पोखरा विमानस्थल अनियमितताबारे संसदीय समितिको छानबिन, के के उठ्यो प्रश्न?

हिमाल प्रेस २५ असार २०८१ १६:५०
36
SHARES
पोखरा विमानस्थल अनियमितताबारे संसदीय समितिको छानबिन, के के उठ्यो प्रश्न?

पोखरा-  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग खासमा ३ मिटर उचाइ बढाउनुपर्ने थियो। तर, ६ मिटर खारेर निर्माण भयो। धावनमार्ग सतह घटेपछि पूर्वतर्फको रिठ्ठेपानी डाँडा ४० मिटर कटान गर्नुपर्ने अवस्था आयो। यसरी धावनमार्ग ४० फिट गहिरो किन हुन गयो भन्ने प्रश्न यथावत् छ।

अन्तर्राष्ट्रिय विमानस्थल भए पनि यहाँ ठूला जहाज अवतरणमा समस्या छ। विमानस्थल फोर डी मोडलमा बनेका कारण न्यारोबडीका विमान मात्र अवतरण सम्भव छ। अझ विमानस्थल पश्चितर्फ रहेको पुम्दीभुम्दी डाँडाले ठूलो जहाज अवतरण रोक्छ। यो किन हुन गयो ? विमानस्थलको लागत बढ्न गएकोदेखि रनवेको माटो परीक्षण रिपोर्ट, रन–वेको कटिङ, फिलिङ लगायत थुप्रै विषयमा संसदीय लेखा समितिको चासो देखाएको छ।

विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै संघीय संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेपछि गत १३ असारमा समिति सदस्य राजेन्द्र लिङ्देनको संयोजकत्वमा छानबिन गठन भएको थियो। सोही समितिको टोली यहाँ आएर विमानस्थलको स्थलगत अध्ययनसँगै विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, सरोकारवाला निकायसँग छलफल गरेको छ।

२ दिनसम्म भएको अध्ययन अवलोकनपछि टोली काठमाडौं फर्किएको छ। उपसमितिले अन्तर्राष्ट्रिय उडान हुन नसक्नुका कारण र प्राविधिक त्रुटि भए अध्ययन गरी सार्वजनिक लेखा समितिलाई एक महिनाभित्र सुझाव दिनेछ। उपसमिति संयोजक लिङ्देनले स्थलगत अध्ययन, विज्ञहरूसँग छलफल र सरोकारवालासँगको अन्तर्क्रियापछि प्रतिवेदन तयार गरिने बताए। उनका अनुसार विमानस्थल निर्माणमा खासमा अनियमितता भए वा नभएको हेर्ने र गल्ती देखिए कारबाहीको लागि सिफारिस गरिनेछ। यसका साथै विमानस्थलबाट आगामी दिनमा कसरी अन्तर्राष्ट्रिय उडान नियमित गर्न सकिन्छे भन्नेबारे पनि सुझाव दिने बताए।

संसदीय उपसमितिमा लिङ्देनसहित सांसदहरू गोकुलप्रसाद बास्कोटा, प्रेमबहादुर आले, जनार्दन शर्मा, देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, बराइली, तारा लामा तामाङ, दीपक गिरी, रुक्मिणी राना, अमनलाल मोदी, रामकृष्ण यादव लगायत सहभागी थिए।सरोकारवाला र स्थानीयसँगको छलफलमा सम्झौताभन्दा विमानस्थलको धावनमार्गको उचाइ कम भएको, भूराजनीतिक कारणले उडान हुन नसकेको गुनासो गर्दै अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारण पहिल्याई उडान नियमित गर्न माग गरे।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा विमानस्थलबारे बारम्बार गुनासो आइरहेको उल्लेख गर्दै आवश्यक छानबिनपछि यथार्थ विवरण आउने अपेक्षा गरे। पोखराका मेयर धनराज आचार्यले पोखरा विमानस्थबारे उठेका प्रश्न समाधान गर्नुपर्नेमा जोड दिए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विमानस्थलको धावनमार्ग जानाजान सानो बनाइएको र थप अग्लो बनाउनुपर्नेमा माटो झिकेर गहिरो पारेको आरोप लगाए। सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले २२ अर्ब ६१ करोड रुपैयाँमा विमानस्थल निर्माण गरेको हो। नेपाल सरकारले मुआब्जा लगायतका काममा ४ अर्बभन्दा बढी खर्च गरिसकेको छ। गत १ जनवरी, २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थल उद्घाटन गरेका हुन्। डेढ वर्षयता यहाँबाट ५ वटा चार्टर उडानबाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। यो आन्तरिक उडानमै सीमित छ।

प्रकाशित: २५ असार २०८१ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 12 =