पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेन

हिमाल प्रेस २२ असार २०८१ १९:३३
32
SHARES
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेन

सुर्खेत- लगातारकाे वर्षाका कारण खसेको पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। शुक्रबार राति खसेको पहिरोले कर्णाली राजमार्गको कालीकोट र दैलेख खण्ड अवरुद्ध भएको थियो। अवरुद्ध सडक खुलाउन नसक्दा शनिबार बिहानैदेखि सवारीसाधन नियमित चल्न सकेका छैनन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीका अनुसार कालीकोट खण्डमा खसेका पाँच वटा पहिरोमध्ये तीन वटा पन्छाइएको छ। अब दुई वटा ठूला पहिरा पन्छाउन बाँकी छ।

उनका अनुसार हुल्म र गगनेखोलाका ठूला पहिरा पन्छाउन सकिएको छैन। ‘साना पहिरो मेसिनले पन्छाएको छ, हुल्ममा गएको ठूलो पहिरो पन्छाउन सानो मेसिनले नसकेपछि ठूलो मेसिन ल्याउन लागिएको छ,’ उनले भने, ‘गगनेखोलाको पहिरो पनि ठूलो छ,यसलाई पन्छाउन पहल भइरहेको छ।’

सडक अवरुद्ध हुँदा कालीकोट र दैलेख खण्डका दुवै छेउमा सवारीसाधनको लामो लाइन लागेको उनले बताए। यस्तै दैलेख खण्डको अवरोध भने हटाइएको छ। दैलेख खण्डको पादुकालगायतका क्षेत्रमा गएका पहिरा हटाएपछि दैलेख सडक खण्ड सुचारु भएकाे दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए।

प्रकाशित: २२ असार २०८१ १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =