एमालेका मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट

हिमाल प्रेस १९ असार २०८१ १९:१२
70
SHARES
एमालेका मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई बालकोट बोलाएका छन्।

अहिले मन्त्रीहरू बालकोट पुग्ने क्रम जारी छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अध्यक्ष ओलीले बालकोट बोलाएको बताए।

केही समयमा बैठक सुरु हुने उनको भनाइ छ। बालकोट किन बोलाइएको हो भन्नेबारे भने आफूलाई जानकारी नभएको उनले बताए।

नेपाली कांग्रेससँगको नयाँ गठबन्धन बन्ने सहमति गरेको नेकपा एमालेले माओवादीसहितको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आज साँझसम्म एमालेका मन्त्रीले पदबाट राजीनामा दिने बताएका थिए। सोही विषयमा ओलीले मन्त्रीहरूलाई बोलाएको हुन सक्ने नेताहरूले बताएका छन्।

प्रधानमन्त्रीलाई नेकपा एमालेको सचिवालय बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरिएको र त्यसो नगरे एमाले आफैँ सरकारबाट बाहिरिने तयारी छ।

बुधबार बिहान बसेकाे कांग्रेस कार्यसम्पादन समितिकाे बैठकले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन आह्वान गरेकाे थियाे। तर प्रधानमन्त्री दाहालले राजीनामा नदिने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिएर सरकार ढाल्ने तयारी सुरु भएको हो।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। कांग्रेस र एमाले नै बाहिर हुँदा दाहालले विश्वासको मत पाउने सम्भावना नै छैन।

गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ। सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पहिले र त्यसपछिको चुनावी सरकारमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ।

प्रकाशित: १९ असार २०८१ १९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =