भ्रष्टाचारको फाइल खोलेको २४ घन्टामै सरकार ढालियो : रवि लामिछाने

हिमाल प्रेस २८ असार २०८१ १५:३६
38
SHARES
भ्रष्टाचारको फाइल खोलेको २४ घन्टामै सरकार ढालियो : रवि लामिछाने रवि लामिछाने

काठमाडौँ- गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेस र एमालेको नयाँ गठबन्धन बन्न भएको सहमतिबारे प्रश्न उठाएका छन्।

आज शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा लामिछानेले यसबारे प्रश्न गरेका हुन्। उनले आफ्नो दल सरकारमा गएर के गर्‍यो भन्नेलाई केही काम गर्न खोज्दैमा दुई ठुला दल रातारात मिल्ने अवस्था आएको उल्लेख गरे। जब अनुसन्धानको सुई कसैको ढोका ढकढक्याउन पुग्यो तब कांग्रेस र एमालेलाई रातारात कसरी संविधानको याद आयो भन्दै उनले प्रश्न गरे।

दुई ठूला दल मिलेर देशमा शान्ति र सुशासन हुने भए ठिकै हुने बताउँदै पहिले नै मिलेको भए आफ्नो दलको जन्मनै नहुने बताए। उनले रास्वपालाई सरकारमा भन्दा प्रतिपक्षमै बस्न रमाइलो हुने उल्लेख गरे। लामिछानेले जनताले प्रतिपक्षमा बस्न मत दिए पनि जनतामा आशा दिनका लागि सरकारमा गएको बताए। प्रधानमन्त्री प्रचण्डसँग देशलाई सुशासन दिन छलफल गरेर चेकलिष्टसहित काम गर्न आएको र ४ महिनामा गरेको काममा आफै सन्तुष्ट नरहेको उल्लेख गरे।

‘भ्रष्टाचारका फाइल खोलेको खोई ? भनेर प्रश्न गरेको गर्यै गर्नुहुन्थ्यो’ उनले भने, ‘फाइल खोलेको २४ घन्टामा सरकार ढाल्नुभयो।’ लामिछानेले भुटानी शरणार्थी काण्डमा बेचन झा पक्राउ परेकोप्रति संकेत गर्दै यस्तो तर्क गरेका हुन्।

संसद्मा दुई महिनामा अवरोध, अदालतमा मुद्दै मुद्दा, विरोधै विरोधका बिच विभिन्न काम गरेको बताए। ‘आधार प्रमाण, मुद्दा, उजुरी केही पनि नभएको केसमा म सडक र सदनमा सहकारी ठग भनेर चिनिएँ,’ उनले भने, ‘प्रमाणै प्रमाण बजारभरि छताछुल्ल भएको केसमा थाहा छैन, अब बन्ने सरकारले कसरी मुद्दा अगाडि बढाउँछ हेर्न बाँकी छ। हामी यहीँ संसदमा बसेर हेरिरहने छौँ।’  उनले आफूलाई दोषी भनिरहेकाहरूको सरकार बन्न लागेको भन्दै आफूलाई दोषी प्रमाणीत गर्न पनि चुनौती दिए।

रमेश लेखक सम्भावित गृहमन्त्री बन्ने सुनेको बताउँदै उनले बाँसबारीको जग्गा ल्याउने स्टन्ट गरेको आरोप लगाए पनि त्यस्तै स्टन्ट गर्न आग्रह गरे। बालमन्दिरको जग्गा फिर्ता ल्याएजस्तै अरू जग्गाहरू फिर्ता ल्याएर स्टन्ट गर्न आग्रह गरे।

प्रकाशित: २८ असार २०८१ १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =