एक दशकपछि सत्ताबाहिर पुग्यो माओवादी

हिमाल प्रेस २८ असार २०८१ १७:२६
140
SHARES
एक दशकपछि सत्ताबाहिर पुग्यो माओवादी २०७९ पुस ११ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथ लिँदै पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर

काठमाडौँ– नेकपा माओवादी केन्द्र झन्डै एक दशकपछि सरकारबाहिर बस्ने भएको छ। २०७२ असोजमा संविधान जारी भएपछि माओवादी निरन्तर सरकारमा रहँदै आएको थियो। माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका हुन्।

संविधान जारी हुनुअगाडि माओवादी प्रमुख प्रतिपक्षमा थियो। सत्तामा कांग्रेस र एमाले थिए। संविधान जारी भएपछि २०७२ असोज २५ मा एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री स्वीकारेर माओवादी सरकारमा सहभागी भएपछि निरन्तर सत्तामा रहँदै आएको थियो।

माओवादी केन्द्रका सचिव गणेश शाह झण्डै एक दशकपछि आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताउँछन्। उनले भने, ‘कांग्रेस र एमाले पहिलो र दोस्रो दल हुँदै आएका छन्। माओवादी तेस्रो दल भइरहेको छ। दुवै दलले तेस्रो दलको साथ खोज्दा माओवादी सरकारमा रहँदै आएको थियो।’

नेकपाकालीन अवस्थाको ५ पुस २०७७ देखि २८ असार २०७८ सम्म माओवादीका कुनै नेता सरकारमा सहभागी थिएनन्। यद्यपि माओवादी त्यतिबेला प्रतिपक्षी भूमिकामा थिएन। त्यति बेला माओवादीले प्रमुख प्रतिपक्षी कांग्रेससँग मिलेर सत्तामा फर्कन केपी शर्मा ओलीविरुद्ध संघर्ष गरेको थियो।

एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेपाली कांग्रेससँग गठबन्धन गरेको छ। दुई दलबीच भएको सहमतिअनुसार अब एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्।

२०७९ सालमा भएको निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए। दुई दलबीच पालोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि निर्वाचनपछि सहमति भाँडिएको थियो। त्यसपछि माओवादी, एमाले, रास्वपा र राप्रपाबीच गठबन्धन भएको थियो। गठबन्धनको बलमा माओवादी अध्यक्ष प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत गुमाएपछि उनको प्रधानमन्त्री पद पनि गुमेको छ।

विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकाल १८ महिनामा सकिएको हो। प्रचण्ड २०७९ पुस १० तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्डको दोस्रो कार्यकाल १० महिना बितेको थियो। उनी दोस्रोपटक २०७३ साउन १९ गतेदेखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री भएका थिए। पहिलोपटक प्रचण्ड २०६५ साउन ३१ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। १० महिनापछि उनी २०६६ जेठ ११ गते पदमुक्त भएका थिए।

पाँचौँपटकमा ‘फेल’ भए प्रचण्ड

प्रकाशित: २८ असार २०८१ १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =