नियात्रा

बल्थलीको सौन्दर्य र लड्केश्वर महादेवको त्रिशूल

राजाराम बर्तौला २९ असार २०८१ १८:५३
252
SHARES
बल्थलीको सौन्दर्य र लड्केश्वर महादेवको त्रिशूल लड्केश्वर महादेव मन्दिरमा स्थापना गरिएको त्रिशूल। यसलाई संसारको सबैभन्दा ठूलो त्रिशूल भनेर दाबी गरिएको छ। तस्बिरहरू : राजाराम बर्तौला

बल्थली काठमाडौँ उपत्यकाबाट नजिकै रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ हो। अति नै मनमोहक र सुन्दर ठाउँ यो ठाउँलाई प्रकृतिले मात्र नभएर यहाँका बासिन्दाको कठिन मेहनतले पनि सजाएका छन्। परिश्रमी किसानले यो ठाउँको महत्त्वलाई अझै बढाउने काम गरेका छन्। यहाँका किसान वर्षको ३६५ दिनमा कुनै दिन पनि खाली हात बस्दैनन्। बाहै्रमास खेती किसानीमा व्यस्त हुनु उनीहरुको दिनचर्या हो। हिउँदयाममा तरकारीले सजिने यहाँका किसानले यति बेला असारे मासको भेल छोपेर रोपाइँ सकेका छन्। खेत गह्रा धानका हरिया गाँजले सुसज्जित हुन थालेका छन्। तरेली परेका खेतका गह्रामा कुलोबाट झरेको पानीको कलकल आवाज मनमोहक सुनिन्छ।

बर्खा लागिसेकपछि बल्थलीको पदयात्रा एउटा फरक किसिमको रोमाञ्चकताले भरिएको हुन्छ। प्रकृतिको समिप त पुगिन्छ नै कृषिजीवनको आधारभूत जीवनशैलीलाई नजिकबाट हेरेर आनन्दित हुने अवसर पनि प्राप्त हुन्छ यहाँको पदयात्रामा। ग्रामीण जीवनसँग साक्षात्कार हुन पाइन्छ। नेपाली जनजीवनको कठिनतम पक्ष भनेको पहाडी जीवनशैली हो। पहाडी जीवनमा यातायातको सञ्जालमा झोलुंगे पुलको महत्त्व पनि प्रत्यक्ष अनुभव गर्न पाइन्छ।

एउटै पदयात्रामा यतिधेरै पक्षको ज्ञानपयोगी सूचना, अनुभव र प्रकृतिसँगको सान्निध्यता पाउनु यो ठाउँको विशेषता हो। यिनै विशेषतालाई मनन गरेर २०८१ साल असार दोस्रो साता, बल्थलीको पदयात्रामा जाने निधो गरिएको थियो। पदयात्राको संयोजन, तथा सञ्चालन हाईक फर नेपालले गरेको थियो। दुई बसभरि हामी उत्साही पदयात्रीहरु बिहान सात बजे काठमाडौँको भृकुटीमण्डपबाट त्यसतर्फ प्रस्थान गर्‍यौँ।

भृकुटीमण्डपबाट बस गुडेको केहीबेरपछि हाम्रा पथप्रदर्शक भीमसेन शर्माजीले आफ्नो झोला भृकुटीमण्डप गेटमै छोडेर आएको सम्झेछन् र बसलाई पुनः घुमाएर ल्याउनुपरेको थियो। बेवारिसे झोला अरू कसैको कब्जामा परेको रहेनछ। ऊ आफ्नो मालिक फर्केर आउनेमा ढुक्क रहेछ। झोला त रूखको फेदीमा अडेस लगाएर बसेको रहेछ। यो झोला अरू कसैले लिएर गएको भए यसभित्रको केही थान वाकिटकी हराउने थियो। अनि पदयात्रामा व्यवधान आउन सक्थ्यो। पदयात्रामा सबै पदयात्रीको हिँडाइको गति समान हुँदैन। कोही अगाडि र कोही पछाडि हुँदा कहाँ कसको के अवस्था छ र कहाँ कसरी भेट्ने, कस्ता बाटो आउँछन्, कुन बाटो हिँड्ने भन्ने यावत् सूचना सञ्चारका लागि वाकिटकी चाहिन्छ।

पदयात्रामा लिएर जानेले समूहलाई एकजनाले अगाडि पदमार्ग देखाउने अगुवाको जिम्मा लियो भने अर्को एकजना पछाडि बसेर सबैलाई संगालेर हिँडाउने व्यवस्था गरेका हुँदा रहेछन् भन्ने कुरा त यही वाकिटकीको व्यवस्थाले भनि नै हाल्यो। अतः यस किसिमको व्यवस्थाले संगठित पदयात्रामा हिँड्दा पदयात्री हराउने सम्भावना न्यून रहन्छ।

भीमसेनजीको झोला भेटेपछि हामी बाटो आफ्नो लाग्यौँ। गन्तव्य थियो काभ्रे जिल्लाको बल्थली। बसको यात्रा भने खोपासीसम्म मात्र। खोपासीबाट हिँडेर बल्थली पुग्नुपर्छ। बल्थलीलाई जताबाट परिक्रमा गर्दा पनि हुन्छ। यता खोपासीबाट जाँदा पनि भयो भने उता नमोबुद्धबाट आउँदा पनि हुन्छ। हाम्रो बस खोपासी गएर रोकियो। हामी आआफ्ना झोला भिरेर पदयात्राका लागि निस्कियौँ।

खोपासी ऐतिहासिक बजार हो। खोपासी, पनौती र भक्तपुरका कथा, वीरगाथा, सांस्कृतिक समानताको किस्सा प्रशस्त छन्। ऐतिहासिक विरासत दस्ताबेजमा अझै पनि सुरक्षित छन्। यहाँको बजार क्षेत्रको सडकलाई क्षतविक्षत गरिएको रहेछ। एकातिर यसको पुनर्निर्माण र स्तरीकरण हुँदैछ भने अर्कोतर्फ झरीले भिजाएको खोपासीबासीलाई यो सडकको अवस्थाले पनि भिजाएको देखिन्थ्यो। हामीले पनि ‘ब्रेकडान्स’ गर्दै यहाँको सडक पार लगायौँ।

केही समयको हिँडाइपछि रोशी खोला तर्दै र उकालो चढ्दै बल्थलीको गाउँमा प्रवेश गर्‍यौँ। अनि सीधै उत्तरपश्चिमको पाखो ढिकाली डाँडातर्फ लाग्यौँ। डाँडातर्फ लाग्दै गर्दा पर्यटन विभागले सालकको संरक्षण गरौँ भनेर एउटा सूचनापाटी राखेको रहेछ। सालकको संरक्षण किन र यसको उल्लंघन गर्दा हुने कानुनी सजायको विषयमा समेत उल्लेख गरिएको थियो।

बल्थली भ्रमण गर्दा यस विषयलाई मनन गर्न आवश्यक देखियो। किनभने विश्वले नै दुर्लभ र संकटापन्न मानिएको जनावर सालक यहाँ पाइने रहेछ। सालकको बाहिरी भाग खपटाले ढाकेको हुन्छ र यसले आफ्नो आहारा जमिन खोतलेर खोज्छ। यो जमिनमा दुलो पारेर बस्छ पनि। यस्तो हुँदा सालकको सिकारीलाई यसको बासस्थान सजिलै पत्ता लाग्छ। संसारमा पाइने आठ प्रकारका सालकमध्ये नेपालमा दुई प्रकारका– कालो र तामे सालक मात्र पाइन्छन्।

गाउँबाट जंगल लागेपछि कतै सालक देखिन्छ कि भनेर हेर्‍यौँ तर फेला परेन। बरु जंगल खोंचको बीचबाट मृग कराएको सुन्न पाइयो। जंगलमा कराएको सुन्न पाइयो; एकपटक मात्र होइन पटकपटक। चरारूको चिरबिर, झ्याँउकिरीको झ्याउँझ्याउँ त सुनिएकै थियो मृगको आवाजसमेत सुन्न पाउँदा पदयात्राको रोमाञ्चकता बढ्न गएको अनुभूत गरियो।

यो डाँडाबाट खोंचतर्फ ओर्लँदै गर्दा तल सानो नदी र त्यसमाथि बनेको लामो झोलुंगे पुल भेटियो। यो नदी पहाडबाट निस्केर उत्तरतर्फ बग्दै गरेकी रहिछन्। उत्तरतर्फ बगेकी नदीलाई उत्तरगंगा भन्ने गरिन्छ र पवित्र मानिन्छ। काठमाडौँ उपत्यकाको दक्षिणमा अवस्थित पहाडको उत्तरी पाखोबाट निस्कने यस्ता नदी अरू पनि छन्। यसले स्थानीयताको महत्त्वलाई धार्मिक रूपमा समेत बढाएको हुन्छ। यो नदी रोशीमा गएर मिसिने भएकोले रोशीको पनि धार्मिक महत्त्व छ।

ढिकालीको डाँडाको उत्तरी पाटोमा करिब १५०० मिटरको उचाइमा बसेको छ बल्थली। मिलेर बसेको ठिक्कको भिरालो ठाउँमा उब्जाउयोग्य जमिन पनि भएको हुँदा यहाँको बस्ती रमणीय छ। सुन्तलाखेती यहाँको अर्को विशेषता हो। अहिले हरित प्रकतिको मनोरम दृश्यले आकर्षित हुँदा कात्तिकमंसिरमा जाँदा यहाँको वातावरणीय प्रभाव अर्कै सुनौला देखिन्छ।

झोलुंगे पुल तरेर उकालो लाग्दै बल्थलीको दक्षिणी भेग हुँदै पुनः ओरालो लागेर रोशीको फेदीमा पुग्दा लड्केश्वर महादेवको दर्शन गर्न पुगियो। यहाँ २०८० सालमा कोटी होम महायज्ञ लगाइएको रहेछ। लड्केश्वर महादेवको मन्दिर र अतिथि गृह निर्माण भइरहेको रहेछ। सबै निर्माण कार्य श्रद्धालुबाट चन्दा या दानमा प्राप्त रकमबाट गरिएको रहेछ।

यहाँसम्म कच्ची सडक हुँदै सवारीसाधनमा पनि जान सकिन्छ। महादेवको मन्दिरमा स्थापना गरिएको त्रिशूल संसारको सबैभन्दा ठूलो हो भनेर दाबी गरिएको रहेछ। बन्दै रहेको मन्दिरको नजिक पहरामा एउटा गुफा छ। खासमा लड्केश्वर महादेवको प्राचीनकालदेखि पूजा हुँदै आएको रहेछ। यहाँको महादेवलाई लड्केश्वर कालअग्नि रुद्र भनेर भनिन्छ। यहाँ १०८ धारा पनि निर्माण गरिएको छ। धारानजिकै अर्को गुफा छ जहाँबाट छिरेर निस्कन सकिन्छ। यहाँ पनि अन्यत्रजस्तै धार्मिक छ छैन भनेर मानिसहरू परीक्षणका रुपमा प्रवेश गरेर हेर्ने गर्दछन्।

संयोगले महादेवको दर्शन गर्न गएको दिन असारको १५ गते परेको रहेछ र नेपालीको सांस्कृतिक महत्त्वको दिन पनि। असार १५ लाई दहीचिउरा खाने दिन भनेर भनिन्छ। मन्दिरमा पुग्दा चितवनबाट आएका एक हुल श्रद्धालु मन्दिर आसपासका क्षेत्रमा वृक्षरोपण गर्दै थिए भने अर्को हुल पुष्परोपण गर्दै थिए। कुनै धर्मात्मा भने आगन्तुक यात्रीहरू सबैलाई दहीचिउरा खान दिएर श्रद्धा, भक्ति व्यक्त गर्दै सांस्कृकृतिक पर्व मनाउँदै थिए। हामीसँग गएका अधिकांश साथीहरूले दहीचिउराको भरपुर आनन्द लिए। मन्दिरमा पुग्दा हिँडाइको थकाइ, घामको पोलाइ, भोक र तिर्खाको आलसतालस अवस्थामा दहीचिउरा भेटेपछि पदयात्रीहरू महादेवले जुराएको प्रसाद भन्दै भावोत्तेजक भएका थिए।

महादेवको दर्शनपछि उकालो लाग्दै पुन बल्थली गाउँ प्रवेश गर्‍यौँ। यसपटक पश्चिमपट्टिबाट नभएर पूर्वपट्टिबाट। खेतका आलीआली टेक्दै धानका गाँज हेर्दै हिँड्यौं। यहाँका घर एकनासले पूर्वाभिमुख गरेर लहरै बारीको अन्तिम बिन्दु डिलको छेवैमा बनाइएका छन्। यसबाट धानखेत देखिने मात्र होइन कि बिहानको सूर्यको प्रकाश पनि छेकिँदैन।

पश्चिम किनार पुगेपछि हामी केही उकालो लागेर रिजोर्टहरु भएको ठाउँतिर गयौँ। हिँड्दै जाँदा चेसिङखर्क पुगियो। चेसिङखर्क अर्को रमणीयस्थल। यहाँको धानका गह्राहरु यत्ति आकर्षक छन् कि यी भकारी जसरी बनाइएका छन्। गैरीखेत देखिन्छ घरैबाट। बीचमा खेत र त्यसको किनारमा सुन्तलाखेती छन्। पश्चिम भित्तामा बस्ती छ। बस्ती सुन्दर रमणीय देखिन्छ।

हामी यो बस्तीको एउटा किनाराबाट पुनः ठाडो उकालो उक्लियौँ करिब दुई सय मिटर। दिनभरको हिँडाइले थाकिसकेका थियौँ। अब त उकालो नहिँडाए पनि हुने भन्ने मनस्थितिमा पुगेका थियौँ। उकालो काट्नेबित्तिकै माथि भन्ज्याङमा पुगियो। यो यहाँको पुरानो गाउँ हो- डाँडागाउँ। बस हाम्रो प्रतीक्षामा थियो। बस देख्दा हाम्रा आँखा खुसीले प्रफुल्लित भए। भन्जयाङको चियाको स्वाद लिएर हामी चेसिङखर्क हुँदै पुनः खोपासी आएर घर फर्कियौँ।

  


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twenty =