सुरेन्द्र श्रेष्ठ बने लुम्बिनी वाणिज्य क्याम्पसको अध्यक्ष

हिमाल प्रेस २२ असार २०८१ १७:२६
16
SHARES
सुरेन्द्र श्रेष्ठ बने लुम्बिनी वाणिज्य क्याम्पसको अध्यक्ष

बुटवल- लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको चौधौ क्याम्पस सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। शनिबार आयोजित क्याम्पस सभाले सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो।

समितिका अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँको प्रमुख आतिथ्यतामा सम्पन्न क्याम्पस सभाले तीनबर्से कार्यकालका लागि अध्यक्षसहित चारजना निर्वाचित र नौजना पदेन गरी १३ सदस्यीय सञ्चालक समिति चयन गर्ने विधानले व्यवस्था गरेको छ।

क्याम्पस सभाबाट अध्यक्षसहित ११ सदस्यको नाम सर्वसम्मत रुपमा चयन गरिएको छ भने दुईजना सदस्य मनोनीत सँगै उपाध्यक्ष चयनको लागि क्याम्पस सञ्चालक समितिलाई जिम्मेवारी तोकिएको क्याम्पस प्रमुख एवं सञ्चालक समितिका सदस्यसचिव प्राध्यापक ताराप्रसाद उपाध्यायले जानकारी दिए।

यसअघि क्याम्पस सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले लुम्बिनी वाणिज्य क्याम्पस लुम्बिनी प्रदेशको मात्र नभई देशकै शैक्षिक धरोहर रहेको बताए। उनले देशकै गहनाको रुपमा रहेको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्न सबैक्षेत्रबाट पहल आवश्यक रहेको बताए।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले देशका विश्वविद्यालय र शैक्षिकसंस्थाहरु बेरोजगार जनशक्ति उत्पादन गर्ने थलो बनिरहेको उल्लेख गर्दै लुम्बिनी वाणिज्य क्याम्पसलाई गुणस्तरीय सँगै शिपयुक्त जनशक्ति उत्पादन गर्न सुझाव दिए। नगरप्रमुख पाण्डेले शिपयुक्त र रोजगारमुलक शिक्षा तर्फ लाग्न सकेमात्र युवाहरुको विदेश पलायन रोक्न सकिने र बुटवललाई पनि शिक्षाको हव बनाउन सकिने बताए।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष पाण्डेले बुटवलमा शिक्षा लिन चाहने विद्यार्थीहरुको पहिलो रोजाई लुम्बिनी वाणिज्य क्याम्पस बनिरहेको उल्लेख गर्दै क्याम्पसलाई मानित विश्वविद्यालय बनाउने प्रक्रिया अगाडी बढिरहेकोले विद्यार्थीहरुको आकर्षण अझै बढेर जाने बताए।

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष विजय कार्कीले क्याम्पसमा छात्रावास र बसको अभाव भईरहेको भन्दै छिटो व्यवस्था गर्न आग्रह गरे। क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले क्याम्पसको अहिलेको अवस्था र आगामी कार्ययोजना बारे क्याम्पस सभालाई जानकारी गराएका थिए।

२०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट कोचिङ कक्षाको रुपमा संचालन भएको यस क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पठनपाठन सुरु गरेको थियो।

आईकम कक्षाबाट पठनपाठन सुरु गरी २०४२ सालमा बीकम कक्षा सञ्चालन गरेको यो क्याम्पसले २०५७ सालबाट एमबीएस र २०७० सालबाट सेमेस्टर प्रणालीअन्तर्गतको बीबीएम कक्षा सञ्चालन गरेको हो। २०७४ सालबाट पहिलो पटक स्वायत्त कार्यक्रम अन्तर्गत एमबीए बीएफ, २०७६ सालबाट बीबीए एफए र एमबीएस फाइनान्स तथा २०७७ सालबाट बीबीएस अप्लाइड र बीएम एसका कक्षा सञ्चालन भइरहेको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए।

२०६३ सालमा ए स्किममा पर्न सफल लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट २०६८ सालमा पहिलो पटक र २०७५ सालमा दोस्रोपटक गुणस्तर सुनिश्चितता एवं प्रत्यायन क्यू ए ए प्रमाणपत्र प्राप्त गरेको छ। तेस्रो पटक क्यू एए प्राप्तिका लागि समेत प्रक्रिया अगाडि बढेको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए।

क्याम्पसमा हाल करिब ४ हजार विद्यार्थी अध्ययनरत तथा प्राध्यापक एवं कर्मचारी गरी ६५ जना कार्यरत रहेको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए।

प्रकाशित: २२ असार २०८१ १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =