केपी ओली प्रधानमन्त्री पदमा नियुक्त

हिमाल प्रेस ३० असार २०८१ १७:३८
120
SHARES
केपी ओली प्रधानमन्त्री पदमा नियुक्त केपी शर्मा ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले संसद्‌मा विश्वासको मत नपाएसँगै उक्त सरकार ढलेको थियो। त्यसलगत्तै शुक्रबार साँझ राष्ट्रपति पौडेलले सरकार गठनका लागि आज साँझ पाँच बजेसम्मको समय दिएर आह्वान गरेका थिए। ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए।

ओलीले कांग्रेस-एमालेका सांसदको समर्थनमा दाबी पेस गरेका थिए। अहिले यो गठबन्धनमा जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी पनि जोडिएका छन्।

संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ।

कांग्रेस र एमालेको समर्थनमा बहुमत जुटाएको दाबीसहित राष्ट्रपतिसमक्ष दाबी पेस गरेसँगै आवश्यक अध्ययन गरेर राष्ट्रपतिले नियुक्तिको निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

यसैबीच नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको नियुक्ति अघि नै सांसदहरूलाई प्रधानमन्त्रीको शपथमा सहभागी हुन निम्तोसमेत दिइसकेको थियो।

प्रकाशित: ३० असार २०८१ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =