पाँचौँपटकमा ‘फेल’ भए प्रचण्ड

हिमाल प्रेस २८ असार २०८१ १७:१६
216
SHARES
पाँचौँपटकमा ‘फेल’ भए प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचौँपटक विश्वासको मत पाउन विफल भएका छन्। उनले शुक्रबार प्रतिनिधिसभामा भएको मतदानमा उनले विश्वासको मत नपाएका हुन्। विश्वासको मत नपाएपछि प्रचण्डको प्रधानमन्त्री पद गएको छ।

संविधानअनुसार प्रधानमन्त्रीले आफूमाथि पेस गरेको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुनुपर्छ। संविधानको धारा १०० उपधारा ३ मा विश्वासको मतका लागि पेस गरेको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ।

प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ६३ मत परेको जानकारी संसद् बैठकमा सभामुख देवराज घिमिरेले दिए। यसैगरी प्रचण्डको विपक्षमा १९४ मत परेको छ। विश्वासको मतका लागि भएको मतदानमा २५८ सांसद सहभागी थिए। एक मत तटस्थ भएको सभामुखले जनाए। प्रचण्डका पक्षमा नेकपा माओवादी केन्द्र, रास्वपालगायतका दलले मतदान गरेका थिए।  नेपाली कांग्रेस, एमाले, राप्रपा, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र जनमत पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएनन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक हुन्छ। प्रचण्डले ६३ मत मात्र पाएका छन्। उनको पक्षमा माओवादी, रास्वपा र नेकपा एकीकृत समाजवादीका सांसदले मात्रै मत हालेका हुन्।

प्रधानमन्त्री नियुक्त भएको डेढ वर्षमा प्रचण्डमा चारपटकसम्म विश्वासको मत पाएका थिए।

प्रचण्डले यसअघि जेठ ७ गते विश्वासको मत लिएका थिए। दुई महिना पनि नपुग्दै उनले शुक्रबार फेरि विश्वासको मत लिएका हुन्। सत्ताको प्रमुख घटक रहेको एमालेले माओवादीसँगको गठबन्धन तोडेर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो। उनले यसअघि कहिले कांग्रेस-एमाले दुवै दलबाट त कहिले कांग्रेस या एमालेबाट विश्वासको मत पाएका थिए। यसपल्ट दुवै दलले प्रचण्डलाई विश्वासको मत दिएनन्।

कहिलेकहिले लिए विश्वासको मत?

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए। त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए। प्रचण्डको पक्षमा एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरूले उनलाई विश्वासको मत दिएका थिए। प्रतिपक्षी कांग्रेसले पनि दाहाललाई विश्वासको मत दिएको थियो। उनको विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले मात्रै विपक्षमा मत हालेका थिए।

२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले दोस्रोपल्ट विश्वासको मत लिएका थिए। त्यतिबेला सदनमा २६२ सांसद उपस्थित थिए। विश्वासको मतको प्रस्तावका पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो। दोस्रोपटक विश्वासको मत लिँदा दाहालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायतले साथ दिएका थिए। दाहालका विपक्षमा ८९ सांसदले हालेका भने नेमकिपाले मत दिन्नँ भनेको थियो।

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक २०८० फागुनमा विश्वासको मत लिएका थिए। कांग्रेससँग गठबन्धन त्यागी एमालेसहित दलसँग नयाँ गठबन्धन बनाएर सरकारको जिम्मेवारीमा रहेकाले कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सोहीकारण प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएका थिए।

त्यतिबेला २६८ सांसदले मतदान गरेकोमा प्रस्तावका पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो। मत दिन्नँ भन्ने एकजना थिए। कांग्रेस, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री दाहालका विपक्षमा उभिएका थिए।

प्रचण्डले जेठ ७ गते चौथोपटक विश्वासको मत लिएका थिए। त्यतिबेला प्रधानमन्त्री प्रचण्डका पक्षमा १५७ मत परेको थियो। मतदानमा १५८ जना सांसद सहभागी थिए। एक मत भने तटस्थमा परेको थियो। प्रधानमन्त्रीका पक्षमा माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमतपार्टीलगायतका दलले मत हालेका थिए भने प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपालगायतका दलले विपक्षमा मतदान गरेका थिए।

प्रतिनिधिसभामा कसको सिट संख्या कति?

नेपाली कांग्रेस : ८८
नेकपा एमाले : ७९
नेकपा माओवादी केन्द्र : ३२
राष्‍ट्रिय स्वतन्त्र पार्टी : २१
राष्‍ट्रिय प्रजातन्त्र पार्टी : १४
नेकपा (एकीकृत समाजवादी) : १०
जनता समाजवादी पार्टी : ७
जनमत पार्टी : ६
जनता समाजवादी पार्टी, नेपाल : ५
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल : ४
नागरिक उन्मुक्ति पार्टी : ४
नेपाल मजदुर किसान पार्टी : १
राष्‍ट्रिय जनमोर्चा : १
आम जनता पार्टी : १
स्वतन्त्र : २

प्रकाशित: २८ असार २०८१ १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =