काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रायः नैतिकता र सिद्धान्तका कुरा गर्ने नेताका रूपमा पनि चिनिन्छिन्। उनी बारम्बार आफू नैतिकवान् र संस्कारयुक्त भएको दाबी गर्न छाड्दैनन्।
‘म ओली (केपी शर्मा ओली) जस्तो असंस्कारी छैन। मलाई मेरो घरबाट त्यस्तो संस्कार दिइएकै छैन’, एमालेबाट अलग भएपछि एउटा टेलिभिजन अन्तर्वार्तामा नेपालले दिएको अभिव्यक्ति हो। उनी सार्वजनिक कार्यक्रममा कसैको अपमान नसहने पनि बताइरहन्छन्।
नेपाल मात्र होइन, समाजवादीकै अर्का नेता झलनाथ खनाल पनि आफूलाई ‘वामपन्थी’ र ‘समाजवाद’को व्याख्याता सम्झन्छन्। खनाल आफू लोकतान्त्रिक भएको दाबी गर्छन्। उनी भन्छन्, ‘कांग्रेसजस्ता शक्ति दक्षिणपन्थी हुन्।’
नेपाली राजनीतिका अनुभवी यी नेताका बोली सुन्दा अरू सबै लोकतान्त्रिक जस्तो भान हुन्छ। व्यवहारमा उनीहरू कति ‘अनुदार’ छन् भन्ने कुरा समाजवादीको हालैको महाधिवेशनले छर्लंग पारिदिएको छ।
महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदमा कोही निर्वाचित भएनन्। नेपालले महाधिवेशनको बन्दसत्रअघि विघटित पूर्वपदाधिकारी कमिटीबाट केन्द्रीय सदस्य चयन गरे।
समाजवादीको महाधिवेशनका लागि झन्डै १८ सय महाधिवेशन प्रतिनिधि चुनिएका थिए। तिनीहरूको काम बन्दसत्रमा सहभागिताबाहेक केही भएन। ‘अध्यक्ष र महासचिवमा चुनाव भएन। अन्य पदमा चुनाव हुनुपर्थ्यो,’ महाधिवेशन स्थलमा भेटिएका एक प्रतिनिधिले भने, ‘बरु, केपी ओलीले चुनाव लड्ने अधिकार दिएका थिए। यहाँ त त्यो पनि पाइएन।’
खनाल पनि नेपालजस्तै बने। उनी महाधिवेशनको निर्वाचन मण्डलको अध्यक्ष थिए। उनले आफूसहित ३ नेता (नेपाल, भुसाल) नेताहरू सर्वसम्मत भएको घोषणा गरेका थिए। ‘हार्ने डरले हाम्रो पार्टीमा लड्न दिइएन,’ महाधिवेशनमै केन्द्रीय नेता कृष्णकुमार श्रेष्ठले भनेका थिए।
खनालले निर्वाचनअघि ‘सम्मानित नेता’ पद सुनिश्चित गरेका थिए। यही कारण उनी कसैको प्रचारमा लागेनन्। बन्दसत्रको अन्त्यतिर तीन नेताको नाम लिए र ‘महाधिवेशन प्रतिनिधि घर जाँदा हुने’ जानकारी दिए।
खनालको अभिव्यक्तिले महाधिवेशन हल स्तब्ध बनेको एक प्रतिनिधिले बताए। केही प्रतिनिधिले त खनाललाई महाधिवेशन प्रतिनिधि घर पठाउने अधिकार नभएको भन्दै आक्रोश पोखेका थिए। त्यो आक्रोश खनालले सुन्दैसुनेनन्।
खनालको व्यवहारप्रति महाधिवेशन हलमा मात्र नभई अन्यत्र पनि विरोध भयो। तत्कालीन सचिव रामकुमारी झाँक्रीले सामाजिक सञ्जालमै महाधिवेशन प्रतिनिधिलाई घर पठाउने अधिकार नभएको बताएकी थिइन्।
झाँक्री आफैँ पनि पदाधिकारीकै आकांक्षी थिइन्। चुनाव लडेर भए पनि पदाधिकारी चुनिने रहर उनमा थियो। खनालसहितका नेताले उनीहरूलाई लड्ने अधिकार दिएनन्।
किन लड्ने अधिकारबाट वञ्चित भए नेता?
समाजवादीको विधानमा २३ पदाधिकारीसहित २९९ केन्द्रीय सदस्य चयन हुने व्यवस्था छ। नेताहरूका अनुसार २३ पदाधिकारी चुन्न ज्यादै कठिन थियो। शीर्ष नेताहरूले ‘विद्रोह पुष्टि गर्न प्रतिस्पर्धा गर्न नहुने’ बताएपछि चुनाव हुन नसकेको प्रतिनिधिहरू बताउँछन्। एकै पदमा दुईभन्दा बढी प्रतिस्पर्धी हुन नहुने उनीहरूको दबाब थियो।
‘प्रतिस्पर्धा भएमा बाहिर सन्देश राम्रो जाँदैन,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘अध्यक्षमा मिलेपछि अन्य पदमा मिलाउनुपर्यो।’ हुन त नेपाल आफैँ सर्वसम्मत बन्न खोजेका थिए। त्यसपछि दोस्रो कार्यकारिणी पद महासचिवमा समेत भुसाल मानेपछि महाधिवेशन सकिएको घोषणा गरेका थिए।
यस्ता छन् चुनाव नहुनाका कारण
गुट बढ्ने भय : समाजवादीमा गुटगत प्रतिस्पर्धा हुने भय थियो। एकातिरबाट नेपाल पक्ष र अर्कातिर खनाल-भुसालपक्ष भिड्ने तयारीमा थियो। चुनाव भएको भए पदाधिकारीमै पनि ‘नसोचेका व्यक्ति’ आउन सक्थे। ‘हाम्रो मूल टिमको बुझाइविपरीतका व्यक्ति माथिल्लो पदमा आउन सक्थे,’ समाजवादीका एक पदाधिकारी भन्छन्,‘त्यसैका लागि चुनाव रोक्यौँ।’
अध्यक्ष नेपालकै गुटमा समस्या : अध्यक्ष नेपालले आफ्नो गुट मिलाउन सकेनन्। नेपालले आफू सर्वसम्मत बने पनि अन्य पदमा आफ्नै गुटका नेताहरू बलियो दाबेदारी प्रस्तुत गर्दै थिए। वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे र बेदुराम भुसाल दाबेदार थिए।
उनीहरू दुवै नेपाल निकटस्थ हुन्। अन्तिमसम्म पनि पाण्डे र भुसाल ‘वरिष्ठ उपाध्यक्ष’ पद छाडेनन्। पाण्डे र भुसालबीच यसअघि पनि वरीयतामा विवाद थियो। विवाद जान्दाजान्दै नेपालले महाधिवेशनको संघारमा ‘वरिष्ठ उपाध्यक्ष’ पद कायम गरेका थिए।
नेपाल पनि पाण्डेकै पक्षमा थिए। भुसालले नछाड्दा सोही पदमा पनि सर्वसम्मति हुन सकेन। ‘तीन पदसहित वरिष्ठ उपाध्यक्षमा सर्वसम्मति गर्ने तयारी थियो तर सहमति जुटेन’, समाजवादीका ती पदाधिकारीले भने।
नेपाल-खनाल मिलनले बाँधिए प्रतिनिधि : महाधिवेशनअघि नेपाल-खनाल प्रतिस्पर्धा हुने सम्भावना थियो। नेपाल अध्यक्ष नछाड्ने, खनाल चुनाव नलडी नछाड्नेमा थिए। महाधिवेशनमा परिस्थिति अर्कै देखापर्यो। महाधिवेशन सुरु भएपछि खनाल मौन बसे।
खनाल निकटस्थहरू भुसालको प्रचारमा देखिए। खनाल नेपालसँग मिलेको चर्चा चल्यो। यही कारण भुसाल प्रतिस्पर्धामा उत्रिन सकेनन्। ‘उहाँ(भुसाल) एकाएक पछि हट्नुभयो। किन हट्नुभयो थाहा भएन,’ प्रवक्ता खतिवडा भन्छन्, ‘उहाँ (भुसाल) पछि हटेपछि सर्वसम्मत भयो।’
पदाधिकारी बनाउने नयाँ मापदण्ड बनाउने : समाजवादीले नयाँ पदाधिकारी र केन्द्रीय सदस्य अटाउन ‘पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड’ बनाउने तयारी गरेको छ।
अब केन्द्रीय कमिटीलाई पूर्णता दिएर मात्र पदाधिकारी बनाउने समाजवादीले जनाएको छ। कतिपय केन्द्रीय सदस्यका आकांक्षीलाई प्रदेशको जिम्मेवारी लगेर पनि व्यवस्थापन गर्ने तयारी छ।
भूगोल, क्षेत्र र सन्तुलन मिलाएर नेताहरूको क्षमताका आधारमा आवश्यक पदमा मनोनीत गर्ने तयारी छ।
त्यो एमाले महाधिवेशन, यो समाजवादी महाधिवेशन
२०७८ मंसिर १० देखि १३ सम्म चितवनमा चलेको एमाले महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो पटक अध्यक्षमा चुनिएका थिए। असार १६ बाट काठमाडौँमा चलेको महाधिवेशन महाधिवेशनबाट नेपाल पनि अध्यक्षमा दोस्रो पटक चुनिए। दुवै दलले महाधिवेशनलाई दसौँ भनेका छन्।
महाधिवेशनमा ओलीले पनि आफू अध्यक्ष बन्न आफ्नो गुटका उम्मेदवारको ‘सूची’ बाँडेका थिए। किनभने उनी सानदार तरिकाले अध्यक्ष जित्न चाहन्थे। ओलीले चाहेकै पुग्यो। यता नेपालले भने ‘हार्ने अधिकार’ पनि दिएनन्।
ओलीले भीम रावलसँग अध्यक्षमा प्रतिस्पर्धा गरे। उनीविरुद्ध प्यानलै खडा गरेर महाधिवेशन भयो। नेपालले भने उनीविरुद्ध उम्मेदवारी पर्नै दिएनन्। उनका प्रतिस्पर्धामा उत्रिन नचाहने नेता नभएका होइनन्। एमालेकै १० औँ महाधिवेशनमा उपाध्यक्ष हारेका घनश्याम भुसाल थिए। नेपालले भुसाललाई ‘दबाएर’ नै महासचिवमा राखे। यति मात्र होइन, ओलीको त्यो महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय समितिसम्म चयन महाधिवेशनमा भएको थियो।
कुनै बेला नेपाल-खनाल एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को विरोध गर्थे। ओली एमालेको १० औँ महाधिवेशन (चितवन) बाट अध्यक्ष चुनिए। त्यसबेला नेपाल-खनालले ओलीले महाधिवेशनमा लड्ने अधिकार नदिएको भन्दै चर्को विरोध गरे। महाधिवेशनबाट ओली निर्वाचित भएपछि नेपालले ‘एमाले सोत्तर भएको’ टिप्पणी गरेका थिए।
उनले भनेका थिए, ‘ओलीको शैलीकै कारण एमाले सोत्तर भइरहेको छ। हावा खाइरहेको छ।’ नेपालको त्यो अभिव्यक्तिमा दम थिएन भन्ने कुरा २०७९ को संसदीय चुनावले पुष्टि गरिदियो। एमाले दोस्रो शक्ति बन्यो। नेपालको समाजवादी प्रतिनिधिसभामा १० सिट निर्वाचित भए पनि राष्ट्रिय शक्ति बन्न पाएन।
खनाल पनि एमालेबाट विभाजन ताका ओलीप्रति चर्को असन्तुष्टि पोख्थे। गत शनिबार पनि खनालले ओलीलाई ‘भष्मासुर’ भन्न भ्याए। नेपाल-खनालले यसो भनिरहँदा पार्टीको महाधिवेशनमा उनीहरू कति उदार भए भनेर प्रश्न उठ्नेछ।