परराष्ट्रमन्त्री श्रेष्ठ नगएपछि ‘बिम्स्टेक रिट्रिट’ मा सचिवको प्रतिनिधित्व

हिमाल प्रेस २६ असार २०८१ १८:०३
108
SHARES
परराष्ट्रमन्त्री श्रेष्ठ नगएपछि ‘बिम्स्टेक रिट्रिट’ मा सचिवको प्रतिनिधित्व परराष्ट्र सचिव सेवा लम्साल।

काठमाडौँ- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को मन्त्रीहरूको बैठकमा नेपालका तर्फबाट मन्त्रीको प्रतिनिधित्व नहुने भएको छ। उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी नहुने भएपछि बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधित्व गर्न लागेकी हुन्।

मन्त्री श्रेष्ठ बिम्स्टेकको ‘रिट्रिट’ (परराष्ट्रमन्त्रीहरूको बैठक) का अवसरमा भारत भ्रमण जाने तयारीमा थिए। परराष्ट्र मन्त्रालयले पनि सोहीअनुसार गृहकार्य गरेको थियो। सरकार कामचलाउ भएकै कारण मन्त्री श्रेष्ठले नयाँदिल्ली नजाने अडान लिएपछि परराष्ट्र सचिव लम्साललाई पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि श्रेष्ठलाई भारत पठाउन जोडबल गरेका थिए। परराष्ट्रमन्त्री श्रेष्ठले अहिलेको अवस्थामा भारत जान उपयुक्त नहुने अडान लिएको उनी निकट एक नेताले बताए। बिहीबार र शुक्रबार नयाँदिल्लीमा हुने बिम्स्टेक रिट्रिटमा माल्दिभ्स, पाकिस्तानबाहेक यस क्षेत्रका अन्य परराष्ट्रमन्त्रीहरू सहभागी हुने भएका छन्।

भारतले पनि कामलचाउ सरकारका परराष्ट्रमन्त्रीलाई निम्त्याएर कसरी छलफल गर्ने भन्दै नआउन आग्रह गरेको हुनसक्ने परराष्ट्रका एक अधिकारीले बताए। यद्यपि यो विषय बाहिर ल्याइएको छैन। भारतले कामचलाउलाई विपत्का बेलाबाहेक अन्य अवस्थामा निम्त्याउन रुचाउँदैन।

परराष्ट्रमन्त्री भएलगत्तै श्रेष्ठले उत्तरी छिमेकी चीनको नौदिने औपचारिक भ्रमण गरेका थिए। परराष्ट्रका एक अधिकारीले भने, ‘श्रेष्ठको चीन भ्रमणलाई भारतले नजिकबाट नियालेको थियो। त्यसरी नियाल्नु र अहिले उहाँ रिट्रिट जान नमिल्नुलाई संयोग मात्र भन्न मिल्दैन।’

परराष्ट्रमन्त्री श्रेष्ठले कामचलाउ परराष्ट्रमन्त्री भएर भारत जाने अवस्था नरहेको भन्दै परराष्ट्र सचिवलाई पठाउन प्रस्ताव गरेका थिए। राजनीतिक परिस्थितिका कारण रिट्रिटमा परराष्ट्र सचिव सहभागी हुन लाागेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ।

बिम्स्टेकको रिट्रिटमा क्षेत्रीय चासो, सहयोग र साझेदारीका विषयलाई अझ सुदृढ बनाउने सम्बन्धमा छलफल हुन्छ। परराष्ट्र मन्त्रालयले पनि त्यही एजेन्डामा आफ्ना कुरा राख्नेछ। भारतका प्रधानमन्त्रीले नरेन्द्र मोदीले यो फोरमको महत्त्वलाई हेरेर छलफल गर्नेछन्।

रुस भ्रमणबाट फर्केका मोदीले आफूलाई कुन रूपमा बढाउन लागेका हुन् भन्ने विषयमा बैठकमा यस क्षेत्रका कूटनीतिज्ञले आकलन गर्न सक्नेछन्। मोदीले शिष्टाचार भेट भने पनि त्यहाँ बिम्स्टेक र यस क्षेत्रका विषयमा खुलेर छलफल हुनेछ।

सचिव लम्साल कार्यक्रममा भाग लिन बुधबार दिल्ली जाने कार्यक्रम छ। बैठकमा सचिव लम्सालका साथमा परराष्ट्रका क्षेत्रीय संगठन हेर्ने सहसचिव र अधिकारी हुनेछन्। उनी शनिबार स्वदेश फर्कने कार्यक्रम छ। लम्सालले त्यहाँ रहँदा अन्य कूटनीतिक अधिकारीसँग पनि छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

पछिल्लो समय भारतले यसलाई बढी सक्रिय पारेर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई निष्क्रिय बनाएको छ।

प्रकाशित: २६ असार २०८१ १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =