमा विद्यालय तहमा संस्कृत शिक्षा पढेर नैतिकताको पाठ सिकेका, नेपालको दुर्गम र पिछडिएको क्षेत्रबाट आफ्नै बलबुँतामा उठेका पाण्डे अरूजस्तो क्रेनले तानेर माथि आएका नेता होइनन्।

२०४३ देखि नेपाली कांग्रेसमा आबद्ध पाण्डे २०५० मा नेविसंघ बाजुराका अध्यक्ष भएका थिए। यसैगरी वाल्मीकि क्याम्पसको नेविसंघ अध्यक्ष, २०५३ सालमा सोही क्याम्पसको स्ववियु अध्यक्षमा निर्वाचित पाण्डेले स्ववियु परिषद्को नेतृत्व सम्हाल्ने अवसर पनि पाएका थिए। हालका कांग्रेस महामन्त्री गगन थापा परिषद्को सचिव थिए। यसैगरी २०५६ मा नेविसंघको केन्द्रीय सदस्य बनेका पाण्डे २०५७ मा सहमहामन्त्री, २०६२ मा महामन्त्री भएर विद्यार्थी आन्दोलनमा संलग्न भएका थिए।

पाण्डेले पार्टी राजनीतिमा जिम्मेवारी पाएको चाहिँ २०६६ सालमा हो। त्यतिबेला कांग्रेस केन्द्रीय सदस्य बनेका पाण्डे अहिले पार्टीका सहमहामन्त्री छन्। उनले २०६६ मा पार्टीको श्रमिक विभागको नेतृत्व गरेका थिए। २०७० मा संविधानसभा सदस्य बनेका पाण्डे २०७२ मा व्यवस्थापिका सांसद भएका थिए। उनी २०७४ मा राष्ट्रियसभा सदस्य थिए।

पाण्डेले समाजवादको शिक्षा समाजवादी चिन्तक प्रदीप गिरीबाट लिएका हुन्। यस्तै सादगी नेता सुशील कोइरालाको अत्यन्त सान्निध्यमा रहेर काम गरेका र राजनीतिको पाठ पढेका व्यक्ति भएकाले पाण्डेले राजनीतिमा इमान देखाउँदै आएको अधिकारीको मूल्यांकन छ।

समकालीनहरूका अनुसार पाण्डे विद्यार्थीकालदेखि प्रखर वक्ताका रूपमा चिनिन्थे। स्कुले जीवनमा काठमाडौँ उपत्यकामा आयोजना हुने वक्तृत्वकला र वादविवाद प्रतियोगितामा पाण्डे प्रायः प्रथम हुन्थे। तीनधारा संस्कृत छात्रावासको परिवेशले पाण्डेलाई इमानदार र निष्ठावान् बनाएको बुझाइ उनका समकालीनहरूको छ। तीनधारा संस्कृत छात्रावास कुनै बेला समाजवादी राजनीति र वैचारिक मन्थन गर्ने केन्द्र थियो।

पाण्डेले संस्कृतमा आचार्य (स्नातकोत्तर) सम्मको अध्ययन गरेका छन्। यस्तै उनी राजनीतिशास्त्रका स्नातकोत्तर हुन्। संस्कृत र संस्कृतिप्रति निष्ठा राख्ने पाण्डेले मन्त्रालय पनि त्यस्तै प्रकारको पाएकाले उनको कार्यकालमा केही राम्रा काम हुनेमा आशावादी बन्न सकिने बताउँछन् विद्यार्थीकालदेखि पाण्डेसँग निकट रहँदै आएका शान्त खरेल।

खरेलका अनुसार पाण्डेको विगत हेर्ने हो भने उनी जहिल्यै मेहनत र दुःख गरेर माथि आएका देखिन्छन्। ‘पाण्डेले राजनीतिभित्रको घामपानी झरीबादल सबै बुझेका छन्। त्यसैले उहाँबाट निकै आशावादी छौँ’, खरेलले भने। पाण्डेले संस्कृत पढेर नेपाली सभ्यता र समाज बुझेका छन् भने राजनीतिशास्त्रको सैद्धान्तिक अध्ययनले उनलाई थप परिस्कृत बनाउँदै लगेको छ।

जनताको समस्याका बारेमा चासो राख्ने नेता हुन् पाण्डे। पार्टीको जिम्मेवारीमा रहेका बेला मेचीदेखि महाकालीसम्म भ्रमण गरेर जनताका समस्यालाई नजिकबाट हेर्दै आएकाले पनि यो कुरा पुष्टि हुने अधिकारी बताउँछन्। उनी भन्छन्, ‘अध्ययनमा अब्बल र राजनीतिक चेतमा उत्कृष्ट भएका व्यक्तिका रूपमा पहिचान बनाउन सक्छन्।’

पाण्डेका चुनौती

पाण्डे अति संवेदनशील मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका छन्। जहाँ ठेक्कापट्टा र बिचौलियाको बढी चलखेल हुन्छ भन्ने गरिन्छ। त्यसबाट जोगिएर काम गर्नु उनका लागि ठूलो चुनौती रहेको अधिकारी बताउँछन्। त्यसैगरी संयुक्त सरकारको मन्त्री भएकाले सत्ताको प्रमुख दल एमाले र अन्य दलको स्वार्थलाई पनि उनले ध्यान दिनुपर्नेछ।

पछिल्लो समयमा संस्कृति मन्त्रालय संस्कृत र संस्कृतिबारे अध्ययन गरेका मन्त्रीले नेतृत्व गर्न पाएका थिएनन्। सधैँ अन्यअन्य क्षेत्रका मान्छेले मात्रै संस्कृति मन्त्रालयको नेतृत्व सम्हाल्थे। ठेक्कापट्टा गर्ने नेताहरूकै चासो हुँदै आएको थियो। यसपटक चाहिँ नेपाल र नेपालीका बारेमा, हाम्रा जातजाति र धर्मसम्प्रदाय सबैका बारेमा जानकार पाण्डेले संस्कृति मन्त्रालयको जिम्मेवारी पाउनु अत्यन्त खुसीको कुरा हो। उनी मन्त्रालय रहुन्जेलसम्म हाम्रा सनातनदेखि चलिआएका धर्म, संस्कृति परम्परा, हाम्रा सभ्यताको विकासक्रममा पनि विशेष ध्यान जानुपर्ने सुझाव अधिकारीको छ। अधिकारीले भने, ‘पाण्डेले बाल्यकालदेखि नै चरित्रमा विकास गरेको इमानदारी मन्त्रालयमा गएर गुमाएनन् भने उनको राजनीतिक भविष्य थप उज्यालो छ’, अधिकारीले भने।

तीनधारा संस्कृत छात्रावासमा बसेर अध्ययन गरेका व्यक्ति मन्त्रालयको नेतृत्वमा नपुगेको धेरै भएको थियो। ‘पाण्डेको मन्त्री पदमा नियुक्तिले संस्कृत क्षेत्रका लागि त गौरवको विषय हो नै, उहाँले पाउनुभएको जिम्मेवारी पनि हामी सबैका लागि गौरवको विषय हो। मलाई लाग्छ, उहाँमा अनेक चुनौती सामना गरेर उत्कृष्ट नतिजा निकाल्ने क्षमता छ। त्यसमा सफल हुनुहुनेछ’, तीनधारा संस्कृत छात्रावासका पूर्वछात्रसमेत रहेका खरेलले भने। चुस्त र अनुभवी व्यक्तिहरूलाई समेटेर सचिवालय बनाउनुपर्ने, स्वार्थ समूहबाट टाढा बसेर मुलुकको पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्नुपर्ने सुझाव खरेलको छ।

पाण्डेले आफू मन्त्री बन्नुमा बाजुराका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीको योगदान रहेको बताएका छन्। मन्त्री पदमा बहाली भएपछि उनले भिडियो सन्देशमार्फत धन्यवाद दिएका हुन्। उनले भने, ‘देशमा केही निराशा बढेको छ, आशा सञ्चार गर्नुपर्नेछ। जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्नेछु।’ मन्त्री पाण्डेले आफू विकास र समृद्धिको बाटोलाई पहिल्याउने, रोजगारी सिर्जना गर्ने लगायतका विकल्पहरू सोच्ने जस्ता गतिविधिमा संलग्न हुने बताएका छन्। उनले सबैको साथ र सहयोग लिएर काम गर्ने उनको भनाइ छ। उनले भने, ‘मन्त्रालयबाट निस्कँदा सकारात्मक सन्देश प्रवाह गर्ने अठोटका साथ काम गर्नेछु।’

पर्यटन नीति संशोधनका लागि कार्यदल

मन्त्री पदमा बहाली गरेकै दिन पाण्डेले पर्यटन नीतिलाई समयसापेक्ष बनाउन पर्यटन मन्त्रालयका सहसचिव हेमराज तामाङको संयोजकत्वमा एक कार्यदल गठन गरेका छन्। उक्त कार्यदलले तीन महिनामा प्रतिवेदन तयार गरी मन्त्रालयलाई बुझाउनेछ।

पर्यटन क्षेत्रको विकास संवर्धन, प्रवर्धन र त्यस क्षेत्रलाई सुदृढ गर्ने गरी पर्यटन नीति बनाउने गरी अध्ययन गर्ने र तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल बनाइएको मन्त्री पाण्डेले बताएका छन्।

उनले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवर्धनका लागि रणनीतिका साथ अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। यसैगरी अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सेवालाई प्रभावकारी बनाउन सिर्जनशील ढंगले सक्रियताका साथ लाग्ने बताएका छन्।

प्रकाशित: १ साउन २०८१ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twelve =