बागलुङ- बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन्।
जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखे।
उनले भने, ‘यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ। बाँदरले बोट नै सखाप पारिदिन थालेको छ। बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ। पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न।’
काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताए।
बाँदर नियन्त्रण गर्न पालिकाले पहल नथालेको स्थानीयवासी गुनासो गर्छन्। जैमिनी नगरपालिकाले यसका लागि ‘मंकी पार्क’ बनाउने योजना बनाएको छ। योजनाले भने सार्थकता पाउन सकेको छैन।