गण्डकी सरकारबाट सुरु भएको थियो एमाले-माओवादी खटपट

विजय नेपाल १८ असार २०८१ १८:४३
314
SHARES
गण्डकी सरकारबाट सुरु भएको थियो एमाले-माओवादी खटपट

पोखरा– मध्यरातमा एकाएक कांग्रेस-एमाले नयाँ सत्ता गठबन्धनका लागि सहमतिको बिन्दुसम्म आइपुग्नुमा एउटा कारण गण्डकीमा सरकार गठन प्रक्रियासँग जोडिएको आकलन गरिएको छ। नेकपा (एमाले) संसदीय दलका नेता एवम् तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिने बेलामा सभामुख कृष्णप्रसाद धितालले सहयोग नगर्दा एमाले-माओवादीबीच तिक्तता सुरु हुन थालेको थियो। त्यो विषय केन्द्रसम्म पुग्यो। यसलाई कांग्रेससँग एमाले मिल्नुको एउटा कारण रहेको अनुमान गण्डकीका नेताहरूले गरेका छन्।

नेताहरूका अनुसार माओवादी असहयोगकै कारण गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेर कांग्रेस नेतृत्वमा सरकार बनेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बुझाइ छ। गण्डकीका सभामुख धिताल माओवादी पार्टीबाट २०७९ सालको चुनाव जितेर प्रदेशसभा प्रवेश गरेका हुन्।

गोरखाका धितालले गोरखाकै कांग्रेस नेता एवम् कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई सहयोग गरेको र पाण्डे सरकारले विश्वासको मत पाएको बुझाइ एमाले नेताहरूको छ। त्यसअघि अधिकारीलाई विश्वासको मत दिने बेलामा सभामुख धितालले भद्र सहमति अवज्ञा गरेको स्रोतको दाबी छ।

अधिकारी सरकारले पाएको ३० सांसदको विश्वासको मतलाई बहुमत घोषणा गरेर आफ्नो मत सुरक्षित राखेका थिए। ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ जनाको समर्थन चाहिन्थ्यो। ३० सांसदको समर्थनलाई सर्वोच्चले असंवैधानिक ठहर गर्दै पाण्डे सरकारलाई नेपालको संविधान धारा १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि परमादेश दिएको हो।

सोहीअनुरूप एमाले सरकार ढलेर पाण्डे सरकार बनेको छ। त्यसो त सभामुख र उपसभामुखले पदबाट राजीनामा गरेनन्। उनीहरूले राजीनामा दिएको भए पनि कांग्रेस नेता पाण्डेले विश्वासको मत पाउने थिएनन्।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमान भने यो तर्क वाहियात रहेको दाबी गर्छन्। एमालेको अधिकारी सरकारलाई सभामुखले सहयोग नगर्दा अहिलेको परिस्थिति सिर्जना हुनुको एउटा कारण हो? भनी हिमालप्रेसको जिज्ञासामा उनले भने, ‘यो वाहियात तर्क हो। सभामुखले आफ्नो ठाउँबाट सम्भव भएजति गर्नुभएको हो। उहाँहरूको आरोप मात्र हो।’

उनी संविधान संशोधन गर्ने सहमतिअनुसार अघि बढेको गठबन्धनको उद्देश्य गम्भीर रहेको बताउँछन्। चुमानले भने, ‘यो गठबन्धनले यसले देश कतातर्फ जाँदैछ भन्ने कुरा संकेत गर्छ। यो २०४७ सालतिरको संविधानतिर फर्किने हो कि भन्ने मलाई लागेको छ।’ गण्डकी सरकारको भविष्यबारे उनले भने, ‘केन्द्रमा गठबन्धन बदलिएपछि यहाँ पनि प्रभाव पर्ने होला नि। तर यहाँ के गर्छन् यसै भन्न सकिएको छैन।’

नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले देश र जनताका लागि अब केही गर्ने हो भने अब नयाँ गठबन्धनसँगै एमाले प्रजातन्त्रवादी बन्नुपर्ने र कांग्रेस समाजवादी बन्नुपर्ने बताए। उनले भने, ‘अब एमाले प्रजातन्त्रवादी बन्नुपर्छ, कांग्रेस समाजवादी बन्नुपर्छ। तबमात्रै देश र जनताका लागि केही गर्न सकिन्छ। जनताको आशा र भरोसा तयार हुनेछ।’

प्रदेशको सरकारको भविष्यबारे उनले भने, ‘गण्डकीमा अहिले हाम्रै नेतृत्वको सरकार छ। कांग्रेस-एमालेसहित गठबन्धनपछि भोलिका दिनमा पनि हाम्रै सरकार रहन्छ। त्यसबेला एमाले सरकारमा सहभागी हुन्छ। नेतृत्व हाम्रै हुन्छ।’ उनका अनुसार गठबन्धन खाली सत्ताका लागि मात्रै गठबन्धन भएको हो भने यसले पनि केही गर्न नसक्ने तर देश र जनताको हितमा काम गर्ने प्रतिबद्धतासहित गठबन्धन बनेको हो भने चौरासीको चुनावसम्म जान्छ।  उनले भने, ‘त्यसबेला एमाले र कांग्रेस अलगअलग भएर जनतासमक्ष गए पनि जनताले भरोसा राख्छन्। नेपाली जनताको जुन विश्वास रहने हो, त्यो अझ बढेर जानेछ।’

नेकपा (एमाले) गण्डकी अध्यक्ष नवराज शर्माले केन्द्रमा जे आएको छ, प्रदेशमा पनि त्यही होला भन्ने अनुमान गर्न सकिने बताउँछन्। उनले भने, ‘दुई दल (कांग्रेस-एमाले) बीच सहमतिको लिखत बाहिर अझै आइसकेको छैन। पछि आउला। तर मिडियामा आएका कुरालाई आधार मान्ने हो भने गण्डकी कांग्रेसले लिने गरी बाँडफाँट भा’को भन्ने हल्ला छ।’

त्यस्तो हुँदा पनि एमाले सरकारमै रहने शर्माले बताए। ‘हामी गण्डकीको विकास र समृद्धिमा लाग्ने हो। अर्को कुरा के हो भने चित्त बुझे पनि नबुझे पनि जनताले दिएको म्यान्डेटअनुसार कांग्रेस पहिलो र एमाले दोस्रो दल हो’, उनले भने। स्थिरता र समृद्धिका लागि एमाले-कांग्रेसले सबैलाई समेटेर राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउनुपर्ने उनले बताए। शर्माले अबको तीन वर्षसम्म संघ, प्रदेशमा स्थिरता दिने र समृद्धिको जग हाल्ने काम गर्नुपर्नेमा जोड दिए।

गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटालाई इंगित गर्दै शर्माले भने, ‘चुनावमा जनतालाई दलको घोषणापत्र रोज्ने, असल नेता रोज्ने अधिकार दिएको हो। चुनावमा एउटा उम्मेदवार उठाउने तर अर्को दलको घोषणापत्र बोकेर हिँडेर लेनदेन गर्नु किमार्थ राम्रो होइन।’ उनले चुनावमा भने गठबन्धन नगरी जनतालाई पार्टी र नेता रोज्न पाउनुपर्ने अधिकार दिइनुपर्नेमा जोड दिए।

गण्डकी प्रदेशमा २०७९ को प्रदेशसभा चुनावयता ४ वटा सरकार बनिसकेका छन्। एमाले दलका नेता अधिकारी र कांग्रेस दलका नेता पाण्डेले दुई दुई पटक मुख्यमन्त्री बनिसकेका छन्। गण्डकीमा हाल कांग्रेसका पाण्डे सरकारलाई राप्रपा, स्वतन्त्र उम्मेदवार दीपक मनाङे र नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाले साथ दिएका छन्। प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेस हो। उसको २७ सिट छ। दोस्रोमा एमालेको २२, माओवादीको (सभामुखसहित) ८, राप्रपा २ सिट छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =