इटहरी उपमहानगरको बजेट पारित

हिमाल प्रेस ३१ असार २०८१ २१:२०
14
SHARES
इटहरी उपमहानगरको बजेट पारित

इटहरी-  इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेट तथा कार्यक्रम पारित भएको छ। नगर सभामा छलफल भएपछि बजेट पारित भएको हो।

असार १० गते नगरसभामा इटहरी ६ का वडाध्यक्ष दिवस पोखरेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट पेस गरेका थिए। नेकपा एमालेले औपचारिक रूपमा विरोध जनाएको उपमहानगरपालिकाको बजेट सोही आकारमा पारित भएको छ।

असार १० गते सोमबार राति प्रस्तुत बजेट नीति तथा कार्यक्रममा ९६ करोड आन्तरिक आय अनुमान गरिएको छ। असार मसान्तसम्म पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्थाअनुसार बहुमत नगरसभा सदस्यको समर्थनमा पास भएको हो।

उपमेयर संगीता चौधरीले असन्तुष्टि देखाउँदै अनुपस्थित भएपछि वडाध्यक्ष पोखरेलले विनियोजन विधेयक र अर्थ विधेयकमा छलफल चलाएका हुन्। यसअघि नेकपा एमालेका सदस्यहरूले बहिष्कार गरे पनि आज बहुमत सदस्यले छलफलमा सहभागिता जनाएका हुन्।

पारित भएको बजेटमा संघीय समानीकरण अनुदान २९ करोड ५६ लाख, संघीय सशर्त अनुदान चालूतर्फ ४९ करोड ४३ लाख र संघीय सशर्त अनुदान पुँजीगत तर्फ ८१ करोड ९३ लाख ११ प्राप्त हुने उल्लेख छ। त्यस्तै संघीय समपूरक अनुदान ४ करोड, संघीय विशेष अनुदान ५ करोड आउने प्रक्षेपण गरिएको हो।

प्रदेश समानीकरण अनुदान १ करोड ९४ लाख, प्रदेश सशर्त अनुदान चालूखर्च तर्फ ३२ लाख ३८ हजार, प्रदेश सशर्त अनुदान पुँजीगत खर्च २ करोड ४४ लाख र प्रदेश समपूरक अनुदान १ करोड ७७ लाख आउने बजेटमा उल्लेख छ।

संघीय राजश्व बाँडफाँट १९ करोड ११ लाख, प्रदेश राजश्व बाँडफाँट (सवारी कर) २ करोड ३३ लाख र प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिष्ट्रेसन) ५६ करोड अनुमान गरिएको हो।

चालू खर्चतर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार अर्थात् कुल बजेटको ३९.५ प्रतिशत खर्च गर्ने उपमहानगरपालिकाको योजना छ। वित्तीय व्यवस्थाअन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात् कुल बजेटको ०.२५ प्रतिशत र पुँजीगततर्फ २ अर्ब १५ करोड ६० लाख (६०.२५ प्रतिशत) खर्च गर्ने बजेटमा उल्लेख छ। जसमध्ये विषयगततर्फ ३० करोड, वडा सीमातर्फ ३८ करोड, नगरस्तरीय योजनाको लागि ८ करोड विनियोजन गरिएको छ।

प्रकाशित: ३१ असार २०८१ २१:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =