रंगकर्मीको गुनासो : मिडियामा हाम्रा सतही कुरा मात्र आए

हिमाल प्रेस २५ असार २०८१ ११:२३
74
SHARES
रंगकर्मीको गुनासो : मिडियामा हाम्रा सतही कुरा मात्र आए

काठमाडौँ- रंगकर्मीले थिएटरका हरेक कुरालाई मिडियाले साथ दिए पनि सतही कुरा मात्र लेख्ने गरेको गुनासो गरेका छन्।

मण्डला थिएटरका युवा रंगकर्मीले गरेको ‘म्याड फेस्ट–२०२४’ अन्तर्गत रंगकर्मीसँग गरेको कुराकानीमा थिएटरको गहिराइभन्दा पनि सतहमा देखिएका सामान्य सूचना मात्र कभरेज हुने गरेको गुनासो गरेका छन्। मण्डलाले ‘म्याड फेस्ट–२०२४’ अन्तर्गत ‘केही माया केही विचारका कुरा’मा रंगकर्मी किरण चाम्लिङ, पत्रकार सुशीला तामाङ र नाटककार तथा कला लेखक सुरज सुवेदीसँग संवाद गरेको थियो।

रंगकर्मी चाम्लिङले थिएटरका हरेक गतिविधिहरुलाई मिडियाको साथ, समर्थन र माया रहेको बताए। जोखना, खुवालुङ जस्ता बहुचर्चित नाटक निर्देशन गरिसकेका चाम्लिङले मिडियाले सधैं माया गरेर थिएटरलाई हेरिरहेको बताए।

बहसमा चाम्लिङसँगै पत्रकार सुशीला तामाङ नाटककार तथा कला लेखक सुरज सुवेदी पनि थिए। बहसमा कला पत्रकारिता, नाटक समीक्षा, थिएटरमा मिडियाको पहुँच, थिएटरले निर्माण गरिरहेको विचार र त्यसलाई मिडियाले कसरी लिएको छ त भन्ने दृष्टिकोणबाट अर्का पत्रकार रीना मोक्तानले बहस अगाडि बढाएकी थिइन्।

नाटककार सुवेदीले थिएटरको फैलावट र यसको विचार निर्माण प्रक्रियामा मिडियाको ठूलो भूमिका रहेको भन्दै हाल भइरहेको मिडियासम्मको पहुँचलाई सन्तोषजनक नै रहेको बताए।

उनले भने, ‘एउटा नाटक चलेपछि त्यसको समीक्षा र मिडिया कभरेजको कुरा मैले अझ मेरो नाटक आएपछि बुझेँ । मैले पनि धेरै समीक्षा गरेको छु । नाटक र थिएटरलाई अगाडि कसरी लैजाने भन्ने कुरामा पनि मिडियाले भूमिका हुन्छ जस्तो मलाइ लाग्छ।’ पत्रकार तामाङले पनि सुवेदी र चालिङकै भनाइलाई सही थप्दै कभरेजकै हिसाबमा हेर्ने हो भने थिएटरले मिडियाको साथ र माया पाइरहेको बताइन्।

उनका अनुसार मिडियाले गरिरहेको कभरेजको धारलाई आगामी दिनमा परिवर्तन गरेर लैजानुपर्छ । ‘मिडियाले थिएटरलाई माया र सहानुभूति मात्र दियो भन्ने गुनासो रङ्गकर्मीहरुबाट सुनिन्छ। हामीले आलोचनात्मक रुपमा लेख्न माया गरी लेखेर मात्र हुँदैन होला ।’ थिएटर र रंगकर्मीहरूले नाटक चल्ने अवधिमा नभएर मिडियासँग थिएटरकै विषयमा निरन्तर संवादमा रहनुपर्ने धारणा राखिन्। थिएटर र मिडियासँगको सम्बन्धलाई दिगो बनाउन नाटकको कभरेज, समीक्षा मात्र नभएर रंगकर्मीहरुले मिडियाकर्मीको ठाउँमा बसेर सोचिदिन उनले आग्रह गरिन्।

आइतबार समापन गरिएको म्याड फेस्टमा मण्डलाकै युवारंगकर्मीका ६ वटा नाटकहरू मञ्चनका साथै, छलफल, संगीत र कविता प्रस्तुतिका कार्यक्रमहरु समेत गरिएको थियो।

प्रकाशित: २५ असार २०८१ ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =