पोखरा- प्रतिनिधिसभा सदस्य एवं तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र २ रिक्त हुन गयो। २०७६ सालको उपनिर्वाचनमा सो स्थानमा एमालेले रवीन्द्रकै पत्नी विद्या भट्टराई (अधिकारी) लाई निर्विवाद उम्मेदवार बनाउने निर्णय गर्यो। खासमा विद्या रवीन्द्रको पत्नीमात्र थिइनन्, विद्यार्थीकालमा राजनीतिमा सक्रिय उनी २०५५ मा अनेरास्ववियु केन्द्रीय सचिव हुँदा रवीन्द्र नेतृत्वमा थिए।
काठमाडौंकी विद्या २०५६ सालमा कास्कीका रवीन्द्रसँग बिहेपछि भने राजनीति पतिलाई सुम्पिएर आफू घरव्यवहार र एकाडेमिक क्षेत्रतर्फ लागिन्। २ सन्तानका बाबुआमा अधिकार दम्पतीको जीवनमा २०७५ सालको अन्त्यतिर नराम्रो घटना भयो। पतिलाई हेलिकोप्टर दुर्घटनामा गुमाएकी विद्याले त्रिविको उपप्राध्यापक जागिर छाड्ने कि नछाड्ने दोधारबीच पतिको अधुरा सपना साकार पार्ने निर्णय गर्दै फेरि सक्रिय राजनीतिमा आइन्।
पतिको दुःख बारेकै अवस्थामा उनी उपनिर्वाचनमा भोटमा माग्दै मतदातासमक्ष पुगिन्। चुनावी परिणाममा विद्याले अत्यधिक मतान्तरले चुनाव जितिन्। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतान्तरले पराजित गर्दै कास्की २ मा एमालेको विरासत जोगाइन्। सोही क्षेत्रमा रवीन्द्रले २०६४, ०७० र ०७४ को चुनाव जितेर लगातार ३ पटक जित हासिल गरेका थिए। विद्याले २४ हजार ३ सय ९४ र कांग्रेसका खेमराजले १५ हजार ९ सय ९१ मत प्राप्त गरेका हुन्।
विद्या सांसद चुनिएर प्रतिनिधिसभाको ढोका उघारिन्। संसद्मा समसामयिक विषयमा उनी निकै सुनिइन्। यद्यपि थोरै समयको सांसद अनुभवपछि २०७९ मंसिर ४ को चुनावमा पुनः कास्की २ मा फेरि उम्मेदवार बनिन्। कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको गठबन्धनविरुद्ध एमाले एक्लै लड्दासमेत जित उनकै पक्षमा गयो। उनले १६ हजार ९९८ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत ल्याएका थिए। बौद्धिक, स्वच्छ र पारदर्शी छवि बनाएकी त्रिविकी पूर्व उपप्राध्यापक उनै विद्या अहिले शिक्षामन्त्री बनेकी छन्। यसरी संघीय सरकारमा रास्वपाकी सुमना श्रेष्ठको बहिर्गमनसँगै फेरि देशले महिला नै शिक्षामन्त्री पाएको छ।
राजनीतिमा आउन चाहने महिलाका लागि उनी उदाहरणीय हुन्। चुनावी प्रचारमा उनले सडक पूर्वाधार, भूक्षय, बजारीकरण, युवालाई स्वरोजगार, महिलालाई उद्यमशीलता, गुणस्तरीय शिक्षा र स्वास्थ्यसँग जोडेर पोखराको प्राकृतिक सुन्दरताको रक्षा गर्दै समृद्ध पोखरा बनाउने अठोट लिएकी थिइन्। अहिले त उनलाई सुमनाको सुरु गरेका राम्रा काम निरन्तरता दिँदै मुलुककै शिक्षा सुधारको गहन जिम्मेवारी केपी ओलीले सुम्पेका छन्।
२०३० सालमा काठमाडौं चावहिलमा जन्मिएकी विद्या पशुपति मावि कक्षा ७ मा अध्ययन गर्दागर्दै अनेरास्ववियुमा प्रवेश गरेकी थिइन्। ०४५ सालमा भारतीय नाकाबन्दीको विरुद्ध अनेरास्ववियकाु आन्दोलनमा सहभागिता जनाइन्। २०४६/४७ को आन्दोलनमा पद्मकन्याको अगुवाइ गरिन्। २०४७ नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरिन्। ०४८ मा पोखरामा सम्पन्न एकताको ११ औं राष्ट्रिय सम्मेलनमा अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य निर्वाचित हुन सफल भइन्। ०४९ पद्मकन्यामा स्ववियु निर्वाचनमा अनेरास्ववियुतर्फबाट सभापति उम्मेदवार बनिन्। ०५० अनेरास्ववियुको केन्द्रीय कमिटी महिला विभाग प्रमुख हुँदै २०५५ सालसम्म केन्द्रीय सचिवालय सदस्य रहिन्। ०५५ मा अनेरास्ववियुको केन्द्रीय कमिटी सचिव, ०५६ मा अनेमसंघको केन्द्रीय सदस्य, ०५८ मा बुद्धिजीवी परिषद्को केन्द्रीय सदस्यको जिम्मेवारी पूरा गरिन्।
०५९ मा पृथ्वीनारायण क्याम्पसबाट प्राध्यापक पेसा प्रारम्भ गरिन्। उनीसँग १७ वर्षसम्म प्राध्यापक गरेको अनुभव छ। ०६२/०६३ सालमा प्रगतिशील प्राध्यापक संगठनमार्फत सक्रिय सहभागी भइन्। ०६४ मा नेकपा (एमाले) उपत्यका कमिटीको महिला विभाग सचिव चुनिएकी उनी ०६६ मा एमाले सामुदायिक क्याम्पस इलाका कमिटीको उपाध्यक्ष, ०६२ देखि ६६ सम्म पार्टी संघीय मामिला विभाग र त्यसपछि ०७४ पार्टी केन्द्रीय शिक्षा तथा मानव स्रोत विकासको सदस्य बनिन्।
एमाले कास्कीको सहइन्चार्ज उनी एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुन्। त्रिविबाट समाजशास्त्रमा एमफिल उनले आधा दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय गोष्ठीमा नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गरेकी छिन्। जनमुखी नीति, भ्रष्टाचार नियन्त्रण र सुशासन कायमसँगै लैंगिक सहभागिता, विभेदरहित समाज निर्माणमा उनले खेलेको भूमिका निकै महत्त्वपूर्ण छ।