यौटा भा’को मुटु पनि जल्ने हो कि जस्तो लाग्छ।
छातीभित्र हाहाकार चल्ने हो कि जस्तो लाग्छ।
मलम लगाऊँ भने पनि देखिएको घाउ छैन,
कस्तो माया लायौ कुन्नि, नदुखेको ठाउँ छैन।
गीतकार गायत्री लम्सालको शब्द, वरिष्ठ संगीतकार स्व. अम्बर गुरुङको संगीत रहेको यो गीत रेकर्ड हुन बाँकी छ। रेकर्ड हुन बाँकी रहनुको कारण खुलाउन चाहँदैनन् स्रष्टा लम्साल। ‘विविध कारणले रेकर्ड हुन बाँकी छ। आर्थिक कारण पनि हुन सक्छ,’ उनी भन्छन्, ‘घरखर्च चलाउनैपर्यो, छोराछोरी पढाउनैपर्यो। त्यसै कारण पनि हालसम्म रेकर्ड हुन सकेको छैन।’
भोजपुरको दिङ्ला, हालको षडानन्द नगरपालिकामा वडा नं. ६ मा २०२५ साल भदौ २५ गते जन्मिएका खेमराज लम्साल र छायाकुमारी लम्सालका तीन सन्तानमध्ये जेठो गायत्री गीतकारका रूपमा स्थापित भएको धेरै अघि हो। यद्यपि उनको परिचय समाजमा गुमनामजस्तै बनेको छ।
इटहरी निवासी लम्साल सहरको कोलाहल भीडभित्रै निस्सासिरहेका छन्। इटहरीले आफूलाई बढ्दो सहरीकरणका रूपमा विकसित भएको दाबी गरिरहँदा यही सहरभित्र एक स्रष्टा भने गुमनाम छन्। चिन्नेले उनलाई असल गीतकारका रूपमा चिन्छन्, चिन्नेले उनलाई संगठनका एक कुशल राजनीतिज्ञका रूपमा चिन्छन्, चिन्नेले उनलाई समाजको एक अभिभावकका रूपमा पनि चिन्छन्।
गाउँमा जन्मिएका उनको बाल्यकाल गाउँमै बित्यो। गाउँका लोकभाकासँग दौँतरी राखेका उनी लोकभाकामै रुचि राख्थे। पछिल्लो समय आधुनिक गीतको दबदबासँगै उनी आधुनिक गीतका रचयिता बने।
एकादशी बजारैमा, फन्के रोटी थालमा
कसको छोरो, कसको छोरी? पर्यो माया जालमा।
यी गीतहरू रेकर्ड हुनुअघि, यही गीतको भाकामा उनी गाउँघरमा गाउँथे, रमाउँथे। ३० को दशकको समय सम्झँदै उनले भने, ‘बाल्यकालमा गाउँबेसी, मेलापात गरेको अनुभव भएकाले र अनेकौँ चाडपर्व, अनेक जाति, भाषासंस्कृतिको अध्ययन गर्ने अवसर पाएँ, त्यसबारे मलाई चासो पनि थियो।’
उनले गाउँघरमा हुने मारुनी, हुर्रा, संगिनी, खाँडोलगायत पुराना संस्कृतिबारे नजिकबाट नियाल्ने अवसर प्राप्त गरे।
भोजपुरमा त्यसबेला ‘एक घर, एक स्रष्टा/कलाकार’ रहने गरेको उनले स्मरण गरे। ‘कलासाहित्यका क्षेत्रमा भोजपुर उर्वर भूमि थियो। त्यतिबेला घरैपिच्छे कलाकार र कवि थिए। त्यसताका संस्कृतको पठनका कारण ब्राह्मणहरू सबैजसो कवि थिए, अन्य सबैजसो जातिहरू कलाकार थिए। मिलेको समाज थियो, बहुभाषी, बहुजाति, बहुसांस्कृतिक समाज थियो,’ लम्सालले विगत स्मरण गर्दै थपे, ‘भोजपुरलाई चिन्नुपर्दा सांस्कृतिक रूपले अब्बल मानिन्थ्यो। बसाइँ सरेर इटहरी आएपछि यो माहोल पाउन धेरै गाह्रो भयो।’
उनले बाल्यकालमै कलासाहित्य, संस्कृति क्षेत्रमा रमाउन पाएका कारण यही क्षेत्रमार्फत आफ्नो परिचय स्थापित बनाउने लक्ष्य लिएको सुनाए।
भोजपुरको सरस्वती माध्यमिक निमाविमा प्रारम्भिक शिक्षा अध्ययन सुरु गरेका उनले अरुण माविबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गरे। इटहरीको जनता बहुमुखी क्याम्पसबाट आईए उत्तीर्ण गरेका उनले पारिवारिक समस्याका कारण आफ्नो अध्ययनलाई थप अगाडि बढाउन सकेनन्। उनले सिर्जनाको क्षेत्रमा भने कलम चलाउन छाडेनन्, बिर्सिएनन्।
‘म लोकसंस्कृतिको अनुयायी थिएँ, प्रेमी थिएँ। मेरो गीतको आधार नै लोकगीत हो। तर इटहरी झरेपछि भने मेरो फ्लेबरका साथी बनाउनै दस वर्ष लाग्यो,’ लम्साल भन्छन्, ‘यहाँ आइसकेपछि मेरो अनुभव गाउँको घेराभन्दा अलिक फराकिलो भने भयो।’
इटहरी आइसकेपछि गीतकै क्षेत्रमा काम गरिरहेका, भोजपुरका लक्ष्मी अधिकारी, धनकुटाका दिनेश कार्की, यहीँका भरत गोले, प्रवीन कार्की, कमल राईलगायतका मान्छेहरूसँग भेट भएपछि आफ्नो सिर्जनाको क्षेत्रलाई थप अगाडि बढाएको उनी बताउँछन्।
संस्कृति उत्थानका निम्ति आफूले काम गरिरहेको उनी सुनाउँछन्। ‘दिनेश कार्की र तेह्रथुमकी मनु तुम्बाहाम्फेसँग गाएँ। पछि उनीहरू पनि आआफ्ना क्षेत्रमा लागे। मैले आधुनिक गीत लेख्न थालेँ,’ उनले सुनाए, ‘त्यसबेला हामीले लेखेको गीत, गीत होइनरहेछ भन्ने अवस्थामा पुगेँ। मैले जुन गीत गाएँ, त्यो गीतले उठ्न नसक्नेरहेछु भन्ने लागेर आधुनिक गीत सुरु गरेँ। त्यो जमानामा युट्युब थिएन, क्यासेट निकाल्दा चल्न सक्ने अवस्था भएन।’
लम्सालले हालसम्म तीन सयभन्दा बढी आधुनिक गीत लेखेका छन्। तीनवटा गीतको संग्रह प्रकाशित छन्। ‘आकाश हेर्दै दोबाटोमा,’ ‘पानीको रंग,’ ‘हारेँ आफैँ सँग’ नामक तीन सङ्ग्रह प्रकाशित छन्। पचासभन्दा बढी रेकर्ड भएका छन्। उनका गीतहरू राजेश पायल राई, ऋतु खनाल, सुनिता थेगिम, मनु तुम्बाहाम्फे, लीला राई, अन्जु गौतमलगायतले गाएका छन्।
वरिष्ठ संगीतकार तथा राष्ट्रगानका संगीतकारसमेत रहेका स्व. अम्बर गुरुङले संगीत गरेको लम्सालको एउटा गीत रेकर्ड हुन बाँकी छ। अम्बर गुरुङसँगको संगतबारे लम्सालले लामै विवरण सुनाए। ‘पूर्वाञ्चल विकास क्षेत्रमा लोक संगीतमा काम गर्ने उदेश्यले युवा संघको अधिवेशनमा आफैँ संयोजक भएर पूर्वाञ्चलस्तरीय लोकगीत प्रतियोगिता सञ्चालन गरेँ। त्यही मौकामा अम्बर गुरुङलाई नै प्रमुख अतिथि बनाएँ,’ लम्साल भन्छन्, ‘त्यसबेला मैले बा मेरो पनि एउटा गीतको संगीत गर्नुपर्छ भनेँ। उहाँ (अम्बर)ले भन्नुभयो – पाण्डुलिपि लेऊ न। यो ०६९ सालतिरको कुरा हो।’
आफूले गीतको किताब प्रकाशन गर्न लागेको र गुरुङलाई भूमिका लेखिदिन र मिलेसम्म गीतको संगीत गरिदिन आग्रह गर्दा पाण्डुलिपि पढ्ने र मिलेसम्म संगीत गरिदिने वचन दिएको घटना सम्झदाँ हर्षित देखिन्थे, लम्साल। ‘मिल्छ र सक्नुहुन्छ भने दुईवटा गीत, संगीत गरिदिनुहोस् भनेँ। हेरेर मन परेछ भने एउटा चैँ संगीत गरिदिन्छु भन्नुभयो। म पछि काठमाडौँ जाँदा गीतले छोयो, संगीत गरिदिन्छु भन्नुभयो’, उनले सम्झिए।
गुरुङले संगीत सुनाउन काठमाडौँ बोलाएको र त्यसबेला झुमा लिम्बूलाई गीतको प्रस्ताव उनै अम्बरले गरेको लम्सालले सुनाए। ‘झुमा मेरी चेली हो, झुमालाई गीत गाउन दिऔँ भन्नुभयो। झुमा पनि अम्बर गुरुङकै घर आइन्। अम्बर बाले मसँगै संगीत सिकेकी मान्छे भनेर भनेपछि म विश्वस्त भएँ। त्यसबेला गीत गाउँला भन्दाभन्दै पारिवारिक समस्याले म इटहरी आएँ, त्यो गीत त्यतिकै रेकर्ड हुन सकेको छैन।’
अम्बर गुरुङ बितेपछि विविध समस्याले हालसम्म रेकर्ड हुन नसकेको उनले सुनाए। ‘झुमाले एक दिन प्रज्ञा प्रतिष्ठानमा त्यो गीत गाइछन्। हालसम्म पनि रेकर्ड हुन सकेको छैन,’ लम्सालले भावुक भएर भने, ‘खासमा भन्ने हो भने अम्बर बाको संगीतको भाषा बुझ्न सक्ने मान्छे खोज्दाखोज्दै गीत रेकर्ड गराउन आर्थिक अवस्थाले पुगेन। गीत रेकर्डको खर्च दुई लाख बढी हुन्छ। त्यो रकमले छोराछोरी पढाउनुपर्छ। घरखर्च चलाउनुपर्छ। समस्या छ।’
तत्कालीन इटहरी नगरपालिकामा २०५७ पुस २ देखि २०७६ सालसम्म काम गरेका उनले वडा सचिवको जिम्मेवारी पनि निर्वाह गरे। आन्तरिक स्रोतबाट जागिरे रहेका उनी ‘विकासे कर्मचारी’ हुन्। पछि स्थायी जागिरेहरू आएपछि राजीनामा दिएका उनी पार्टीमा सक्रिय छन्।
नेकपा एमाले सुनसरी क्षेत्र नं. २ (क)को निवर्तमान अध्यक्ष रहेका उनी जिल्ला कमिटी सदस्य हुन्। उनले देश, समाज र स्रष्टाका लागि पार्टीबाट पनि अपेक्षाकृत् काम हुन नसक्ने बताउँछन्।
‘मान्छेलाई कलासाहित्य किन चाहिन्छ भन्ने नै थाहा छैन। मान्छेले जीवनमा अनन्त योगदान किन गर्छ? अर्काले, अर्काको जीवनी किन पढ्छ? कुनैबेला समाजमा कसले कति योगदान गर्यो भनेर पढ्ने संस्कृति थियो। अहिले त्यो बन्द भएको छ,’ लम्सालले सुनाए, ‘कुनै बेला कम्युनिस्ट पार्टीमा लाग्दा हरेक मानिसले कविता लेख्थे। अहिले कम्युनिस्ट भनिएकाहरू साहित्य बुझ्नै चाहँदैनन्। बुझिहाले पनि निरन्तरता दिन सक्दैनन्।’
पार्टी संगठनले गीतसंगीतका क्षेत्रमा काम गर्नै नसेकेको र गर्छ भन्ने उनको अपेक्षा पनि छैन। खासगरी एमाले अध्यक्ष केपी शर्मा ओली कला, साहित्य, संगीतप्रेमी छन्। तर उनै नेतृत्वको सरकार रहँदासमेत केही भएको छैन? भन्ने जिज्ञासामा लम्सालले राज्य उदासीन रहेको सुनाए।
‘राज्य स्रष्टाको बौद्धिक सम्पत्तिप्रति उदासीन थियो र आज पनि छ। सिर्जना जन्माउने मान्छे, आमा हो। आमालाई सन्तान जन्माउनजस्तै मिहिनेत हुन्छ, स्रष्टालाई अक्षर जन्माउन। राज्य स्रष्टाको बौद्धिक सम्पत्तिप्रति गम्भीर हुनुपर्छ,’ उनको तर्क छ।
स्रष्टाले रोयल्टी पाउने कानुन निर्माण गरिनुपर्ने उनको भनाइ छ। ‘के राज्यले रोयल्टी दिनका निम्ति कानुन निर्माण गर्नुपर्दैन? मैले तपाईँको खेत जोतेर त्यतिकै खान पाउँछु?’ उनको राज्यप्रति प्रश्न छ, ‘भूमिमा चैँ अधिकार रहने, आफ्नो निजी जीवनमा मेहनेत गरेर लेखिएको सिर्जनाचाहिँ अरूले नै गरेर खान पाउँछ?’
समाजमा हाल सिर्जना पढ्ने र बुझ्ने जमात ज्यादै न्यून रहेकोमा उनको चिन्ता छ। समाजमा साधारण जीवन बाँचिरहेका उनले आफ्नो घरखर्च कटाएर संग्रह प्रकाशित गरेपनि पढ्ने समूह नहुँदा निराशा थपिने बताउँछन्।
‘मैले निजी सम्पत्तिले तीनवटा संग्रह छापेँ। छोराछोरीको गाँस काटेर छापेको हुँ। यसमा राज्यको कुनै योगदान छैन, राज्यबाट आशा पनि छैन,’ उनले राज्यप्रति चरम असन्तुष्ट व्यक्त गरे, ‘राज्य अन्धो भएपछि स्रष्टाको के लाग्छ र?’
आज आफू पार्टीमा रहँदा र भर्खरै निर्वाचित भएर आएका कमिटीमध्ये ज्यादै न्यून संख्यामा मात्रै मानिसहरूले कलम चलाउने गरेको उनको भनाइ छ। उनले भने, ‘यसले के बुझाउँछ भने अबको राजनीतिक पार्टीभित्र बौद्धिक जमात हुन्छ भन्ने मलाई लाग्दैन। धेरै आशा नराखे हुन्छ। साहित्यमा लाग्नेहरू राजनीतिमा लागेको पाउन गाह्रो छ। यो समाजका लागि दुर्दशा हो।’
उनले राजनीतिमा इमान सकिएको सुनाए। अहिलेको राजनीति कस्तो छ भन्ने प्रश्नमा लम्सालले अहिलेको राजनीतिलाई राजनीति भन्न नमिल्ने तर्क गरे। ‘राजनीतिमा लाज, घिन, इमान सकियो। इमान मरेको राजनीतिलाई राजनीति मान्न सकिन्न, यो त केवल संगठन मात्रै हो। स्वार्थ जोडिएको मान्छे भेला भएका मान्छेहरूको जमातको भेला मात्रै हो’, उनले भने।
आधारभूत वर्गका लागि, विभेद अन्त्यका लागि राजनीति गरिने भएपनि त्यसो नभएको र स्वार्थ मिलेका मान्छेहरूको समूह मात्रै राजनीतिमा वर्चस्व रहेको उनी सुनाउँछन्। हृदय भएका राजनीतिज्ञ नहुनु गम्भीर कुरा रहेको उनको भनाइ छ। नागरिकले गरेको योगदान राज्यले बुझ्न नसक्ने र नागरिकले केका लागि योगदान गरिरहेका छन् यी कुरा राज्यले बुझ्नै नचाहेको लम्साल सुनाउँछन्।
‘देशभित्र स्रष्टालाई पनि जोगाएर राख्ने हो भने उनीहरूको बौद्धिक सम्पत्तिको मूल्य जोगाएर राख्नुपर्छ। नभए यो समयको हामी अन्तिम पुस्ता हो। किनभने अब कसैले पनि समाजलाई इतिहास छोडेर जाँदैन,’ उनले भने।
समाज कस्तो छ? उनी भन्छन्, ‘समाज निर्दोष छ, तर गतिहीन छ। समाजको पनि महत्त्वाकांक्षा बढी छ। समाज आफैँमा दिग्भ्रमित छ।’ किताब छापेर बेच्न सक्ने अवस्था नरहेको र संगीतकार केन्द्रीकृत भएर काठमाडौँमा बसेका कारण पनि मोफसलमा गीतकार बाँच्न नसकिरहेको उनी सुनाउँछन्। गीत बुझ्ने संगीतकारले हो र संगीतकारले गायक खोज्ने भए पनि आफू मोफसलमा हुँदा यहाँ त्यो किसिमको अवस्था नरहेको उनी बताउँछन्।
तपाईँले गीत लेखन नै किन रोज्नुभयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘एउटा सचेत नागरिक मरेकै दिन सकिनु हुँदैन। गीत भनेको आम मानिसको हृदयले बुझ्ने भएको हुनाले यही क्षेत्र रोजेँ।’
उनले कविता मस्तिष्कले बुझिने र गीत हृदयले बुझिने सुनाए। ‘मेरो समाजको बौद्धिकताको प्रतिशत कति होला? हृदय भएका मानिस कति होलान्? अचेल यस्तो प्रश्नले आफैँ झस्किन्छु,’ लम्साल भावुकताको गहिराइमा मिसिए।
जीवनको परिभाषा लगाउनुपर्दा जीवनलाई संघर्ष हो भन्छन्, उनी। जीवनले अनेकौँ कुरा भोग्नुपर्ने र एलिट वर्गले जीवनको अनुभूति गर्न नपाउने उनले सुनाए। ‘तिनीहरूलाई जीवन के हो भन्ने अनुभूति हुँदैन। जीवनको सारवस्तुको गहिरो अध्ययन हुनुपर्छ,’ उनले भने, ‘म जिन्दगीको कुन मोडमा छु भन्ने थाहा हुनुपर्छ।’
आँफूले गीत लेख्नु सफलता रहेको उनको भनाइ छ। ‘आर्थिक कुरासँग जोडिएको कुरालाई सफलता मान्ने हो भने राज्यको दृष्टिकोण छैन भन्ने बुझ्नुपर्छ। मैले मेरो रचना समाजसँग पुर्याउँछु भने त्यो मेरो सफलता हो,’ उनले भने।
अहिलेका गीतका शब्द नबुझिने समेत उनी बताउँछन्। अहिले गीत गाउने मान्छेले पनि परिभाषा लगाउन नसक्ने र गीत हिट भए पनि भाषिक समस्या रहेको उनले नियालिरहेका छन्। ‘के भाषाको गीत गाएँ भन्ने थाहा हुँदैन, बुझाउने मान्छेले नै बुझेन भने समस्या हुन्छ,’ उनले भने, ‘गीतका अनेकौँ श्रोता छन्। श्रोता पनि विभाजित छन्। विधागत हिसाबले सबै गीतसंगीतका श्रोता छन्। जो नांगिएर गीत गायो, ऊ आफैँ नांगिएर जान्छ।’
आफूले कुनै बेला विभेद अन्त्यका निम्ति जनवादी गीतसमेत लेखेको सुनाउँदै उनले गीतले समर्पण गर्नुपर्ने सुनाए। ‘प्रायः गीतले विपरीत लिंगीलाई सम्बोधन गर्छ। गीत लेख्नु भनेको प्रेमको प्रस्ताव पनि हो। गीत भनेको बिन्ती नै गर्ने चिज हो। यो नरम हुनुपर्छ,’ लम्साल भन्छन्।