चौथोपटक प्रधानमन्त्री हुँदै ओली, मन्त्रिपरिषद् गठन गृहकार्यमा कांग्रेस र एमाले

हिमाल प्रेस २९ असार २०८१ १७:०४
68
SHARES
चौथोपटक प्रधानमन्त्री हुँदै ओली, मन्त्रिपरिषद् गठन गृहकार्यमा कांग्रेस र एमाले केपी ओली

काठमाडौँ- प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार नयाँ प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्ने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो।

नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्।

राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरिसकेका छन्।

चौथोपटक प्रधानमन्त्री हुन लागेका अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गर्ने प्रबल सम्भावना रहेको दुवै दलका दोस्रो तहका केही नेताहरूले बताएका छन्।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्रै पद तथा गोपनीयताको शपथ लिने तयारी भएको जानकारी दिए। पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन्।‍

यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीनपटक प्रधानमन्त्री भइसकेका छन्।

प्रकाशित: २९ असार २०८१ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =