पहिरोमा एक्लै बाँचेर पवनले गुमाए परिवारका सबै सदस्य

विजय नेपाल २८ असार २०८१ १५:३६
282
SHARES
पहिरोमा एक्लै बाँचेर पवनले गुमाए परिवारका सबै सदस्य पवन परियारलाई सान्त्वना दिँदै आफन्त, पहिरोमा परेको उनको घर र पहिरोमा परेर घाइते भएका कुमार परियार। तस्बिर : हिमालप्रेस

पोखरा– एकै परिवारका ६ जनाको ज्यान जाने गरी पोखरा १९, पुरन्चौरको तल्लाकोट टारीका कुलबहादुर परियारको घर बिहीबार पहिरोमा बग्यो। उनका १७ वर्षीय छोरा पवन परियार भने भाग्यवश जोगिएका छन्। जापानमा रहेकी एउटी दिदीबाहेक पवनका आफन्त कोही बाँकी रहेनन्। शोकमा डुबेका पवन राम्ररी बोल्न पनि सक्दैनन्। घरको नामोनिसान नरहने गरी भीषण पहिरोमा उनी बाँचे परिवारका सदस्यहरू कोही नहुँदा उनी ठूलो वज्रपातमा परेका छन्।

अभिभावक र परिवारका सबै सदस्य गुमेपछि उनको आडभरोसा त कोही छैनन्। त्योभन्दा बढी तत्कालका लागि उनका आफन्तको किरिया बस्ने मानिस छैन। व्रतबन्ध नगरेकाले हिन्दु परम्पराअनुसार आफन्तको सहयोगमा पवनलाई किरिया बस्ने चाँजोपाँचो मिलाइँदैछ।

कक्षा १० पढ्दै गरेका पवनको ढाडमा पहिरोले च्याप्दा सामान्य चोट लागेको छ। पहिरोले उनको आधाजसो शरीर पुरेको थियो। दाइ कुमार परियार (काकाका छोरा) लगायतको सहयोगमा राति नै उनलाई सकुशल उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको थियो। पवन शुक्रबार बिहान साढे ५ बजे डिस्चार्ज भएका छन्।

राति १० बजेर २० मिनेटमा गएको पहिरोमा पवनका बाबुआमा, हजुरआमा, बहिनी, दिदी र भिनाजु गरी ६ जना गुमेका हुन्। पहिरोमा उनका बुवा ४६ वर्षीय कुलबहादुर परियार, आमा ४३ वर्षीया मनकुमारी परियार, हजुरआमा ८५ वर्षीया लक्षिमा परियार, १५ वर्षीया बहिनी प्रशना, २० वर्षीया दिदी प्रभा परियार र २५ वर्षीय भिनाजु  अस्मित परियारको एकै चिहान भएको हो।

प्रशना स्थानीय विन्ध्वेशरी मावि कक्षा ७ मा पढ्थिन्। गत वर्ष बिहे गरेर गएकी दिदी प्रभा र भिनाजु अस्मित बिहीबार मात्र माइती/ससुराली आएका थिए। पवनका अर्की दिदी २२ वर्षीया मुना ७ महिनामात्र वैदेशिक रोजगारीका लागि जापान गएकी हुन्।

पहिरोमा पवनले ठूलीआमा ५६ वर्षीया राधिका परियारलाई पनि गुमाएकी छन्। राधिकाको घर उनको घरभन्दा तल थियो। पवनको घरमा पहिरो खस्दा त्यही पहिरो राधिकाको घरसम्म पुग्दा उनी पहिरोमा परेकी हुन्। राधिकाको घरमा  रहेका उनका पति, छोरा, बुहारी, नातिनातिनी भने सकुशल छन्।

त्यही दिन आएका थिए छोरीज्वाइँ

पहिरोमा कुलबहादुरका छोरीज्वाँइ पनि परेका छन्। उनीहरु बिहीबार मात्रै माइती/ससुराली आएका थिए। माहिली छोरी प्रभाको विवाह गत वर्षमात्रै स्याङ्जा अर्जुनचौपारीका अस्मित परियारसँग भएको थियो। उनीहरू गत महिनादेखि पोखराको गणेशटोलमा डेरा गरी बस्दै आएका थिए। प्रभाले पोखरा बगरको एक मन्टेसरीमा भर्खरै पढाउन थालेकी थिइन् भने अस्मितले सानोतिनो काम थालेका थिए।

माइती/ससुराली पुरन्चौरको तल्लाकोट टारीमा कुलबहादुर परियारको घर नजिकै दुई दिनअघि पहिरो गएको थाहा पाएपछि उनीहरू के रहेछ भनी हेर्न बिहीबार मोटरसाइकल चढेर गएका थिए। उनीहरू भाइ पवन र दाइ कुमारसँगै पहिरो गएको स्थान माथिसम्म अवलोकन गर्न गए। पहिरो तर्काउने अवस्था नभएपछि उनीहरूले केही गर्न सकेनन्। फर्किए। राति खाना खाइवरी बसेका थिए।

ढुंगामाटोले बनेको र टिनले छाएको एकतले उक्त घरमा फेरि पनि पहिरो खस्ने डर थियो। छिमेकीले पनि आज राति यहाँ नबस्नु पहिरो जान सक्छ भनी सुझाएका पनि थिए रे। नभन्दै राति एक्कासि पहिरो खस्यो। एकै घरका ६ सहित ७ जनाको ज्यान गयो।

पहिरोमा कुलबहादुरको घर कहाँ थियो भन्ने अड्कलसम्म छैन। नामोनिसान नभएको कुमारले बताए। पहिरोमा कुमारका ठूलो अंकल सुवर्ण परियारको गारो भत्किएको छ भने छिमेकी मानबहादुर लामिछानेको चर्पी भत्किएको छ। लामो समयदेखि बसोबास हुँदै आएको सो स्थानमा करिब २५ घरधुरी छन्। जहाँ दलित समुदायको बाहुल्य छ। मृतकको शव पोस्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको छ। उनीहरुको सेती किनार पुरुन्चौरमै सामूहिक अन्त्येष्टि गरिने पोखरा १९ का वडा सदस्य विकास आचार्यले बताए।

गड्याङ आवाजसहित पहिरो खस्यो : घाइते कुमार परियार

मेरो घर र भाइ पवनको घर जोडिएको छ। मेरो घर पवनको भन्दा तल पर्छ। दुई दिनअघि पनि सानो पहिरो खसेको थियो। त्यो पहिरो घरदेखि करिब २ सय मिटर जति टाढा थियो। घर नजिकै पहिरो खसेको र निरन्तर पानी परेकोले मनमा डर भने सबैमा थियो। हामी सदाझैँ बिहीबार राति पनि खाना खाएर बसेका थियौँ। सुतिसकेका थिएनौँ। अंकलले झ्यालबाट पहिरो खस्छ कि भनी सतर्क हुनुहुन्थ्यो। राति त्यस्तै साढे १० बजेतिर एक्कासि ‘गड्याङ’ आवाज आयो। सुनेपछि म फुत्त बाहिर निस्केँ।

भाइको घर त हेर्दा हेर्दै पहिरोले लग्यो। भाइ पवन ढोकाको आडमा गाडिएको देख्यौँ। पहिरोमा आधा (कम्मरमुनि) सम्म उनलाई गाडेको थियो। अंकल र मैले पहिरो खोतलेर उनको सकुशल उद्धार गर्‍यौँ। उनको ढाडमा सामान्य चोट छ।

भाइलाई बाहिर के निकालेका थियौँ, त्यही बेला फेरि अर्को चरणको पहिरो गयो। तँछाडमछाड गरी भाग्दा मेरो हात बजारियो। अस्पतालमा उपचारपछि हातमा प्लास्टर लगाइएको छ। पहिरोमा पवनको घरका सदस्य ६ जना परेका छन्। उनका हामीबाहेक कोही छैनन्। दिदी मुना जापान गएको धेरै भएको छैन। कस्तो थियो, अहिले कस्तो देख्नुपर्‍यो।

प्रकाशित: २८ असार २०८१ १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 15 =