सकियो तीनदिने म्याड फेस्ट

हिमाल प्रेस २३ असार २०८१ १९:२०
168
SHARES
सकियो तीनदिने म्याड फेस्ट

काठमाडौँ- मण्डला थिएटरका पूर्व विद्यार्थीहरूले आयोजना गरेको तीनदिने रंग महोत्सव ‘म्याड फेस्ट २०२४’ सम्पन्न भएको छ। अभिनेता दयाहाङ राई र ‘म्याडफेस्ट’का निर्देशक अनुप न्यौपानेबीचको अन्तरक्रियासँगै महोत्सव सम्पन्न भएको हो।

दयाहाङ र अनुपबीच ‘टाइम, स्पेस एण्ड एक्सन’ शीर्षकमा रंगकर्मी केदार श्रेष्ठले सहजीकरण गरेका थिए। महोत्सवको अन्तिम दिन नाटक ‘मिरर’ र ‘अगम’ मञ्चन भयो। त्यस्तै ‘केही माया, केही विचारका कुरा : मिडिया र थिएटर’ शीर्षकमा पनि अन्तरक्रिया सम्पन्न भयो। तीन दिन चलेको यो महोत्सवमा ६ निर्देशकका नाटक देखाइएको छ।

महोत्सवको समापनमा मण्डलाका संस्थापकसमेत रहेका अभिनेता दयाहाङले यो संस्थालाई नयाँ पुस्ताबीच हस्तान्तरण गर्ने भनाइ राखेका छन्।

महोत्सवका निर्देशक अनुप न्यौपाने युवा रंगकर्मीको साथले नै ‘म्याड फेस्ट’ सम्भव भएको बताउँछन्। ‘मनले काम गरियो भने झरीले पनि नरोक्ने रैछ, दर्शकहरूको यस्तो माहोल देखेर हामी आफैँ उत्साहित भएका छौँ,’ उनले भने, ‘जसरी दर्शकहरूको माया र प्रतिक्रिया पाइरहेका छौँ, हामीले फेरिफेरि पनि यस्ता महोत्सवहरू गरिरहनुपर्छ जस्तो लागेको छ।’

महोत्सवका संयोजक प्रेम सिलवालका अनुसार पुसदेखि यो महोत्सवको तयारी सुरु भएको हो। ‘हामीले सोचेजस्तै महोत्सव भव्यरूपमा आयोजना गर्न सक्यौँ,’ सिलवालले भने, ‘यो महोत्सव गरिसकेपछि हामी युवाले आफ्ना लागि अवसर सिर्जना गर्न सक्छौँ भन्ने महसुस गरेका छौँ। भविष्यमा यो महोत्सव अन्तर्राष्ट्रियस्तरको बन्दै जानुपर्छ भन्ने लाग्छ।’

उनका अनुसार महोत्सवका लागि १८ नाटक आवेदनमा परेको थियो। त्यसमध्ये ६ नाटक छनौट भई मञ्चनमा आएका हुन्। महोत्सव लगत्तै यी ६ नाटक १० दिन निरन्तर मञ्चन हुनेछन्। महोत्सवमा थुप्रै विषयमा अन्तरक्रियादेखि संगीत र कविताका कार्यक्रम गरिएको थियो।

महोत्सवमा फरकफरक कथामा रंगकर्मी संयोग गुरागाईंको लेखन तथा निर्देशनमा ‘रेल्वे टु नोव्हेर’, अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर’, श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी,’ प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा’, प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ र सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ नाटक मञ्चन गरिएको थियो।

प्रकाशित: २३ असार २०८१ १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 11 =