साहित्यवार्ता

उत्कृष्ट लेखनका लागि प्रयास गरिरहनु सफल स्रष्टाको गुण हो : बाबा बस्नेत [अन्तर्वार्ता]

हिमाल प्रेस २२ असार २०८१ ९:०७
138
SHARES
उत्कृष्ट लेखनका लागि प्रयास गरिरहनु सफल स्रष्टाको गुण हो : बाबा बस्नेत [अन्तर्वार्ता] बाबा बस्नेत, प्राज्ञ परिषद् सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठान

साहित्यकार बाबा बस्नेत अहिले नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य तथा पद्य/काव्य विभाग प्रमुखका रूपमा कार्यरत छिन्। उनको प्रथम प्रकाशित रचना नववर्ष (कविता) हो। हालसम्म उनका धर्तीको सुसेली (कवितासंग्रह), जब दिन ढल्छ-चखेवा रुन्छ (गीतसंग्रह), योद्धा (पूर्णांकी नाटक), गन्तव्य (कथासंग्रह), बालुवाको घर (कवितासंग्रह), सुदर्शन (शोककाव्य), उन्युँ फुलेपछि (कथासंग्रह), नारी प्रश्नै प्रश्न (लेखसंग्रह), रातकी रानी (उपन्यास), जलपरी (बालकथासंग्रह), उरालु (कथासंग्रह), युद्धको बाँसुरी (कवितासंग्रह) बिहानी (गीति एल्बम), विश्व नारी (सम्पादन-नेपाली नाटक) र सेतो फरिया (खण्डकाव्य) जस्ता कृति प्रकशित छन्। उनै बस्नेतसँग साहित्यलेखन, प्रभाव र प्रेरणालगायतका विषयमा जितराज सापकोटाले गरेको कुराकानी :

यहाँले साहित्यलेखन कहिलेबाट सुरु गर्नुभएको हो?

१३ वर्षको उमेरदेखि साहित्यलेखन थालेकी हुँ।

साहित्यमा लाग्न प्रेरणाचाहिँ कोबाट पाउनुभएको हो?

पोखराको पातले छाँगो र महेन्द्र गुफाबाट प्रभावित भएँ। त्यसपछि आफैँ बाँचेको परिवेशले पनि मलाई साहित्यलेखनमा लाग्न प्रेरणा दिएको हो।

अहिले आफ्नो लेखनलाई कसरी अघि बढाउनुभएको छ?

प्रत्येक विषयवस्तु नै लेखन विधि भएर अग्रसर भइदिन्छन्। लेखन एउटा दैनिकीजस्तो पछ्याइरहन्छन् प्रत्येक पलले लेखनकै लागि।

कुनै नयाँ कृतिको तयारीमा पनि हुनुहुन्छ?

दुईचारवटा पाण्डुलिपि तयार छन्। तिनैको परिमार्जनमा जुटेकी छु।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ?

विशेषतः साहित्य लेखनमा जीवन समर्पण गर्नेको आर्थिक पक्ष त्यति सबल रहँदैन। अर्थोपार्जनभन्दा पनि साहित्यकार/लेखकको ध्यान आदि साहित्य लेख प्रवर्धन-संवर्धनमै बित्ने गर्छ। बढी चिन्तनमा रहने स्वभावले गर्दा स्रष्टाको मूल्यांकन गरी उनीहरूको जीवनयापनकै निम्ति पहल गर्नुपर्ने जरुरी देखिन्छ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् भन्ने ठान्नुभएको छ?

संख्यात्मक हिसाबले सबैले लेखकीय दायित्व बहन गरिरहेजस्तो लाग्दैन किनकि साहित्य ‘परिवर्तन’को पनि ठोस हतियार भएको हुँदा समय र युगअनुरूप प्रचलन विधिहरू पनि परिमार्जन संशोधन गर्नु लेखकीय दायित्व हो। तर कतिपय लेखकमा युगअनुरूप आफ्नो पुरातन सोच फेरिएको छैन।

तपाईँ आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ?

मेरा पूर्व प्रकाशित कतिपय कृतिका अर्थहीन पुरातन विषयवस्तुप्रति म सन्तुष्ट छैन।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ?

हिजोको साहित्यमा जति पनि क्षमता थियो भने आजको साहित्य बाधा निर्मूल गर्ने साधन हुनुपर्छ- त्यो भइरहेको पनि छ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ?

साहित्य त्यस्तो होस्- जसले व्यक्ति, समाज र राजनीतिलाई पनि मार्गनिर्देशन गरोस्। समस्याको सही समाधानको उपाय निकालोस्।

तपाईंको लेख्ने निश्चित समय छ कि ?

त्यस्तो निश्चित लेख्ने समय भनेको बिहानीपख हो। त्यसो त आवश्यकताअनुसार जुनसुकै समयमा पनि लेखिन्छ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ?

कुनै पनि दृश्य अथवा वस्तुस्थिति मेरो लागि तत्काल लेखन विषयवस्तु बन्ने गर्छ। विषयवस्तु खोज्न हिँड्नुपर्दैन। आफूवरिपरिका स÷साना घटना नै लेखनका ठूला विषयवस्तु भइदिन्छन्।

सफल स्रष्टाका आवश्यक गुण के/के हुन्?

सफल स्रष्टाका आवश्यक गुण भनेको अपूर्ण मान्नु र उत्कृष्ट लेखनका लागि प्रयास गरिरहनु हो।

साहित्यमा कुन विधाका पाठक बढी भएको पाउनुभएको छ?

विशेषगरी कथा विधामै बढी पाठक होलान्।

सिर्जनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला?

सिर्जना सुन्दर हुनुमा कल्पना पक्षको पनि आवश्यक भूमिका त रहन्छ। तर सिर्जनामा सक्रिय हुनु अति जरुरी छ। सक्रिय सिर्जना नै जीवन्त रहन्छ।

लेख्नुपर्ने बाध्यता कतिबेला महसुस हुन्छ?

न्याय प्राप्त गर्नुपर्ने विषय जब अन्यायमा पर्छन्, सही तथ्य जब भूमिगत पर्छन्- त्यसबाहेक जब कुनै पनि व्यक्ति र विषयले मन छुन्छ र मस्तिष्क हल्लाउँछ- त्यतिखेर लेख्नुपर्ने बाध्यता महसुस गर्छु।

बाबा बस्नेत साहित्यकार नभएको भए…

साहित्यकार हुन्छु भनेर भएकी होइन- स्वतः जोडियो यो पक्ष जीवनसित। साहित्यकार नभएको भए के हुन्थेँ भन्ने प्रश्नको उत्तर म पाउँदिनँ किनकि अरू जे हुन पनि साहित्यकार पक्षले कहाँ रोक्छ र?

प्रकाशित: २२ असार २०८१ ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =