जसपाका मन्त्रीले राजीनामा दिने, एकीकृत समाजवादीकाले नदिने

हिमाल प्रेस २० असार २०८१ ९:५४
66
SHARES
जसपाका मन्त्रीले राजीनामा दिने, एकीकृत समाजवादीकाले नदिने

काठमाडौँ- नयाँ समीकरण बन्ने भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता दिने र सरकारबाट बाहिरिने क्रम जारी छ।

बुधबार सत्ताको प्रमुख घटक नेकपा एमालेले समर्थन फिर्ता लिँदै मन्त्रीहरू फिर्ता लियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्री पनि राजीनामा दिँदैछन्। योसँगै साना दलहरू पनि राजीनामा दिने चरणमा छन्। अशोक राई नेतृत्वको जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन्।

जसपाबाट सरकारमा सहभागी भएका स्वास्थ्यमन्त्री प्रदीप यादव, वनमन्त्री नलकिशोर सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले राजीनामा दिन लागेका हुन्। उनीहरूले आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउने जसपाका महासचिव मोहम्मद इस्तियाक राईले बताएका छन्। उनका अनुसार पार्टीले नेकपा एमाले र नेपाली कांग्रेसबीचको नयाँ गठबन्धनलाई साथ दिने तयारी गरेको छ। यता नेकपा एकीकृत समाजवादीले भने सरकारलाई दिएको समर्थन यथावत राख्ने भएको छ।

समाजवादीका नेता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीप्रति अझै विश्वासको मत कायमै रहेकाले पार्टीका मन्त्रीहरूले राजीनामा नदिने बताएका छन्। समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका छन्। जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढालाई सहरी विकास मन्त्री छन्।

प्रकाशित: २० असार २०८१ ९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =