१६ म्यानपावरले फ्री भिसा, फ्री टिकटको विवरण बुझाउँदा आठ सय ८८ ले बुझाएनन्

रमेश भारती २६ असार २०८१ ११:१६
108
SHARES
१६ म्यानपावरले फ्री भिसा, फ्री टिकटको विवरण बुझाउँदा आठ सय ८८ ले बुझाएनन्

काठमाडौँ– सरकारले मागेको फ्री भिसा, फ्री टिकटको विवरण १६ वटा म्यानपावर कम्पनीले मात्र बुझाएका छन्। गत असार १७ गते वैदेशिक रोजगार विभागले फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण साउन १ गतेभित्र बुझाउन सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाका आधारमा १६ वटा म्यानपावर कम्पनीले फ्री भिसा, फ्री टिकटमा कामदार विवरण बुझाएका हुन्।

हाल सञ्चालनमा रहेका करिब नौ सय बढी म्यानपावरमध्ये १६ म्यानपावर कम्पनीले मात्र फ्री भिसा, फ्री टिकटको विवरण बुझाएको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए। उनका अनुसार हाल सञ्चालनमा रहेको आठ सय ८८ म्यानपावरले भने अहिलेसम्म फ्री भिसा, फ्री टिकट विवरण बुझाएका छैन।

सरकारले फ्री भिसा, फ्री टिकटमा वार्षिक कति कामदार वैदेशिक रोजगारीमा जान्छन् भनेर तथ्यांक राख्न म्यानपावरसँग यसको विवरण मागेको उनले बताए। ‘फ्री भिसा, फ्री टिकटको विवरण बुझाउने समय अझै एक साता छ। विभागले दिएको समयसीमा सबै म्यानपावरले फ्री भिसा, फ्री टिकटको विवरण बुझाउँछन् भन्ने आस छ,’उनले भने।

फ्री भिसा, फ्री टिकटको विवरण नबुझाउन म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार ऐनअनुसार कारबाही र जरीवाना हुने उनको भनाइ छ। विभागले मागेको फ्री भिसा, फ्री टिकटको विवरण बुझाउन अधिकांश म्यानपावर हिच्किचाइरहेको विभागकै कर्मचारी बताउँछन्। विभागका एक उच्च अधिकारीका अनुसार कतिपय म्यानपावरले सरकारको समीकरण फेरिएपछि राजनीतिक शक्तिका भरमा विभागले मागेको फ्री भिसा, फ्री टिकटको निर्णय उल्टाउने धम्की समेत दिइरहेका छन्। साेही कारण अधिकांश म्यानपावर कम्पनीले फ्री भिसा, फ्री टिकटको विवरण बुझाउन हिच्किचाइरहेको उनको दाबी छ।

तत्कालीन श्रम, रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको कार्यकालमा २०७२ सालमा फ्री भिसा, फ्री टिकटको व्यवस्था लागू गरेका थिए। उनले खाडीका देश र मलेसिया जाने कामदारका हकमा फ्री भिसा, फ्री टिकटका अनिवार्य लागू गराएका थिए।

वैदेशिक रोजगार व्यवसायी संघले भने उक्त निर्णयको नौ वर्षदेखि विरोध गर्दै आएकाे छ। त्यसैले पनि संघमा आबद्ध म्यानपावर कम्पनीले फ्री भिसा, फ्री टिकटको विवरण बुझाउन नचाहेको विभागका कर्मचारी बताउँछन्।

फ्री भिसा, फ्री टिकटमा ४ प्रतिशत कामदार मात्र वैदेशिक रोजगारीमा जाने गरेको म्यानपावर व्यवसायी नै बताउँछन्। श्रम मन्त्रालयले मागेको फ्री भिसा, फ्री टिकटको विवरण ९२ प्रतिशत म्यानपावर कम्पनीले बुझाउन नसक्ने एक रोजगारी व्यवसायीको दाबी छ।

उनका अनुसार सरकारले लागू गरेको फ्री भिसा, फ्री टिकटमा नौ वर्षको अवधिमा ९० हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका छैन। ‘अधिकांश म्यानपावर कम्पनीसँग फ्री भिसा, फ्री टिकटको विवरण पनि छैन। त्यही भएर फ्री भिसा, फ्री टिकटको कतिपय म्यानपावरले नक्कली विवरण बनाएर बुझाउँछन्,’ उनले भने।

यस्तै, वैदेशिक रोजगार व्यवसाय संघका महासचिव मेघनाथ भुर्तेलका अनुसार खाडी र मलेसिया गएका सबै कामदार फ्री भिसा, फ्री टिकटमै गएका हुन्। उनीहरूको दैनिक, मासिक र वार्षिक विवरण विभागसँग सुरक्षित छ। जसका कारण यसको विवरण म्यानपावर सञ्चालकसँग माग्नुपर्ने जरुरी नभएको उनको भनाइ छ।

फ्री भिसा, फ्री टिकटको विवरण पठाउने म्यानपार

विभागले दिएको समयसीमाभन्दा एक हप्ताअघि नै १६ म्यानवार कम्पनीले फ्री भिसा, फ्री टिकट विवरण पठाएको विभागले सार्वजनिक गरेको सूचीमा छ। वाइज इन्टरनेशनल नेपाल, एफएसआई वर्ल्डवाइड नेपाल, गुड एलायन्स ओभरसिज, ब्रोडलिंक ओभरसिज, सोलो एशिया रिक्रुटमेन्ट, मित्र ओभरसिज, सुनकोशी म्यानपावर सर्भिस, नवजीवन इन्टरनेशनल, टाइटानिक म्यानपावर सप्लायर्स, रिलायन्स एचआर सोलुसन, स्टेभान गुर्खा सर्भिस, ब्रिटिश गुर्खा ओभरसिज सर्भिस, मिराकल इम्प्लोइमेन्ट सर्भिस, इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट, आकर्षण इन्टरनेशनल र नासा ह्युमन रिसोर्स प्रालिले फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण विभागमा पेस गरेका छन्।

इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट र आकर्षण इन्टरनेशनका नाम प्रकाशित गर्न छुटेपनि ती दुवै म्यानपापरले फ्री भिसा, फ्री टिकटको विवरण पठाएको विभागले जनाएको छ। यस्तै, फ्री भिसा, फ्री टिकटको विवरण बुझाएका म्यानपावरले नौ देखि १० हजार कामदार पठाएको हुनसक्ने विभागको अनुमान छ।

विभागले म्यानपावर कम्पनीसँग फ्री भिसा, फ्री टिकटअन्तर्गत पठाएको श्रम गन्तव्य देश, रोजगारदाता कम्पनीको संस्था, कामदारको नाम, उनीहरूको नेपालको सम्पर्क नम्बर, काम, तलबलगायतका विवरण मागेको छ। तर यस्तो विवरण म्यानपावर कम्पनीसँग नभएको रोजगार व्यवसायी नै बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =