खेती किसानी

ओझेलमा प्रांगारिक कृषि पर्यटन

रमेश भारती २६ असार २०८१ १८:४०
48
SHARES
ओझेलमा प्रांगारिक कृषि पर्यटन गोठमा उत्पादन गरिएको मल खेतमा लैजाँदै भक्तपुरका किसान। फाइल तस्बिर

काठमाडौँ- नेपालको पहिचान झल्कने खेती किसानीलाई पर्यटनसँग जोड्ने सरकारी प्रयास सफल हुन सकेको छैन। पर्यटनलाई प्रांगारिक (अर्गानिक) कृषिसँग जोड्न सरकारले २०७४ सालमा प्रांगारिक कृषि पर्यटन विकास गर्ने अवधारणा अघि सारेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको कृषि व्यवसाय प्रवर्द्धनसम्बन्धी ऐन, २०७४ मा तीनै तहको सरकारले प्रांगारिक कृषि पर्यटन विकासका लागि काम गर्ने उल्लेख छ।

सरकारी योजनाअनुसार काम अघि नढ्दा नसक्दा  प्रांगारिक कृषि पर्यटनको योजना कागमजमै सीमित रहेको विज्ञहरूले बताएका छन्। प्रांगारिक कृषि पर्यटनलाई कृषिमा रूपान्तरण गरी बजारीकरण गर्ने,  प्रांगारिक उत्पादन विदेशी पर्यटकलाई कोसेलीका रूपमा दिने, प्रांगारिक कृषिका उत्पादन बढाउने, विदेशी पर्यटकलाई प्रांगारिक  खाना खुवाउने, ग्रामीण कृषिलाई पर्यटनसँग जोड्नेजस्ता सरकारी लक्ष्य  छ।

पूर्वकृषि सचिव डा. गणेश जोशी कृषि क्षेत्रको सुधार गर्ने मुख्य आधार अनुसन्धान नहुँदा योजना कार्यान्वयनमा समस्या रहेको बताउँछन्। कृषि क्षेत्रको विकास गरी वार्षिक ३ देखि ४ गुणा गरिबी घटाउन सकिने उनको सुझाव छ।

‘कृषि पर्यटनको बजारको समस्या छैन। उत्पादित वस्तुले सहज रूपमा बजार पाउन नसकेका मात्रै हुन्। यसका लागि सरकारले जोड गर्नुपर्छ’, उनले भने, ‘प्रांगारिक कृषि पर्यटनको मुख्य आयस्रोत बनाउन समस्या छैन। कृषिमा निर्वाहमुखी र फार्म केन्द्रित प्रणालीको विकास गर्नुपर्छ। त्यसपछि कृषिका उत्पादित वस्तुको व्यापारका लागि सरकारले बजार खोज्नुपर्छ।’

योजनाबद्ध विकासका दस्ताबेजमा  नेपालको रूपान्तरण कृषिबाटै सम्भव भएको उल्लेख छन्। सरकारको नेतृत्वमा पुगेका पार्टीले योजनाबारे भाषण मात्र गरेको तर काम गर्न नसक्दा उपलब्धि हासिल हुन नसकेको आरोप कृषि विज्ञहरूको छ।

कृषिविज्ञ कृष्ण पौडेल सरकारले प्रांगारिक कृषि पर्यटन विकासमा जोड दिए पनि यसले निरन्तरता पाउन नसकेको बताउँछन्। उनका अनुसार नेपालका ६५ प्रतिशत जनताको जीवनयापन कृषिमा आधारित छ। उनीहरूलाई  प्रांगारिक कृषि पर्यटनसँग जोड्न सकिएको छैन।

‘सरकारले पर्यटनलाई प्रांगारिक कृषिसँग जोड्नुपर्छ। यस्तो गर्दा नेपालको ग्रामीण क्षेत्रको कृषि पनि फस्टाउँछ’, उनले भने। प्रांगारिक कृषि पर्यटन विकासमा जोड गरे गाउँघरमा पनि कृषिको आकर्षण बढ्न सक्ने उनको भनाइ छ।

पर्यटकलाई किसानसँग प्रत्यक्ष रूपमा कृषि कार्यमा संलग्न गराएर पनि कृषि पर्यटनको विकास गर्न सकिने उनी बताउँछन्। उनी भन्छन्, ‘गाउँघरमा भैँसी दुहेको, ठेकीमा दही मथेको, दहीबाट मही र नौनी उत्पादन गरेको, घाँसदाउरा गरेको जस्ता गतिविधि पर्यटकका लागि आकर्षणको विषय हुन सक्छ।’ उनको बुझाइमा गाउँघरमा गरिने खेती पनि कृषि पर्यटनको आकर्षण हो।

भात, आँटो, ढिँडो, रोटीजस्ता परिकार गाउँघरका प्रमुख खाद्यान्न हुन्। सहरको तुलनामा गाउँका खानेकुरा प्रांगारिक हुन्छन्। जातिविशेषका आवासमा पाहुना (पर्यटक) लाई सत्कार गर्ने, स्थानीय रूपमा तयार भएका थरीथरीका खाद्य एवम् पेय पदार्थमार्फत आतिथ्य गराउने ग्रामीण पर्यटनका माध्यम हुन्। पछिल्लो समयमा सहरमा यिनै वस्तु नक्कल गरेर खुलेका रेस्टुरेन्ट र होटलमा आकर्षण बढ्नुले पनि प्रांगारिक  पर्यटनको प्रशस्त सम्भावना रहेको पौडेलले बताए।

प्रांगारिक कृषि पर्यटनविज्ञ संगम शेर्पा यस क्षेत्रमा विदेशी पर्यटन तान्न सकिने बताउँछन्। स्थानीय सीप र ज्ञानको समुचित प्रयोग गर्ने हो भने कृषि क्षेत्रको पनि विकास हुने उनको बुझाइ छ।

‘कृषि पर्यटनले गाउँमा धेरै कुराको अध्ययन र अवलोकन गर्न पाइन्छ। यसका लागि सरकारले कृषिलाई कृषि पर्यटनसँग जोड्न समयसमयमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गर्नुपर्छ’, उनले भने, ‘कृषि पर्यटनका लागि चिनारी एवम् चिनोका रूपमा प्रदान गरिने स्थानीय उत्पादनको उपहारजस्ता वस्तुको बजार विस्तार हुन्छ। यसबाट मौलिक घरेलु वस्तुहरूको उत्पादन बढ्छ।’

कृषियोग्य भूमिमा आधुनिक कृषि खेती प्रणाली, उपयुक्त कृषि भौतिक पूर्वाधार र संरचना विकास गरी कृषि पनि पर्यटन तान्ने प्रकृतिको काम गर्नुपर्ने उनको भनाइ छ। शेर्पा काठमाडौँको कपनमा १४ वर्षदेखि प्रांगारिक कृषि पर्यटन व्यवसाय क्षेत्रमा काम गर्दै आएका छन्।

उनी भन्छन्, ‘ग्रामीण विकासको आधार कृषि पर्यटन हो। गाउँमा जाने पर्यटकलाई अर्गानिक र पोषणयुक्त खानाको स्वाद लिने गरेका छन्। कृषि पर्यटनले एकातिर किसानलाई खाद्यान्न उत्पादन र पशुपालनमा आकर्षित गर्दै लैजान्छ भने अर्कोतिर ग्रामीण पर्यटकलाई कृषि प्रणाली र ग्रामीण जीवनशैलीबारे थप अध्ययनअनुसन्धानको मार्ग बन्छ।’

कृषि मन्त्रालयले सात वर्षअघि प्रांगारिक कृषि पर्यटन विकास व्यवसाय प्रवर्द्धन गर्न लक्ष्य राखे पनि यसमा बजेट छुट्याएको छैन। प्रदेश र स्थानीय सरकारले पनि प्रांगारिक कृषि पर्यटन विकासका लागि योजना बनाउँदै आएका छन् तर बजेट विनियोजन नहुँदा योजना अघि बढाउन नसकिएको सरकारी अधिकारीहरू स्वीकार गर्छन्।

कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर कार्की प्रांगारिक कृषि पर्यटन विकासका लागि योजना र यसका फाइदाबारे अध्ययनसँगै सम्बन्धित क्षेत्रका सरोकारवाला संस्थासँग छलफल गर्दै आएको बताउँछन्। उनले भने, ‘तीनै तहका सरकारले प्रांगारिक कृषि पर्यटन विकासका लागि काम गरिरहेका छन्। कतिपय स्थानीयले तहले प्रांगारिक र अर्गानिक कृषिका वस्तु उत्पादन गरेर बजारमा बिक्री गर्न थालेका छन्।’

प्रकाशित: २६ असार २०८१ १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =