पहिरोमा बस : एकै परिवारका चारजना बेपत्ता, सरोज भने पौडिएर बाँचे

हिमाल प्रेस २८ असार २०८१ ११:४८
248
SHARES
पहिरोमा बस : एकै परिवारका चारजना बेपत्ता, सरोज भने पौडिएर बाँचे वीरगन्जबाट काठमाडौँका लागि छुटेको प्रदेश ३-०१– ०० ख १५१६ नम्बरको यात्रुवाहक रात्रिबस भरतपुर महानगरपालिका-२९ सिमताल नजिकै पहिरोमा बेपत्ता भएपछि वीरगन्ज बसपार्कस्थित एन्जल डिलक्स प्रालिको काउन्टरमा भेला भएका यात्रुका आफन्त। तस्बिर : रासस

काठमाडौँ- नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएको बसमा एकै परिवारका पाँचजना यात्रा गरिरहेका थिए। पाँचमध्ये एकजनाले भने पौडिएर ज्यान जोगाएको आफन्तले बताएका छन्।  बिहीबार साँझ काठमाडौँबाट रौतहटका लागि  छुटेको ००१ ख २४९५ नम्बरको गणपति डिलक्सको रात्रिबसमा यात्रा गरेकामध्ये सरोज साहले पौडिएर ज्यान जोगाएको उनका दाजु नन्दु साह (गुप्ता) ले जानकारी दिए।

नन्दुले नै उनीहरूलाई बिहीबार साँझ कलंकीबाट बस चढाइदिएका थिए। उनले हिमालप्रेससँग भने, ‘पाँचैजनालाई मैले टिकट काटेर पठाइदिएको थिएँ। काकाकाकी र दिदीभिनाजुको अवस्था अज्ञात छ। भाइचाहिँ पौडिएर बाँचेको छ।’ सरोजको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको नन्दुले बताए।

भाइले राति नै फोन गरेर दुर्घटनाको जानकारी दिएको नन्दुले बताए। उनले भने, ‘आफू बाँचेको छ। गाडीको अवस्थाबारे केही थाहा नभएको बताएको थियो। भाइ त बच्यो, काका, काकी र दिदीभिनाजु बेपत्ता हुनुहुन्छ।’ सरोजको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्। बेपत्ता हुनेमा नन्दुका काका परशुराम साह बनियाँ, काकी मीनादेवी, दिदी रिंकुदेवी र भिनाजु रामनरेश साह बनियाँ छन्।

नन्दुका अनुसार उनका काकाकाकी र दिदीभिनाजु अर्को भाइको त्रिशूली ब्यारेकमा नेपाली सेनामा पोस्टिङको कार्यक्रममा सहभागी हुन नुवाकोट पुगेका थिए। सेनामा जागिरे भएका भाइकै आग्रहमा दिदीभिनाजु र काकाकाकी काठमाडौँ घुम्न आएको नन्दुले बताए। उनले भने, ‘त्रिशूलीमा २६ गते कार्यक्रम थियो। त्यहाँको कार्यक्रम सकेपछि सेनामा जागिर खाएको भाइले बुवाआमालाई काठमाडौँ घुमाएर पठाइदिनू भनेर मलाई अराएको थियो। त्यसपछि पाँचजना यतै आउनुभएको थियो।’

नन्दुले पाँचैजनालाई बिहीबार बिहान पशुपतिनाथको दर्शन गराइदिएका थिए। यसैगरी विमानस्थलगायतका केही ठाउँमा घुमाएर साँझ ८ बजे ढुंगाअड्डामा गएर बस चढाइदिएको नन्दुले बताए। उनीहरूको स्थायी ठेगाना रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ३ हो।

बस भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा पहिरोमा परेको हो। बसमा चालकसहित २८ जना यात्रु चढेका थिए। बीचबाटोबाट कति यात्रु चढेका थिए भन्ने भने केही जानकारी छैन। तीमध्ये अन्य दुईजनाले हामफालेर ज्यान जोगाएको चितवन प्रहरीले जनाएको छ। ती यात्रुको विवरण प्राप्त भएको छैन।

वीरगन्जबाट काठमाडौँका लागि छुटेको प्र ०३००६ (ख) १५१६ नम्बरको बस पनि सोही पहिरोमा बेपत्ता भएको छ। उक्त बसमा चढेका यात्रुका आफन्त परिवारजन बेपत्ता भएपछि चिन्तामा परेका छन्। वीरगन्जका प्रकाश पटेलले आफूले भाइका सासूससुरलाई रात्रिबस चढाएर काठमाडौँ पठाएको जानकारी दिए। वीरगन्जको बसपार्कमा रहेका उनले टेलिफोनमा भने, ‘काउन्टर र बसपार्कमा परिवारजनको अवस्था बुझ्न आफन्तहरू भेला भएका छौँ।’

दुवै बसको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ।

प्रकाशित: २८ असार २०८१ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast