घरमा सुतेकी महिलाको पहिरोमा पुरिएर मृत्यु

हिमाल प्रेस २७ असार २०८१ ९:४५
12
SHARES
घरमा सुतेकी महिलाको पहिरोमा पुरिएर मृत्यु फाइल तस्बिर

बागलुङ- पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोेमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो। घरमा एक्लै बस्दै आएका शर्माको पहिरोमा पुरिएर मृत्यु भएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए। आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए।

लोकमार्ग अवरुद्ध

भारी वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरोे खस्दा लोकमार्ग अवरुद्ध भएको हो। पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायाता ठप्प हुँदा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

त्यस्तै बुधबार साँझदेखि परेको पानीले बागलुङ बजार जलमग्न भएको छ । लोकमार्गदेखि आएको भलले बागलुङ बजार जलमग्न भएको छ। बजारको सडक ठाउँठाउँमा भत्किनुका साथै व्यापारीका पसलमा भल बस्दा लाखौँको क्षति भएको बताइएको छ। यसैबीच बागलुङ बजारको डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी कोरिडोर दुर्गन्धित बनेको छ।

अविरल वर्षाका कारण बागलुङ–१ स्थित काठेखोला तिरमा रहेको पहिरोको पर्खाल भत्किँदा फोहोरले कोरिडोर पुरिएको हो । कोरिडोर पुरिएपछि मेसिन लगाएर फोहोर हटाए पनि यात्रा असहज बनेको छ । फोहोरको डङ्गुरले भरिएपछि थेग्न नसक्दा पखाल भत्किएको हो । पर्खाल भत्किँदा फोहोरको थुप्रो काठेखोलामा पुगेको छ। सडकमा भएको फोहोरलाई डोजरले हटाएको थियो ।

जिल्लाको दक्षिण क्षेत्रको मुख्य नाकासँग चीन र भारत जोड्ने सडकका रुपमा रहेको कोरिडोर फोहोरको दुर्गन्धले गर्दा यात्रु नाक छोपेर हिँड्न बाध्य छन् । बागलुङ बजारको फोहोरलाई अन्तै व्यवस्थापन गर्नुपर्ने आवाज उठ्दै आए पनि सुनुवाइ भएको छैन्। सडक दुर्गन्धित हुँदा यात्रु बिरामीसमेत पर्ने गाडी चालक वीरबहादुर पुनले बताए। दैनिक यो सडक भएर हजारौँ यात्रु ओहोरदोहोर गर्ने भन्दै नगरपालिकाले नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको उनको भनाइ छ।

प्रकाशित: २७ असार २०८१ ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =