दूतावासले झुटो मागपत्र प्रमाणीकरण नगर्दा अफवाह फैलाउँदै म्यानपावर

रमेश भारती २० असार २०८१ १३:२८
68
SHARES
दूतावासले झुटो मागपत्र प्रमाणीकरण नगर्दा अफवाह फैलाउँदै म्यानपावर

काठमाडौँ-  वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका म्यानपावर व्यवसायीहरूले यूएईस्थित नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरणको काम ठप्प भएको आरोप लगाएका छन्। उनीहरूले अनलाइनबाट मागपत्र प्रमाणीकरणको काम सुरु भएपछि दूतावासले प्रविधिक समस्या देखाउँदा १५ दिनयता काम ठप्प गरेको बताएका छन्।

म्यानपावर व्यवसायीले १५ दिनयता दूतावासले मागपत्र प्रमाणीकरणको काम नगरेको आरोप लगाएपनि दूतावासले भने मागपत्र प्रमाणीकरणको काम गरिरहेको जानकारी दिएको छ। यूएईस्थित नेपाली दूतावासका राजदूत तेजबहादुर क्षेत्रीले मागपत्र प्रमाणीकरणको काम कत्ति पनि नरोकिएको जानकारी टेलिफोनमा मार्फत हिमालप्रेसलाई दिए।

‘यदी कसैले झुटा विवरण बुझाएका छन् भने उनीहरूको काम रोकिएको हुनसक्छ। सिधा आउने कागजपत्र पुगेको छ भने प्रमाणीकरण रोकिने कुरै छैन,’ उनले भने, ‘अनलाइनमा नै हेर्न सकिन्छ। २० जनाको कोटा ल्याउने अनि सय जनाको माग पत्र भर्नेलाई कसरी दिन सकिन्छ। २० को मात्र दिइन्छ। सायद त्यस्तोलाई रोकेको भनेको भए थाहा भएन। हामीकोमा काम रोकिएको छैन।’

झुटो विवरण पेस गर्ने म्यानपावर कम्पनीहरूको हकमा भने मागपत्र प्रमाणीकरण हुँदैन। ‘रद्द नै हुन्छ रोकिने मात्र होइन,’ उनले भने,’हाम्रा साथीहरूले अहिले पनि प्रमाणीकरणको काम गरिरहनु भएको छ। बुझ्ने काम भइरहको छ। प्रमाणीकारण नहुने भन्ने त हुँदैहुँदैन’ उनले प्रष्ट पारे।

‘केही म्यानपावर कम्पनीले रोजगारदाता कम्पनीबाट २० वटा डिमाण्ड ल्याएर एक सयभन्दा बढी मागपत्र प्रमाणीकरणका लागि आवेदन दिने गरेका छन्। त्यस्ता झुटो विवरणको आवेदन दिने म्यानपावरहरूको मात्र मागपत्र प्रमाणीकरणको काम रोकिएको होला,’ उनले भने।

वास्तविक कोटामा मात्र दूतावासले मागपत्र प्रमाणीकरण गर्ने र झुटो कोटाको काम रोक्न खोज्दा अहिले बजारमा दूतावासले मागपत्र प्रमाणीकरणको काम रोकेको अफवाह त्यस्तै काम भन्दा गैर धन्दा गर्ने म्यानपावरले फैलाएको हुनसक्ने उनले बताए।

यूएईस्थित नेपाली दूतावासले गत जुन १० देखि परराष्ट्र मन्त्रालयले तयार पारेको अनलाइन प्लेटफर्मलाई वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस)सँग समन्वय गरी मागपत्र प्रमाणीकरणको काम सुरु गरेको थियो। अहिले विभागकै सूचना व्यवस्थापन प्रणालीबाट दूतावासले मागपत्र प्रमाणीकरणको काम गरिरहेको छ।

वैदेशिक रोजगार व्यवसाय संघका महासचिव मेघनाथ भुर्तेलका अनुसार अनलाइनबाट मागपत्र प्रमाणीकरणको काम भएको छैन। काम नभएपनि दूतावासको सेवा पुर्ण रुप बन्द पनि नभएको उनले बताए। ‘श्रम र परराष्ट्र मन्त्रालयबीच मागपत्र प्रमाणीकरण कसले गर्ने भन्ने विषयमा द्वन्द्व छ। यसको मार रोजगार व्यवसायीलाई परेको छ। यो समस्या जति सक्दो चाँडै समाधान गर्नुपर्छ,’ उनले भने।

कन्सुलर विभागले प्रयोगमा ल्याएको प्रविधिले काम नगरी मागपत्र प्रमाणीकरणमा गम्भीर समस्या देखिँदासमेत समाधानका लागि ठोस पहल नभएको म्यानपावर व्यवसायीहरूको गुनासो आइरहेको उनी बताउँछन्। १५ दिन अगाडी आवेदन दिएका माग प्रमाणीकरण नभएको र दूतावासलाई पटक-पटक आग्रह गरेपनि समस्या समाधानका लागि परराष्ट्र र श्रम मन्त्रालय गम्भीर नभएको महासचिव भुर्तेलको भनाइ छ।

कतिपय म्यानपावरले नगद लेनदेनका लागि कर्मचारीहरूले मागपत्र प्रमाणीकरणको फाइल अड्काएको आरोप समेत सरकारी कर्मचारीलाई लगाउँदै आएका छन्। अन्यत्र थाहा भएन, तर यहाँ कसैलै लेनदेन गरेको प्रमाणीत गरेमा तत्काल कारवाही गर्ने जानकारी दिए।

वैदेशिक रोजगार विभागले प्रयोग गरिरहेको सफ्टवेयर र परराष्ट्र मन्त्रालयले तयार पारेको अनलाइन प्रणालीमा एकअर्कासँग उचितरुपमा समन्वय (कम्प्याक्ट) गर्न नसकेको म्यानपावर व्यवसायीले पटक-पटक गुनासो गर्दै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

कतिपयले प्रयोगमा ल्याएको अनलाइन प्रणालीबाट सहजरुपमा माग प्रमाणीकरण नभएपछि कम्तीमा असार मसान्तसम्म पहिलेकै पुरानै फेमिसमार्फत मागपत्र प्रमाणीकरणको काम गरिरहेको छ। व्यवसायीले आग्रह गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए। दूतावासमा देखिएको समस्या तत्काल समाधान गर्न लागि परेको उनको भनाइ छ।

दूतावासको कमजोरीका कारण नेपालीका लागि आकर्षक रोजगारीको अवसर गुम्ने, यूएईस्थित नेपाली दूतावासले छोटो समयको सूचनाका आधारमा गत जुन १० देखि नै अनलाइन सुरु गर्नु र नेपालीको श्रम बजार बिथोलिने चिन्ता बढेको संघका महासचिव भुर्तेलले जानकारी दिए।

प्रकाशित: २० असार २०८१ १३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =