बेलायती निर्वाचन : लेबर सजिलै सत्तामा फर्कने प्रक्षेपण

हिमाल प्रेस २१ असार २०८१ ९:१०
24
SHARES
बेलायती निर्वाचन : लेबर सजिलै सत्तामा फर्कने प्रक्षेपण बेलायतमा भएको संसदीय निर्वाचनपछि मत गणना गरिँदै। तस्बिर : एपी/रासस

बेलायतमा आमनिर्वाचनको मतदान सकिएपछि नतिजाबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। बहुमतले गरेको अड्कल सही हुने बाटोमा अघि बढेको छ। देशका मुख्य सञ्चारमाध्यमले गरेको एक्जिट पोलका अनुसार लेबर पार्टीले ऐतिहासिक सफलता प्राप्त गर्दैछ।

लेबरले इंग्ल्यान्डको मध्य र उत्तरी क्षेत्रहरूसँगै स्कटल्यान्डमा आफ्नो दबदबा कायम गर्ने प्रक्षेपण छ। एक्जिट पोलका अनुसार लेबरले तल्लो सदन हाउस अफ कमन्समा ६५० मध्ये ४१० सिट प्राप्त गर्नेछ। बेलायती सदनमा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ। सत्तारुढ कन्जरभेटिभ पार्टीको पोल्टामा १३१ सिट मात्र पर्ने अनुमान गरिँदैछ।

केइर स्टार्मरको नेतृत्वमा रहेको लेबर सत्ता पुनरागमन निश्चित रहेको अनुमान भइरहँदा यो सम्भावित नतिजालाई सन् १९९७ को आमनिर्वाचनको नतिजासँग पनि तुलना गरिँदैछ। त्यसबेला टोनी ब्लेयरले लेबरलाई ४१८ सिटमा जित दिलाएका थिए।

एक्जिट पोल शतप्रतिशत सही नहुन सक्छ। यदि यो सही साबित भयो भने लेबरले अत्यधिक बहुमत प्राप्त गर्नेछ। विश्लेकषकहरूका अनुसार लेबरले यसपालि तुलनात्मक रूपमा कम आक्रामक चुनावी अभियान चलाएको थियो। यति हुँदाहुँदै पनि लेबरले बहुमत मतदाताको मन जित्न सकेको हो। जबकि पाँच वर्षअघि मात्र लेबरले एक सय वर्षयताकै सबैभन्दा लज्जास्पद हार व्यहोरेको थियो। सन् २०१९ को त्यो निर्वाचनमा कन्जरभेटिभ पार्टीले ३६५ सिटमा जित हासिल गर्दा लेवरको भागमा २०३ सिट परेको थियो।

यसपालि भने बेलायती मतदाताले कन्जरभेटिभलाई नराम्रोसँग सजाय दिएको द इकनमिस्ट म्यागजिनले लेखेको छ। इकनमिस्टका अनुसार कन्जरभेटिभ पार्टी बेलायतको आधुनिक लोकतान्त्रिक इतिहासकै सर्वाधिक खराब स्थितिमा पुग्न लागेको छ।

सर्वाधिक सिट जित्ने प्रक्षेपण भए पनि लेबरले पाउने मत भने पछिल्लो निर्वाचनमा जस्तै ४० प्रतिशतको आसपास रहने सम्भावना छ। त्यसबेला लेबर जेरेमी कोर्बिनको नेतृत्वमा निर्वाचनमा होमिएको थियो। कोर्बिन नेतृत्वमा २०३ सिट जितेको लबेरले यसपल्ट बेलायतको लगभग सबै क्षेत्रबाट मत पाएको बताइँदैछ।

निर्वाचनमा लेबर बलियो साबित हुनुको धेरै कारण छन्। त्यसमध्येको एक कारण हो, साना पार्टीहरूको बढ्दो भोट सेयर। साना पार्टीहरूले कैयौँ ठाउँमा कन्जरभेटिभको मत काटेकाले लेबरलाई फाइदा हुन पुगेको हो। लेबर र कन्जरभेटिभपछि लिबरल डेमोक्र्याट्स सबैभन्दा ठूलो पार्टी बन्ने बाटोमा छ। उसले ६१ सिट जित्ने प्रक्षेपण गरिँदैछ।

उता रिफर्म यूकेको भागमा १३ सिट पर्ने अनुमान छ। रिफर्मका लागि यो ठूलो सफलता हो। सन् २०१८ मा स्थापित यो पार्टीलाई बेलायती राजनीतिमा पपुलिस्ट पार्टी मानिन्छ। उता बेलायतको उत्तरी भेगको स्कटल्यान्डमा लामो समय दबदबा कायम गरेको स्कटिस नेसनलिस्ट पार्टी भने १० सिटमा खुम्चिने भएको छ।

बेलायतमा एक्जिट पोलको प्रक्षेपण असफल भएको दृष्टान्त पनि पर्याप्त छन्। सन् १९७४ को निर्वाचनमा लेबरले अत्यधिक बहुमत पाउने बताइएको थियो। आखिरमा लेबर तीन सिटमा सीमित भएको थियो। त्यसैगरी सन् १९९२ को निर्वाचनमा कन्जरभेटिभ विजयी हुने अनुमान पनि फेल खाएको थियो।

उसो त सर्वेक्षण गर्ने पद्धति, तथ्यांक संकलन गर्ने ढाँचा सुधारिएको हुँदा एक्जिट पोल वास्तविकता नजिक पुग्ने एकथरीको भनाइ छ। पछिल्ला सात निर्वाचनमा एक्जिट पोलको प्रक्षेपण सही साबित हुनुले पनि यसको पुष्टि गर्छ। बेलायती निर्वाचन नतिजाको प्रक्षेपणमा नामी मानिएका जोन कर्टिसले यसपालि पनि एक्जिट पोलको नेतृत्व गरेका हुन्। उनी ओपिनियन पोलभन्दा एक्जिट पोलको विश्वसनीयता बढी रहेको जिकिर गर्छन्। यद्यपि यसपालिको मतदानको नतिजा अनुमान गर्न कठिन छ। किनभने यस्ता धेरै सिट छन्, जहाँ उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा छ।

बेलायतमा निर्वाचित सरकारको आयु पाँच वर्षसम्म रहन्छ। सन् २०१९ को डिसेम्बरमा भएको निर्वाचनमा कन्जर्भेटिभ पार्टी निर्वाचित भएको थियो। संसदीय निर्वाचन २०२४ को जुलाई ४ मा भएको हो।

मतगणना सकिएपछि बेलायती राजाले सबैभन्दा धेरै सिट जित्ने पार्टीका नेतालाई प्रधानमन्त्री बनाउनेछन्। संसद्‌मा दोस्रो धेरै सिट जित्ने पार्टीका नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्छन्।नवनिर्वाचित संसद्को बैठक जुलाई ९ मा बस्नेछ।

प्रकाशित: २१ असार २०८१ ९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =