धनुषामा ४५ प्रतिशत बढी धान रोपाइँ

हिमाल प्रेस २९ असार २०८१ १४:४८
8
SHARES
धनुषामा ४५ प्रतिशत बढी धान रोपाइँ फाइल तस्बिर।

जनकपुरधाम- धनुषामा आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ। यसवर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ।

विगतमा ४८ हजार सात सय ६० हेक्टर जमिनमा धानखेती हुँदै आएका जिल्लामा हाल ४२ हजार हेक्टरमा मात्र धानखेती हुने गरेको कृषिज्ञान केन्द्र धनुषाले जनाएको छ।

वागतवानी अधिकृत प्रदीप यादवले हालसम्ममा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जानकारी दिए। उनले भने,‘पानीका अभावमा किसानले ढिलो गरी ब्याड राखेकोले रोपाइँ गर्न पनि केही ढिलो भएको हो।’

अधिकृत यादवका अनुसार जिल्लामा नहरलगायत विभिन्न माध्यमबाट ३५ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ। यसैगरी अझै जिल्लाका ६५ प्रतिशत खेतमा आकाशे पानीको भरमा धानखेती हुँदै आएको बताइएको छ।

विगतका तुलनामा धानखेती अहिले महँगो भएको छ। ट्याक्टरबाट खेत जोत्नका लागि प्रति घण्टा दुई हजार पाँच सय लिने गरेको छ भने पानीको अभाव पूरा गर्नका लागि ट्याङ्करबाट खेतमा पानी हाल्न प्रतिघण्टाको पाँच सय तथा प्रतिकामदार चार सय र १० किलो धान दिनुपर्ने गरेको छ।

यसमा रासायनिक मलको थप मूल्य तिर्नुपर्ने हुन्छ। धानखेती महँगो भए पनि लागतअनुसार धान उत्पादनको बजार मूल्य नपाएको किसानको गुनासो छ।

गत आव २०८०/८१ मा जिल्लामा ४२ हजार हेक्टर जमिनमा गरिएको धानखेतीमा एक लाख १७ हजार छ सय मेट्रिकटन धान उत्पादन भएको सो केन्द्रद्वारा जारी तथ्याङ्कमा उल्लेख छ। अघिल्लो वर्षका तुलनामा २८ हजार छ सय ८० मेटिकट्रन कम धान उत्पादन भएको बताइएको छ।

प्रकाशित: २९ असार २०८१ १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =