बालविकासलाई विद्यालयको अंग बनाऔँ भन्दा कोही मानेनन् : शिक्षाविद् कोइराला

हिमाल प्रेस ३१ असार २०८१ १५:४८
916
SHARES
बालविकासलाई विद्यालयको अंग बनाऔँ भन्दा कोही मानेनन् : शिक्षाविद् कोइराला

काठमाडौँ- शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले बालविकास कक्षालाई विद्यालयको अंग बनाऔँ भनेर धेरै अगाडिदेखि बल गरे पनि राज्यले नसुनेको बताएका छन्।

बालविकास शिक्षकले बालविकासलाई विद्यालयकाे अंग बनाउन माग गरिरहेका बेला काेइरालाले उक्त कुरा बताएका हुन्। उनले बालविकासलाई विद्यालयकाे अंग बनाउन नसक्दा बालविकास शिक्षा र त्यहाँ कार्यरत शिक्षककाे मुद्दा सम्बाेधन हुन नसकेकाे बताए।

‘बालविकास विद्यालयकाे अंग हो कि होइन? बालविकासलाई अंग बनाउने कुरा गरेको भए अर्को सम्भावना थियो। हामीले २०७४ को शिक्षा आयोगको प्रतिवेदनमा यसबारे लेखेका पनि थियौँ। २०७५ मा लेखेनौँ। मैले भनेको पनि थिएँ। म सदस्य हुँदाहुँदै पनि सकिनँ,’ हिमालप्रेससँगको कुराकानीमा शिक्षाविद् कोइरालाले भने,‘अंग बनाइसकेपछि बालविकासमा यति वर्ष काम गरेपछि योग्यता पुग्यो भने प्राथमिकमा बढुवा हुने, प्राथमिकतामा काम गरेपछि माध्यमिकमा जाने। माध्यमिकमा यति समय काम गरेपछि उच्चशिक्षामा जाने। एउटा नीति बनाऔँ भनेको त्यो बनाएनन्। चुकेको ठाउँ त्यहीँ हो।’

बालविकास शिक्षक आधा काम आधा तलबको ढाँचाबाट बनाइएको बताउँदै कोइरालले बालविकास शिक्षकले हाम्रो काम दिनभरीको हो भनेर प्रमाणित नगरेसम्म आन्दोलनबाट उपलब्धि नहुने बताए।

उनको भनाइ छ, ‘त्यसको भाषा नै त्यही हो– तीन घण्टा काम गर्छन्, आधा तलब लिन्छन्। मैले बालविकासका साथीहरूलाई पनि भनेँ, ए साथीहरू हो! यहाँहरूले जेजे आन्दोलन गरे पनि गर्नुस्, यो जहिलेसम्म बदल्नु हुन्न, त्यहिलेसम्म पाउनुहुन्न। हाम्रो काम दिनभरीको हो भनेर प्रमाणित गर्नुस् न त! स्कुलमा गएर पढाउनु भएन नि। बालविकासको नियुक्ति हो नि। त्यति कुरा पनि गर्न सकिएन।’

बालविकास शिक्षकमाथि अन्याय भइरहेको बताउँदै शिक्षाविद् कोइरालाले केटाकेटीसँग खेल्दैखेल्दै सिकाउने बालविकासको राम्रो पक्ष रहेकाले माध्यमिक तहको प्रधानाध्यापकले एक दिन भए पनि बालविकास शिक्षकसँग सिक्नुपर्ने धारणा राखे।

‘मैले त कतिसम्म भनेको छु भने माध्यमिक तहको प्रधानाध्यापक गएर एक दिन बालविकास शिक्षकसँग सिकौँ न त! केटाकेटीसँग खेल्दैखेल्दै सिकाउने बालविकासको राम्रो पक्ष छ। त्यो पक्ष माथिल्लो तहमा पनि सिक्न मिल्छ। सिकौँ न त। त्यो प्रधानाध्यापकले सिक्दैनन्। यसका लागि पेसागत संघसंगठनले पहल गर्नुपर्ने हो नि। उनीहरूले त्यसो गर्न नसक्ने रहेछन्। त्यसो हुँदा बालविकासका शिक्षकलाई पर्ने अन्याय भइरहेको हो,’ उनले भने।

बालविकास शिक्षकको समस्याबारे औंल्याउँदै कोइरालाले उनीहरूको तलब पञ्चायतकालको भन्दा पनि कम भएको बताए। उनले भने,‘बालविकास शिक्षकलाई तलबको समस्या पनि छ। अरूलाई एक ठाउँबाट एकमुस्ट तलब आउँछ। बालविकास शिक्षकलाई आधा एकतिरबाट आधा अर्कोतिरबाट आउँछ। ढाँचा पनि यस्तै बनाइएको हो। पञ्चायतमा बालविकासको शिक्षकलाई पाँच सय रुपैयाँ दिइन्थ्यो। पाँच सय रुपैयाँ गाउँ पञ्चायतले थपिदिने व्यवस्था हुन्थ्यो। त्यही बुद्धि अहिले पनि आयो’

बालविकास शिक्षकलाई तलब नदिने पालिकालाई कारबाही गर्न पनि नसकिएको उनले बताए। उनले भने,‘अहिले मारेको क्रान्तिकारी फड्को। गरेकोचाहिँ पञ्चायतले जे गर्‍यो त्यही गरेको हो। त्यसो हो भने बाध्यात्मक गरौँ भन्दा पनिभएन। कुनै पालिकाले दियो, कुनैले आधा दियो। कुनैले दिँदै दिएन। नदिनेलाई कारबाही गर्नपर्थ्यो नि! सघाउनुपर्थ्यो। सघाउँदा पनि सघाएन। कारबाही पनि गरेन।’

बालविकास शिक्षकले दरबन्दी, सेवासुविधान, समयाेचित तलब माग गर्दै आएका छन्। उनीहरूलाई पालिकाले सात हजार र संघीय सरकारले दश हजार मासिक तलब दिएकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 9 =