पोखरा लामाचौरमा पोलिटेक्निक इन्स्टिच्युटको होस्टेल भवन भासियो

हिमाल प्रेस २१ असार २०८१ १२:०७
72
SHARES
पोखरा लामाचौरमा पोलिटेक्निक इन्स्टिच्युटको होस्टेल भवन भासियो

पोखरा- लगातार वर्षाका कारण पोखराको लामाचौरस्थित पोलिटेक्निक इन्स्टिच्युट प्रालिको होस्टेल भवन भासिएको छ। गएराति २ बजेतिर भएको सो घटनामा मानवीय क्षति नभए पनि होस्टेलको भान्सातर्फको भागमा क्षति पुगेकाे छ।

स्थानीयवासी एवं पोखरा मन्टेसरी स्कुलका सञ्चालक थिरबहादुर थापाले गएराति लगातार वर्षाका कारण नालीको पानी लिक भएर खाल्डो बनेको र राति २ बजेतिर भवनको दक्षिणतर्फ रहेको भान्सा भासिएको बताए।

उनले भने,‘गएराति लगातार वर्षाका कारण राति १२ बजेतिर नालीको पानी लिक भएपछि खाल्डो बनेको र राति करिब २ बजेतिर भवनको दक्षिणतर्फ रहेको भान्सा भासिएको रहेछ।’ ब्लकले बनेको उक्त भवन एकतले हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लगातार वर्षा भए थप क्षति हुने भएकोले स्थानीयको सहयोगमा भान्साघर भएको ठाउँ खाली गराउन लागिएको छ। लामाचौरको गैह्राबारीस्थित उक्त होस्टेलमा करिब ४० जना विद्यार्थी बस्छन्। यो लामाचौर इन्जिनियरिङ कलेजभन्दा माथि र इन्द्रराज्य लक्ष्मी माविभन्दा थोरै तल पर्दछ।

गत साउनमा लामाचौर नजिकै बाटुलचौरको डाँडाथोक मार्गको सडक भासिएको थियो। पिच सडक भासिएपछि बस्ती नै जोखिममा परेको थियो। सडक भासिएपछि परेको भ्वाङ पुर्न आएको टिपरसमेत खाल्डोमा फसेको थियो।

पोखराको अर्मलामा पनि जमिन भ्वाङ परेकाे थियाे। पोखरामा वर्षायाममा सडक भासिनु सामान्य लाग्न थालेको छ। स्थानीयवासीका अनुसार पोखरामा नालीको व्यवस्थापन राम्रो छैन। वर्षायाममा नाली भरिएर सडकबाटै खोल बग्ने गर्दछ।

यहाँको माटो चुनयुक्त भएकोले पानीमा घुलिँदा चुन पग्लिएर माटोको भारबहन क्षमता घटेपछि जमिन भासिने गरेको भूगोलविद् प्रा‍.डा.कृष्ण केसीले बताए।

प्रकाशित: २१ असार २०८१ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =