सरकारले गणित र विज्ञान विषयलाई ध्यान दिनुपर्छ : भट्टराई

हिमाल प्रेस २२ असार २०८१ १४:३७
88
SHARES
सरकारले गणित र विज्ञान विषयलाई ध्यान दिनुपर्छ : भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले गणित र विज्ञान विषयलाई ध्यान दिनुपर्ने बताएका छन्। गणित विज्ञान ट्रष्टले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष समेत रहेका डा.भट्टराईले गणित र विज्ञान विषयको विकास भएमात्र देश विकास हुने ठोकुवा गरे।

‘गणित र विज्ञान विषयको विकास भए मात्र देशको विकास हुन्छ,’ उनले भने। कार्यक्रममा गणित र विज्ञान विषयको विकास र विस्तारमा आधा शताब्दीभन्दा बढी सेवा गरेका १३ विद्वान्लाई पूर्वप्रधानमन्त्री डा.भट्टराईले सम्मान तथा पुरस्कार प्रदान गरे।

सम्मानित हुनेमा प्राडा सिद्धिप्रसाद कोइराला, बद्रीलक्ष्मी वैद्य, प्राडा गंगा श्रेष्ठ, प्राडा मुकुन्दप्रसाद गजुरेल, प्राडा सन्तोषमान मास्के, प्राडा प्रकाशरत्न शाक्य, हिरण्यलाल कर्माचार्य, कृष्णमणि जोशी प्रधान, रुद्रबहादुर प्रधान, यादवप्रसाद उपाध्याय कोइराला, कावेली जोशी, शिवनारायण प्रधान र तहलदास अधिकारी हुन्।

सम्मानित सबै व्यक्तित्व ७५ वर्षभन्दा माथि उमेरका हुन्। ट्रष्टले प्रत्येक दुई वर्षमा गणित विज्ञान विषयको विकास र विस्तारमा अतुलनीय योगदान दिने व्यक्तित्वलाई सम्मान तथा रथारोहण गराउँदै आएको छ। सम्मानित १३ जनालाई कमलपोखरीदेखि राष्ट्रियसभा गृहसम्म रथारोहणसमेत गराइएको थियो।

ट्रष्टले गणित विज्ञान प्रतिभा पुरस्कार नेपाल गणित समाज, काउन्सिल फर म्याथम्याटिक्स एजुकेसन कास्की, प्राडा सन्तोषमान मास्के, प्राडा ज्योति उपाध्याय देवकोटा, डा वेदप्रसाद ढकाल र मरणोपरान्त प्राडा उर्मिला प्याकुरेललाई प्रदान गरेको छ। सो पुरस्कारको राशि नगद ‍२५ हजारसहित सम्मानपत्र रहेको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका कुलपति प्राडा केशरजंग बरालले नेपालको गणित र विज्ञान क्षेत्रको विकासमा अतुलनीय योगदान दिने गुरुलाई सम्मान गर्नु खुसीको कुरा भएको बताए।

कार्यक्रमका संयोजक प्राडा हीराबहादुर महर्जनले विज्ञानका हरेक क्षेत्रको विकासमा गणितको प्रयोगले विशेष महत्व राखेको बताए। कार्यक्रममा ट्रष्टका पूर्वअध्यक्ष स्व राममान श्रेष्ठको स्मृतिमा प्रकाशन गरिएको ‘राममान स्मृति ग्रन्थ’ विमोचन गरिएको थियो। उक्त ट्रष्टले यसअघि २४ जनालाई सम्मान गरिसकेको छ।

प्रकाशित: २२ असार २०८१ १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =