सबै दल विपद् जोखिम न्यूनीकरणमा केन्द्रित हुनुपर्छ : नैनसिंह महर

हिमाल प्रेस २३ असार २०८१ १२:५१
22
SHARES
सबै दल विपद् जोखिम न्यूनीकरणमा केन्द्रित हुनुपर्छ : नैनसिंह महर नैनसिंह महर।

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले जनताका समस्याप्रति संवेदनशील बन्न संसद् र सरकारलाई आग्रह गरेका छन्। प्रकोप नियन्त्रणका लागि हाम्रो अभियानले आइताबार काठमाडौँमा आयोजना गरेको ‘जलवायु परिवर्तन र प्रकोप न्यूनीकरणमा राजनीतिक दलको भूमिका’ विषयक अन्तरक्रियामा नेता महरले समग्र सदन र सरकार जनताका एजेन्डामा केन्द्रित हुनुभन्दा दलगत फाइदा र बेफाइदामा अल्झिएको गुनासो गरे।

अहिले देश भीषण वर्षासँगैको बाढीपहिरोले आक्रान्त बनेकाले सबै राजनीतिक दल जोखिम न्यूनीकरणमा केन्द्रित हुनुपर्ने महरको धारणा छ। ‘विपद्जन्य घटनामा परेर दर्जन हाराहारी नागरिकले ज्यान गुमाइसक्नुभएको छ। सयौँ परिवार विस्थापित हुँदा करोडौँको क्षति भएको छ। यस्तो अवस्थामा सरकार र सदनले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु निकम्मापनभन्दा अरू केही होइन,’ उनले भने।

जनताका मुद्दामा केन्द्रित रहेर नीति निर्माण गर्नुपर्ने संसद् खाली सरकार बनाउने र भत्काउने काममा व्यस्त देखिएको उनको आरोप छ। ‘जनताका आवश्यकताभन्दा सरकारमा बसेकाहरूले आफ्नो नैतिक दायित्व बिर्सिएर राहत र उद्धार कार्यमा तदारुकता देखाउन सकेका छैनन्’, उनले भने।

समयमै जलवायु परिवर्तन र प्रकोप न्यूनीकरणका लागि उचित नीति निर्माण गरेर कार्यान्वयन गर्न सकेको भए आज यस किसिमको अस्तव्यस्तताको सामना गर्नु नपर्ने महरको भनाइ छ। राजनीतिज्ञले जनताको स्पन्दन सुन्न सक्नुपर्ने महरले बताए। जनताको पीडा संसद् र सरकारलाई दुख्नु पर्ने र सबै राजनीतिक दलले राहत तथा उद्धारमा केन्द्रित हुनुपर्ने उनले बताए।

प्रकाशित: २३ असार २०८१ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =