लोकतन्त्र रक्षामा देउवा ‘शैली’

भीमकुमार गौतम ३१ असार २०८१ १५:१६
434
SHARES
लोकतन्त्र रक्षामा देउवा ‘शैली’

२०८१ फागुन २९ गते जनमत पार्टीका अध्यक्ष सीके राउतले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौैँ महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ गर्न गोप्य बैठक डाकेको खुलासा गरे।

गत वर्ष भदौ दोस्रो साता श्रीमती सवार गाडी ट्राफिक प्रहरीले रोकेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत सिंहदरबार जलाउने धम्की दिएका थिए। चौतर्फी विरोधपछि मेयर शाहले स्ट्याटस मेटे। प्रधानमन्त्री र गृहमन्त्रीले प्रधानसेनापति, प्रहरी प्रमुख, उपत्यकाका तीनै सीडीओलाई सहभागी गराएको उक्त बैठकमा बालेनलाई जसरी पनि ‘ठोक्नुपर्छ’ भन्ने भाषा प्रयोग भएको राउतको भनाइ थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘मुलुकमा लोकतन्त्र छ, यस्तो बोलिराख्छन्, बोल्दैमा कहाँ आगो लगाइदियो त?

बोल्दैमा के हुन्छ? बोल्न पाउनुपर्छ’ भनेको राउतले खुलासा गरे। कुन दायरा र परिधिसम्म बोल्ने भन्ने व्यक्तिमा पनि भर पर्ला। तर जनताको वाक् स्वतन्त्रताकै लागि लडेर कायम भएको प्रजातान्त्रिक मुलुकमा बोलेकै भरमा बालेनलाई पक्राउ गरौँ भन्ने चरित्र कांग्रेससँग हुने कुरै भएन। सत्ता साझेदार कांग्रेस सभापतिले बालेनलाई पक्राउ गर्नु हुँदैन भनेपछि दाहाल-श्रेष्ठ पछाडि हटे। यसले लोकतान्त्रिक र वामपन्थी शक्तिको विचारमा कति फरक हुँदो रहेछ भन्ने प्रस्ट पार्‍यो।

शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदै थिए। एक नेताले अर्को नेतालाई विभिन्न आरोपप्रत्यारोप लगाए। सभापति देउवामाथि कसैले तुस पोखेनन्। नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले त दाहाललाई देउवासँग सम्बन्ध नबिगार्न सुझाव दिए। चौधरीले भने, ‘तपाईँले मान्छे चिन्नुभएकै रहेनछ। अब त चिन्नुभयो होला नि! हामी त तपाईँकै साथमा छौँ, रहन्छौँ। तपाईँले पटकपटक हामीलाई छाड्नुभएर यो परिस्थितिको सामना गर्नुपरेको छ। अहिले पनि कांग्रेस सभापतिलाई दोषी नदेख्नुहोला। उहाँसँगको सम्बन्ध सन्तुलनमा राख्नुहोला।’ चौधरीले घुमाउरो ढंगबाट व्यक्ति नचिनेरै प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेको र नेकपा एमाले अध्यक्ष ओलीसँग मिल्न पुग्दा अहिलेको अवस्था व्यहोर्नुपरेको बताएका थिए।

प्रधानमन्त्री दाहालले स्वयं पनि शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष ओलीले नयाँ समीकरणका बारेमा झुट बोेलेको आरोप लगाए। असार १७ गते मध्यरातमा सहमति गरे पनि १८ गते बिहान आफूसँग संवाद हुँदा सहमति होइन भनेर ओलीले झुट बोलेको उनको भनाइ थियो। दाहालले भनेका छन्, ‘१७ गते राति सहमति भइसकेपछि १८ गते बिहान एमाले अध्यक्षले केही भएको छैन भन्नुभयो। मैले पत्रिका देखाएर यी तपाईँ र शेरबहादुरजीले हस्ताक्षर गरेको भनेँ तर उहाँले यो कहिलेको फोटो रहेछ भन्नुभयो। ढाँटछलको पनि एउटा सीमा हुन्छ नि! त्यसपछि मैले देउवाजीसँग बुझ्दा उहाँले म ढाँट्न जान्दिनँ, सहमति भइसक्यो, सरी भन्नुभयो।’ दाहालकै अभिव्यक्तिले देउवासँग सत्ता सहकार्य टुटाएको ठूलो पछुतो भइरहेको प्रस्ट हुन्छ। देउवा प्रस्ट वक्ता हुनुका साथै ढुलमुले प्रवृत्तिको नभएको अन्य दलका नेताहरूको अभिव्यक्तिले देखाउँछ।

यी त पछिल्ला केही उदाहरण हुन्। देउवाको जीवनमा यस्ता नैतिकता र इमानदारीका थुप्रै उदाहरण छन्। उनले कहिले पनि झुटो बोलेर वा झुक्याएर राजनीति गर्न जानेका छैनन्। विश्वास गरिसकेपछि त्यसको जगमा टेकेर भरोसापूर्ण राजनीति गर्नु नै देउवाको गुण हो। उनी कसैले विरोध गर्दा वा कुरा काट्दा कहिले पनि प्रतिशोध साँध्दैनन्। प्रतिकारमा उत्रिँदैनन्। लोकतन्त्रमा विरोध हुन्छ, पक्षविपक्षमा बहस र पैरवी गर्ने अधिकार सबैलाई छ भन्नेमा उनी दृढ देखिन्छन्। पार्टीभित्र पनि उनी आफ्नो विरोध गर्नेहरूलाई सक्काउनुपर्छ भन्ने बाटोमा कहिले अग्रसर भएनन्। बरु नेताहरूको व्यवस्थापन र भूमिका सम्बोधनमा प्रशंसनीय भूमिका खेले। जसको उदाहरण पार्टीभित्र आफ्नो प्रतिस्पर्धीका रूपमा रहेका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन भूमिका खेल्नु, पार्टीभित्र कुनै बेला तेस्रो शक्तिका रूपमा देखिएका कृष्णप्रसाद सिटौलालाई उपयुक्त जिम्मेवारी दिने प्रयासमा रहनु, १४औँ महाधिवेशनमा आफैँविरुद्ध सभापतिमा लडेका प्रकाशमान सिंहप्रति सधैँ उदार रहनु उनका कुशल प्रजातान्त्रिक गुण हुन्।

देउवाको सबैभन्दा राम्रो बानी भनेको बोलेर अस्थिरता सिर्जना गर्नु हुँदैन, कूटनीतिक र आन्तरिक रूपमा नबोलेरै समस्या समाधान गर्नुपर्छ भन्ने हो। उनी अब्बल कूटनीति भएको नेताका रूपमा चिनिन्छन्। मलाई स्मरण भइरहेको छ, सशस्त्र द्वन्द्वका समयमा देउवा सवार गाडी लक्षित गरेर कैलालीमा माओवादीले गोली प्रहार गरेको थियो। भाग्यले उनी बाँचेका थिए। त्यो तत्कालीन राजनीतिक घटना थियो। देउवाले सोही रूपमा बुझे र भुलिदिए।

कांग्रेसकै सक्रियतामा शान्तिप्रक्रियामा आएको माओवादीसँग राजनीतिक स्थायित्वका लागि पटकपटक सहकार्य गरे। तर आओवादीले त्यो सदासयतालाई कमजोरीका रूपमा लियो। सधैँ अस्थिरता सिर्जना गरेर मुलुकको ठूलो दललाई प्रयोग गर्दै स्वार्थको रोटी सेक्ने काम गरिरह्यो। जे पनि अत्ति गर्दा खती हुन्छ। माओवादीले गरिरहेको व्यवहार सधैँ कांग्रेसका लागि स्वीकार्य हुने कुरै थिएन। कांग्रेसका लागि कुनै एक दलभन्दा ठूलो मुलुक हो। मुलुकलाई भुंग्रोमा राखेर दाहालको रोटी सेकिरहनु उपयुक्त नठानेपछि स्थायित्वको खोजीमा रहेको कांग्रेस एमालेसँग सत्ता सहकार्य गर्न पुगेको हो। यसले जनतामा आशा जगाएको छ।

कुनै एक दलसँग बहुमत हुँदा ‘गठन र विघटन’ को सिकार बनेको सरकारलाई स्थायित्व दिन दुई ठूला दल एक ठाउँमा आएपछि जनता खुसी भएका छन्। ‘संविधान संशोधन र राजनीतिक सुधार’ को एजेन्डा बटमलाइन बनाएकै कारण जनतामा सकारात्मक आशा सञ्चार भएको छ। कांग्रेस-एमाले यस आशामाथिको परीक्षामा सफल हुनैपर्छ। सरकार निर्माणकै लागि संसद्को पहिलो र दोस्रो दल मिलेको भाष्य निर्माणको प्रयास भइरहेको बेला त्यसलाई चिर्दै संविधान संशोधन, राजनीतिक स्थिरता, समृद्धिजस्ता विषयमा ठोस निष्कर्षमा पुग्नुपर्छ। देउवाजस्तो वचनको पक्का सहयात्री पाएको अवस्थामा एमालेले कांग्रेसलाई चिड्याउने काम गर्नु हुँदैन। मिलेर दुवै दलले समृद्ध नेपाल निर्माणको खाका कोर्दै जनताका अभीष्ट पूरा गर्नुपर्छ। कांग्रेस-एमालेलाई अग्निपरीक्षामा पास हुनुको विकल्प छैन। यी दुई दल फेल भएमा देश थप अराजकतामा फस्नेछ। देउवाको एकल लोकतान्त्रिक चरित्रले मात्र त्यसलाई निकास दिन सक्ने छैन।

यसरी कम बोल्ने, आफूमाथि लगाएको गुन तिर्ने, राष्ट्र र जनतालाई केन्द्र भागमा राख्ने देउवा गुण लोकतन्त्रका लागि अनुकरणीय चरित्र हो। पुराना दल हुन् वा नयाँ शक्तिका नाममा उदाएका दलका नेताहरूका लागि नेतृत्वसामु मुखमा कालोपट्टी बाँधेर बस्नुपर्ने परिस्थिति सुखद होइन। तर कांग्रेस इतिहासमा यस्तो देखिँदैन। पाँच पटकसम्म प्रधानमन्त्री भइसकेका देउवाको नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान छ।

पार्टी र गठबन्धन व्यवस्थापनमा काबिल देउवा ‘कूटनीतिकभन्दा बढी स्पष्ट वक्ता’ छन्। देउवाले २०२२ सालदेखि विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका हुन्। उनले पञ्चायतविरोधी राजनीतिका क्रममा पटक-पटक करिब नौ वर्ष जेल जीवन बिताए। ५९ वर्षे सक्रिय राजनीतिक जीवनमा उनी कहिले कलंकित बनेनन्। सामान्य परिवारमा जन्मिएका व्यक्ति मुलुकको सर्वोच्च पदमा पुग्दा पनि कुनै विवादमा नमुछिनु नै लोकतन्त्रका लागि सुन्दर पक्ष हो। त्यस्तो व्यक्तित्वसँगको कांग्रेस-एमाले नयाँ समीकरणले नवीन उचाइ कायम गर्न सकोस्। शुभकामना।

(गौतम नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन्।)

प्रकाशित: ३१ असार २०८१ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =