काठमाडौँको नागार्जुनमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

हिमाल प्रेस २२ असार २०८१ १७:००
18
SHARES
काठमाडौँको नागार्जुनमा पहिरोमा पुरिएर एक जनाको मृत्यु सांकेतिक तस्बिर

काठमाडौँ- काठमाडौँको नागार्जुन नगरपालिका–३ मा खसेको पहिराेमा पुरिएर एक जनाको मृत्यु भएको छ। नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले पहिराेमा परेर गम्भीर घाइते भएका विकको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिए।

पहिरो भने बिहान ११ बजेतिर खसेको थियो। काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोस्थित भित्रि बाटोमा रोडको छेउमा वर्षाका कारण करिब एक मिटर जति भासिएकाले सचेत हुन प्रहरीले अनुरोध गरेको छ।

काठमाडौँको तारकेश्वर नगरपालिका–३ जितपुरफेदीस्थित श्रीमणी जमकटेलको पर्खालमा पहिरो जाँदा लोकनाथ जम्कट्टेलको जस्ताले बनेको एक तले घरमा क्षति भएको छ। मानवीय क्षति भने भएको छैन।

उपत्यका प्रहरीका अनुसार अविरल वर्षाको कारण काठमाडौँ उपत्यकाभित्र रहेका नदीका करिडोरस्थित सडकखण्डमा प्रहरीद्वारा गस्ती गरी नदीको सतहसम्बन्धी निगरानी गरिरहेको छ।

हालसम्म खतरामुक्त नै रहेको जनाइएको छ। विपद् कार्यमा खोज तथा उद्धार कार्यका लागि प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ। कार्यालयले नदीस्थित करिडोरमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

सुकुम्वासी बस्ती डुबानमा

अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन्। वर्षाका कारण काठमाडौँका विभिन्न नदी र खोलहरुमा जलस्तर बढेसँगै बल्खुको सुकुम्वासी बस्ती, त्यहाँको तरकारी बजारमा बाढी पसेको जिल्ला प्रहरी परिसरका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए।

उ‍नले भने, ‘बागमती, विष्णुमती, धोबिखोला, मनोहरा खोला तथा हनुमन्ते खोलामा जलसतह बढ्दा किनारमा केही रहेका टहरा डुबानमा परेका खबर आएका छन्, हाम्रो प्रहरी टोली उद्धारका लागि खटिएको छ।‍’ यसैगरी बागमतीमा आएको बाढीका कारण करिडोर सडक जलमग्न भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ असार २०८१ १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =