रास्वपाको संकट एकातिर, बहस अर्कैतिर

हिमाल प्रेस २० असार २०८१ २१:२५
84
SHARES
रास्वपाको संकट एकातिर, बहस अर्कैतिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक कलहमा फसेको छ। पार्टी सभापति रवि लामिछाने र महामन्त्री मुकुल ढकाल मुखामुख नै भएका छन्। बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले मुखमा कालो टेप बाँधेर विरोध जनाएपछि पार्टीभित्रको आन्तरिक कलह छताछुल्ल भएको हो।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनेतिर लाग्दा राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका प्रस्ट्याउनुपर्ने न्यूनतम राजनीतिक दायित्व भुलेर रास्वपा आन्तरिक कलहमा फसेको छ। रास्वपाका सभापति लामिछाने वर्तमान सरकारमा उपप्रधान तथा गृहमन्त्री छन्। तर रास्वपा सरकारबाट बाहिरिने अवस्थामा पुगेको छ।

संसद्को सबैभन्दा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले समीकरण बनाएर सरकार बनाउन अग्रसर भएका छन्। यो बेला बसेको रास्वपाको केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले मुखमा मास्क लगाएर त्यसमाथि कालो टेपको क्रस बनाएर विद्रोह गरेका थिए।

बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोधस्वरूप महामन्त्री ढकालले मुखमा कालो टेप बाँधेका हुन्। लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रसारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आए पनि केन्द्रीय समितिले उनको प्रस्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरेको थियो।

बुधबार रास्वपाको केन्द्रीय समिति महामन्त्री डा। मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न बसेको हो। तर उक्त बैठकमा केन्द्रीय सदस्यहरू मूल विषयबाट टाढा पुगे र महामन्त्रीको समग्र कार्यसम्पादनकै समीक्षामा जुटे।

महामन्त्री ढकाल टेप लगाएर बसेपछि केही केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका थिए। होहल्ला भएपछि सभापति लामिछानेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। त्यसपछि फेरि सभापतिले महामन्त्रीका गतिविधिलाई पार्टी अनुशासनको विषय बनाउने र अनुशासन आयोगले हेर्ने बताएपछि बैठक सुचारु भयो।

महामन्त्रीले नबोल्ने बताएपछि सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले डेढ घण्टा लगाएर समीक्षा प्रतिवेदन वाचन गरे। त्यसपछि खाना खान बैठक स्थगित भयो। खाना खाएपश्चात प्रतिवेदनमाथि छलफल सुरु गर्न भनेर बसेको बैठकमा केन्द्रीय सदस्यहरू मूल विषयबाट टाढा पुगे।

सरकारबाट बाहिरिएपछिको रणनीति के हुने, समीक्षा प्रतिवेदनका सन्दर्भमा आफ्नो बुझाइ के हो भनेर राख्ने भन्दा बढी महामन्त्रीको कार्यसम्पादन र कार्यशैलीलाई लिएर टिप्पणीमा उत्रिए। केही केन्द्रीय सदस्यले महामन्त्री पार्टीको विधि र अनुशासन विपरीत कामकारबाहीमा संलग्न रहेको भन्दै कारबाहीको माग राखे।

महामन्त्रीले आफ्नो प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा अगाडि मिडियाबाजी गरेको भन्दै आलोचना भएको छ। ढकालले दुई वर्षदेखि महामन्त्रीको रूपमा कार्यरत छन्। ‘अहिले उहाँ सभापतिविरुद्ध उत्रिन थाल्नुभएपछि सबैको असन्तुष्टि विष्फोट भएको छ,’ एक केन्द्रीय सदस्यले भने।

समीक्षाले निम्त्याएको संकट

इलाम–२ मा सम्पन्न उपचुनावमा अपेक्षित नतिजा हासिल गर्न नसकेपछि रास्वपाले महामन्त्री ढकाललाई देशभर पुगेर जनमत लिन जिम्मेवारी दिइएको थियो। देश दौडाहापछि पार्टीका बारेमा जनधारणा समेट्दै उनले प्रतिवेदन तयार पारे। जहाँ सभापतिको कार्यशैलीमाथि असन्तुष्टि रहेको र अहिलेको अवस्था कायम रहे २०८४ मा राष्ट्रिय पार्टी बन्न नसक्ने उल्लेख छ।

गत बुधबार पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई महामन्त्री ढकालले जेठ ६ गतेबाट झन्डै एक महिना स्थलगत अध्ययन गरी दलभित्र र बाहिरका तीन हजार जनाभन्दा बढीसँग अन्तरक्रिया गरेर तयार पारेको प्रतिवेदन बुझाएका थिए।

महामन्त्री ढकालले बुझाएको उक्त प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने भनिएको केन्द्रीय समितिको बैठक मूल उद्देश्यबाट अर्कैतिर मोडिएर आन्तरिक कलहमा फसेको हो। स्थलगत भ्रमणपछि तयार पारेको समीक्षा प्रतिवेदनको निष्कर्ष सुनाउने क्रममा महामन्त्री ढकालले घण्टीमा ‘कालो बादल मडारिएको’ उल्लेख गरे।

उनले तल्लो स्तरबाट आफूले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा पनि काठमाडौंका महानगरका प्रमुख बालेन्द्र शाहसहितका स्वतन्त्र मेयरसँग मिल्नका लागि सबैभन्दा उपयुक्त हुने सुझाव आएको जनाएका थिए।

माओवादी र एमालेसँग मिलेर रास्वपा दोस्रो पटक सत्तामा रहेको समयमा यस्ता बुँदा उल्लेख गरेर महामन्त्री ढकालले प्रतिवेदन बुझाउनुलाई धेरैले अर्थपूर्ण रूपमा लिएका छन्। स्थापना भएको एक वर्ष पनि नभई संसदीय निर्वाचनमा सहभागी भएको रास्वपाको हाल प्रतिनिधिसभामा २१ सिट छ।

महामन्त्री ढकालले रास्वपाबाट नागरिकले आशा गरेका भन्दै अहिले पार्टीको जनमत एकदमै निराशाजनक रहेको र आशा जगाउन काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका थिए। रास्वपाका सभापति लामिछानेले भने महामन्त्रीको राजनीतिक समीक्षालाई गम्भीरतापूर्वक लिइने र दलको पछिल्लो अवस्थाको निर्मम समीक्षा गरिने जनाएका छन्।

प्रतिवेदन ग्रहण गरेपछि उनले भनेका थिए, ‘आमनागरिकले दिएको प्रतिक्रिया हो त्यही भएर त्यो चिन्ता गर्ने कुरा स्वाभाविक हो। हामीबाट कति अपेक्षा गरिएको छ, त्यही भएर त्यो अपेक्षानुसार हामीले शल्यक्रिया नै नगरी हुँदैन भन्नु राम्रो, स्वाभाविक हो।’

उनले रास्वपा आन्तरिक लोकतन्त्रलाई प्रवर्द्धन गर्ने पार्टी भएको भन्दै सभापति लामिछानेले दलभित्रका कमीकमजोरी नलुकाउने र निर्मम समीक्षा गरेर अघि बढ्ने धारणा पनि राखेका छन्।
महामन्त्री ढकालले आफूले तयार पारेको प्रतिवेदनमा उल्लिखित विषय थाहा पाउने अधिकार घण्टी चिह्नमा मतदान गर्ने ११ लाखभन्दा बढी नागरिकको भएको उल्लेख गर्दै त्यसलाई सार्वजनिक गर्न पनि माग गरेका छन्।
तर महामन्त्री ढकालले प्रतिवेदनका निष्कर्षका केही बुँदाहरू सार्वजनिक गरेपछि त्यसले रास्वपाभित्र उनको आलोचना भएको थियो। अहिले उनले प्रतिवेदन नै सार्वजनिक गरिदिएका छन्।

ह्यारेसमेन्ट भएको गुनासो

महामन्त्री ढकालले आफूमाथि पार्टीबाट ह्यारेसमेन्ट भएको बताउँछन्। ‘उहाँहरूले मलाई ह्यारेसमेन्ट गर्नुभयो। दुईजना उपसभापतिले आजदेखि महामन्त्री मान्दैनौँ भन्नुभयो। मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो। एउटा राजनीतिक प्राणिको रूपमा मैले विरोध जनाएको हो। बोल कि बोल भन्न पाइँदैन,’ उनले भने।

गोरखा मिडियाबाट भएको सहकारी ठगीमा जीबी राई मात्रै दोषी हो भन्नेले पार्टीमा महामन्त्रीको मात्र गल्ती देखाएको उनको गुनासो छ। ‘महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँदै छ। उहाँ गोर्खा मिडिया नेटवर्कमा महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो। त्यहाँ चाहिँ अध्यक्ष जीबी राईको सबै गल्ती भन्नुहुन्छ। पार्टी चाहिँ महामन्त्रीको सबै गल्ती देखाउनुहुन्छ। उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ती गर्दैन भनेजस्तो भयो,’ उनले भनेका छन्।

सर्वसाधारण मानिसका प्रश्न र विषयहरू आफ्नो टेलिभिजन कार्यक्रममार्फत् सोझै प्रस्तुत गरेर लोकप्रियता कमाएका रवि लामिछाने पछिल्लो समय गोर्खा मिडिया नेटवर्कमा थिए। उक्त मिडिया छाडेर उनले रास्वपाको स्थापना र विस्तार गरेका थिए।
गएको वर्ष सम्पन्न उपचुनावअघि नेपाली कांग्रेसका नेता तथा अर्थविद् स्वर्णिम वाग्ले रास्वपामा प्रवेश गरेका थिए। उनी तनहुँबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी पनि भए।

मूलधारका दलहरूमाथि निराशाका बढिरहेको बेला विभिन्न पेसा र व्यवसाय गर्ने विभिन्न युवा र नयाँ अनुहारहरू आबद्ध रास्वपाको उदयलाई मानिसहरूले आशापूर्वक हेरेका थिए।

गत वर्ष उपचुनावबाट दोस्रो पटक निर्वाचित हुनुअघि लामिछाने जोडिएको नागरिकतासम्बन्धी विवाद समाधान भएको थियो। अदालतले लामिछानेको नागरिकताको कारण देखाउँदै चितवनस्थित उनको क्षेत्रको निर्वाचन रद्द गरिदिएपछि त्यहाँ उपचुनाव भएको थियो।

तर दोहोरो राहदानी प्रयोगसम्बन्धी लामिछानेसँग जोडिएको अर्को मुद्दा अदालतमा विचाराधीन छ भने सहकारी प्रकरणमा संसदीय छानबिन चलिरहेको छ। उनले सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको र त्यसलाई अनावश्यक राजनीतीकरण गरिएको बताउने गरेका छन्। यो बेला महामन्त्री ढकालले नै आफूमाथि पार्टीबाट ह्यारेसमेन्ट भएको बताएपछि आन्तरिक असन्तुष्टि छताछुल्ल भएको छ।

प्रकाशित: २० असार २०८१ २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 2 =