काठमाडौँ- गत वैशाख ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नागढुंगा-सिस्ने खोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरिएको थियो। निर्माण कार्य सुरु भएको ५३ महिनापछि नागढुंगा-सिस्ने खोला सुरुङमार्ग छिचोलिएपछि प्रधानमन्त्रीले ‘ब्रेक थ्रु’ गरेका थिए। ‘ब्रेक थ्रु’ भए पनि सुरुङमार्गमा सवारीसाधन सञ्चालन गर्न करिब १६ महिना लागने नागढुंगा-सिस्ने खोला सुरुङमार्ग आयोजनाले जनाएको छ।
सुरुङमार्ग छेड्ने काम सम्पन्न भए पनि केही पूर्वाधार निर्माणलगायतका काम बाँकी रहेका कारण अझै १ वर्ष ६ महिनापछि मात्र सवारी सञ्चालन हुने नागढुंगा-सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले जानकारी दिए। उनका अनुसार कन्ट्रोल सिस्टम जडान, टेलिफोन जडान, लाइट जडान, अक्सिजनको मात्रा मिलाउने उपकरण जडान, रेस्क्यु सेन्टर निर्माण र तापक्रम मिलाउने उपकरण जडानलगायतका केही प्रविधिक काम बाँकी छ। यी सबै काम सम्पन्न भएपछि सवारीसाधान सञ्चालन हुने उनको भनाइ छ।
नागढुंगा-सिस्ने खोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कस्ता सवारीसाधन कुदाउन पाइन्छ भनेर सर्वसाधारणमा जिज्ञासा बढेको छ। सडक विभाग र नागढुंगा-सिस्ने खोला सुरुङमार्ग आयोजनाले यस सुरुङमार्गमा केकस्ता सवारीसाधनलाई मात्र कुदाउन अनुमति दिने भनेर मापदण्ड बनाएका छन्। आयोजना र विभागको मापदण्डका बारेमा कतिपय सर्वसाधारण जानकार छैन।
यस्ता सवारीसाधनलाई मात्र अनुमति
नागढुंगा-सिस्ने खोला सुरुङमार्ग हुँदै साना-ठूला गरेर दैनिक करिब १० हजार सवारी ओहोरदोहोर क्षमता भएको आयोजनाले जनाएको छ। काम सम्पन्न भएपछि बस र सामान्य ट्रक गुडाउनका लागि निश्चित तौल र उचाइको मापदण्ड तोकिने आयोजनाका उपआयोजना निर्देशक दुमरुले जानकारी दिए। उनका अनुसार पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभरलोड सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउँदैनन्।
उनले सुरुङमार्गमा हेभिवेट भएको ट्रक, पेट्रोल, डिजेल र ग्यास बोकेको ट्यांकर र बुलेट, दुई पांग्रे सवारीसाधनलाई सञ्चालनको अनुमति आयोजनाको मापदण्डमा नभएको बताए। ‘सुरुङमार्गबाट यात्रुवाहक, सामान्य तौलको ट्रक, कार र जिप मात्र चलाउन पाइन्छ। सर्वसाधारणले सुरुङमार्ग निःशुल्क रूपमा प्रयोग गर्न पाउँदैनन्। सुरुङमार्ग प्रयोग गरेबापत केही शुल्क तिर्नुपर्छ,’ दुमरुले भने, ‘सुरुङमार्ग प्रयोग गर्दा प्रयोगकर्ताले निश्चित शुल्क तिर्नुपर्छ। सवारीसाधानले तौलका आधारमा कति शुल्क लिने भन्ने सुरुङमार्ग सञ्चालन भएपछि मात्र निर्धारण हुन्छ। यस विषयमा छलफल हुन बाँकी छ।’
काठमाडौँ-तराई द्रुतमार्ग प्रयोग गरेबापत सर्वसाधारणले केही शुल्क तिर्नुपर्ने मोडालिटीजस्तै यो सुरुङमार्ग प्रयोग गर्दा पनि सवारीसाधनले भने केही शुल्क अनिवार्य रूपमा तिर्नुपर्ने व्यवस्था भएको उनको भनाइ छ। सिस्नेखोला र चन्द्रागिरितर्फको मुखमा निर्माण हुने टोलगेटले सवारीसाधनको तौल र उचाइ परीक्षण गरेर तोकिएको निश्चित तौल र उचाइको आधारमा सुरुङमार्गमा चलाउन अनुमति दिने आयोजनाले जनाएको छ। मापदण्डभित्र पर्ने बस र ट्रकसँगै अन्य सवारीसाधनले मात्रै सुरुङमार्गबाट ओहोरदोहोर गर्न पाउने दुमरुको भनाइ छ।
सडक विभागले सुरक्षालाई ध्यानमा राख्दै सुरुङमार्गमा घुम्नका लागि सर्वसाधारणलाई केही समय प्रतिबन्ध लगाउने तयारी गरेको छ। आगामी वर्षको असारभित्र नागढुंगा-सिस्ने खोला सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी छ। सडक विभागका प्रवक्ता उमेशबिन्दु श्रेष्ठले सञ्चालनमा आएपछि सुरुङमार्गको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए।
कुल लागत २२ अर्ब
आयोजनाका अनुसार सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर सरकारले आयोजना सुरु गरेको थियो। उक्त रकम नपुगेपछि सरकारले ६ अर्ब रुपैयाँभन्दा बजेट थपेको थियो। सुरुङमार्ग सञ्चालनमा आउँदा कुल लागत भने २२ अर्ब पुग्ने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार मुआब्जामा ६ अर्ब रुपैयाँ खर्च भइसकेको छ।
सुरुङ सञ्चालनमा आएपछि काठमाडौँको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ। काठमाडौँतर्फ बलम्बुबाट साढे आठ किलोमिटर दूरीमा पुगिने सिस्नेखोला सुरुङमार्ग भएर जाँदा भने २.६८८ किलोमिटरको दूरी हुनेछ। बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्र भइरहेको आयोजनाले जनाएको छ। ‘ड्रिल एन्ड ब्लास्ट मेथड’ अपनाएर सुरुङ निर्माणको काम भएको हो। मुख्य सुरुङबाट आपत्कालीन सुरुङमा जाने सातवटा द्वार निर्माण भएका छन्।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७६ कात्तिक ४ मा काठमाडौँतर्फको टुटीपाखामा सुरुङको शिलान्यास गरेका थिए। ४२ महिनाभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखे पनि कोभिड र बेलाबेला हुने स्थानीयको अवरोधका कारण पाँच वर्ष लागेको नागढुंगा-सिस्ने खोला सुरुङ निर्माण आयोजनाले जनाएको छ।
भिडियाे