घनश्याम भुसालको अडान ‘तेस्रो वरीयता’मा

हिमाल प्रेस २० असार २०८१ १३:४०
26
SHARES
घनश्याम भुसालको अडान ‘तेस्रो वरीयता’मा

काठमाडौँ- १० औँ महाधिवेशनबाट नेतृत्व चयनका लागि नेकपा एकीकृत समाजवादीभित्र नेताहरू व्यस्त छन्। भरसक अध्यक्षसहितका केही पदाधिकारीमा सर्वसम्मति गर्ने प्रयत्न नेताहरूले गरेका छन्।

नेताहरूका अनुसार अध्यक्ष पदमा माधव नेपाल दोहोरिने निश्चित भएको छ। अध्यक्षमा दाबी गर्ने झलनाथ खनाल र घनश्याम भुसालले अडान छाडेपछि नेपाल निर्विरोध हुने भएका छन्।

खनाल सम्मानित नेता दोहोरिने यसअघि नै निश्चित भइसकेको छ। अहिले नेताहरू घनश्यामलाई मनाउने प्रयत्नमा लागेका छन्। ‘हो, अहिलेसम्म धेरै कुरा मिलिसक्यो। नेताहरू कमलादीस्थित होटल रोयल सिंगीमा सर्वसम्मत प्रयासका गरिरहेका छन्।’ समाजवादीका एक नेताले भने।

भुसालले सम्मानित उपाध्यक्षको अडान गरिरहेका छन्। यो पद नेपाल र खनालपछिको तेस्रो वरीयताको हो। तर, यसअघि नै नेपालले वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई ल्याउने योजना बनाएका थिए। अहिले पनि पाण्डे वरिष्ठ उपाध्यक्षबाट पछि हटेका छैनन्। नेपालसहितका नेताहरूले भुसाललाई कार्यकारी अधिकारसहित महासचिव लिन अनुरोध गरेका छन्।

नेताहरूले भुसाललाई चौथो वरीयता र महासचिव दिने आश्वासन दिएको समाजवादी निकट स्रोतको भनाइ छ। तर भुसाल मानेका छैनन्। नेपाल निकट स्रोतका अनुसार भुसाललाई चौथो वरीयतामा बस्न अनुरोध गरिएको हो। उपाध्यक्षहरूलाई भने भुसालभन्दा तल राख्ने समाजवादीले जनाएको छ।

‘नेतृत्व सर्वसम्मत तयार गर्छौ,’ केहीबेर अघि होटलबाट निस्कदै गर्दा नेपालले भनेका थिए,‘छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन।’

प्रकाशित: २० असार २०८१ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =