इटहरी- चार दिनअघि घरबाट निस्किएका त्रिविका सहप्राध्यापक तथा समालोचक डा. रामजी तिम्सिनाको अवस्था अज्ञात रहेको छ। इटहरी-२ आँपगाछी निवासी डा. तिम्सिना बुधबार बिहान घरबाट निस्किएका थिए। घरबाट निस्किुनअघि ‘म बराहक्षेत्रमा जलसमाधि लिँदैछु, अलबिदा।’ लेखेर बेपत्ता भएका हुन्। उनले लेखेको त्यो चिर्कटोमा ‘मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार बिहीबारदेखि उनको खोजी जारी राखिएको छ। ‘बिहीबार प्रहरीमा खबर भएपछि खोजी थालेका हौँ,’ रेग्मीले भने, ‘हामीले आज (शनिबार) पनि खोजी गर्यौँ। सप्तकोशी नदीमा शनिबार गोताखोर टोली परिचालन भए पनि पत्ता लागेको छैन।’
नदीमा पौडन सक्ने तालिम प्राप्त गरेका गोताखोर टोलीबाट खोजी जारी राखिएको रेग्मीको भनाइ छ। उनका अनुसार तिम्सिनाको पछिल्लोपटक फोनको ‘लोकेसन’ सुनसरीको बराहक्षेत्र मन्दिर आसपास थियो। शुक्रबार दिउँसोसम्म फोन लागिरहेको थियो। शुक्रबार दिउँसोदेखि भने फोन ‘स्विच अफ’ छ। आफूले ‘सप्तकोशीमा जलसमाधि लिने’ किसिमको आशय लेखेको पत्र भेटिएपछि प्रहरीले सप्तकोशी नदीमा खोजी कार्य गरेको हो। ‘लोकेसन फाइन्डिङ भएको ठाउँमा खोजी गरे पनि हालसम्म केही पत्ता लागेको छैन,’ एसपी रेग्मीले भने।
उनका शुभचिन्तकहरूले बेपत्ता भएकोमा चिन्ता व्यक्त गरेका छन्। शुक्रबारदेखि उनको खोजीका निम्ति धेरैले चासो राखेका छन्। तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीस्थित कोसी कलेजमा अध्यापनरत छन्। उनी अंग्रेजीका सहप्राध्यापक हुन्। केही वर्षअघि विद्यावारिधि गरेका तिम्सिना समालोचना र अनुसन्धानमा रुचि राख्छन्।
घरका अरू कोही परिवार उठ्नुअगावै उनले चिर्कटो लेखेर कम्प्युटर नजिक राखेपछि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। बुधबार बिहान ६ः२६ बजे उनले आफ्नी आमाको नम्बरमा अन्तिमपटक फोन डायल गरेका थिए। फोन तत्काल नउठेपनि लगत्तै ‘कल ब्याक’ गर्दा तिम्सिनाको फोन उठेन।
‘बुधबार बेलुका घर नफर्किएपछि बिहीबार प्रहरीमा खबर भयो,’ पारिवारिक स्रोतले भन्यो, ‘अचानक बेपत्ता हुँदा चिन्ता थपिएको छ।’ जानकारहरूका अनुसार तिम्सिना अति अध्ययनशील मानिस हुन्। अनुसन्धानका क्षेत्रमा पत्याइएका उनलाई धेरै साहित्यकारले कुशल समालोचकका रूपमा चिन्छन्। तिम्सिना अचानक बेपत्ता हुनुको कारणबारे भने उनी निकटहरू आश्चर्यचकित छन्।