पोखरा महानगरमा अख्तियारको छापा, मणिपाललाई छुटबारे कागजात नियन्त्रण

हिमाल प्रेस १८ असार २०८१ १७:०७
12
SHARES
पोखरा महानगरमा अख्तियारको छापा, मणिपाललाई छुटबारे कागजात नियन्त्रण पोखरा महानगरपालिकाको कार्यालय ।

पोखरा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले पोखरा महानगरपालिकामा छापा मारेको छ। मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत राजस्व छुट दिएकोबारे उजुरी परेपछि छानबिन गर्न अख्तियारको टोलीले मंगलबार दिउँसो न्यूरोडस्थित कार्यालयमा छापा मारेको हो।

अख्तियार दुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका सूचना अधिकारी उपसचिव जगदीशचन्द्र शिवाकोटीले भने, ‘मणिपाललाई राजस्व छुट दिएकोबारेमा उजुरी परेपछि अनुसन्धानका लागि सम्बन्धित कागजात नियन्त्रणमा लिएका हौं। अब छानबिनको प्रक्रियामा जान्छ। आयोगको निर्णय अनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ।’

शिवाकोटीका अनुसार छुटबारे सम्पूर्ण उपलब्ध कागजातहरू जस्तो, कार्यपालिका बैठकको निर्णय, राजस्व छुटबारे निर्णय, नक्सापास लगायत कागजात नियन्त्रणमा लिइएको हो। पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई १९ करोड ८१ लाख ११ हजार रुपैयाँ राजस्व छुट दिई नक्सापास स्वीकृति दिएको पाइएको छ।

महालेखा परीक्षण प्रतिवेदनका अनुसार यसबाहके आर्थिक वर्ष २०७८/७८ मा महानगरमा ७९ करोड २३ लाख ७५ हजारको बेरुजु, राजस्व असुलीमा २५ प्रतिशतको गिरावट, दीर्घकालीन लाभ र प्रतिफलदायी योजनाको चयनमा भएको कमजोरी औँल्याइएको छ।

साथै, पोखराको रिठ्ठेपानी डाँडा कटानबापत प्राप्त हुने ८ करोड ४० लाख रुपैयाँ रोयल्टी महानगरमा दाखिला नभएको पाइएको, १ सय २१ जना कर्मचारी मनपरी रुपमा भर्ना गरी नियमविपरीत ४ करोड २५ लाख खर्च गरेको, मापदण्ड र कार्यविधी बिना विभिन्न संघसंस्था र व्यक्तिहरूलाई आर्थिक सहायता वितरण गरेको, रामघाट क्षेत्रबाट खेर जाने स्रोत साधनको उपयोग गरी राजस्व असुल गर्न नसकेको, फेवाताल सिल्ट्रेशन ट्रामका खोलामा प्राविधिक आधारबिना ५० प्रतिशत कम परिमाणमा ठेक्का सम्झौता भई २ करोड ६० लाख नोक्सानी भएको, कार्यतालिकाबमोजिम हर्पन तथा खहरे खोलाको ड्यामको निर्माण सम्पन्न नभएको, नियमावलीविपरीत विभिन्न नाममा विभिन्न मितिमा एउटै कामको लागि अलग अलग उपभोक्ता समिति गठन गरी सीमाभन्दा बढी रकम भुक्तानी गरेको, वैदेशिक भ्रमणमा भएको लाखौंको अनियमितता, सामाजिक सुरक्षा भत्तामा भएको करोडौंको अनियमितता, प्रमाण बेगरका भुक्तानी भएको, प्रगति शून्य भएका आयोजनाको संख्या सैयौं भएको, सार्वजनिक जग्गामा निर्माण भएका सटरबाट लाखौंका भाडा कर असुल नभएको, बिना प्रतिष्पर्धा सोझै खरिदमा भएको करोडौंको अनियमितता, करिब २ करोड बराबरको खाना खाजा खर्च लगायत महानगरका सबैखाले अनियमितता महालेखको प्रतिवेदनमा औल्याइएको छ।

यसबारे नेकपा एमाले पोखरा महानगर कमिटीले मंगलबार पत्रकार सम्मेलन गरी छानबिनको माग गरेको छ। यस्तै, केही समयअघि राप्रपा कास्की, राजस्वा कास्की, एमाले पोखरा महानगरले पोखरा महानगरपालिका कार्यालयको अनियमितताबारे आफ्नो ध्ध्यानाकर्षण भएको जनाउँदौ यसको विरोध जनाएका थिए। पोखराका मेयर हाल धनराज आचार्य हुन्। उनी एकीकृत समाजवादीबाट चुनाव जितेका थिए। उपमेयर एमालेकी मञ्जुदेवी गुरुङ हुन्।

प्रकाशित: १८ असार २०८१ १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =