भ्रष्टाचार संरक्षणका लागि कांग्रेस-एमाले मिलेको माओवादी निष्कर्ष

हिमाल प्रेस १८ असार २०८१ ११:४८
96
SHARES
भ्रष्टाचार संरक्षणका लागि कांग्रेस-एमाले मिलेको माओवादी निष्कर्ष माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'।

काठमाडौँ– माओवादी केन्द्रले प्रमुख दुई राजनीतिक दल मिलेर भ्रष्टाचार संरक्षण र संविधानलाई पछाडि धकेल्न खोजेको निष्कर्ष निकालेको छ। सत्ता समीकरणका विषयमा कांग्रेस र एमालेबीच नयाँ सहमति भएपछि मंगलबार माओवादीको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको एक पदाधिकारीले हिमालप्रेसलाई जानकारी दिए।

‘हामीले ठूला भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइरहँदा लामो समय राज्य सत्तामा रहेकाहरूले नै फेरि एकपटक सहमति गरेर प्रक्रिया रोक्न लागिपरेका छन्’, ती पदाधिकारीले भने। उनले कांग्रेस-एमालेको सहमतिले संविधान एक कदम पछाडि धकेलिने र भ्रष्टाचारीहरू संरक्षित हुने बाहेक अन्य कुनै उपलब्धि नहुने बताए।

कांग्रेस-एमाले सहमति भएको भनिए पनि एमालेले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने नेता देवेन्द्र पौडेलले बताए। उनले भने, ‘समर्थन फिर्ता लिए पनि संसद्‌‌मा फेस गर्ने तयारी प्रधानमन्त्रीको छ। उहाँ तत्काल राजीनामा दिने सोचमा हुनुहुन्न।’

बैठकपछि माओवादी प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस र एमालेबीच भएको सहमति संविधानविपरीत रहेको बताए। उनले भने, ‘अप्रत्याशित रूपमा जुन खालका घटनाक्रम आएका छन्। यो त्यति स्वाभाविक र संवैधानिक छैन। देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक जस्तो लाग्दैन।’ उनले दुई दलको सहमतिले अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको बताए।

सत्ता समीकरणका लागि कांग्रेस र एमालेबीच भएको भनिएको सहमति सार्वजनिक गरिएको छैन। राससका अनुसार सोमबार राति दुई दलबीच संविधान संशोधनलगायत कार्यसूची (एजेन्डा) सहित सहमतिको नयाँ सरकार बनाउन सहमति भएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्। छलफल र गृहकार्यपछि तयार गरिएको नयाँ सत्ता समीकरणसहितको सहमतिपत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष शर्मा ओलीले राति नै हस्ताक्षर गरेको दाबी ती नेताको छ।

प्रमुख ती दुई दलका बीचमा निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको बताइएको छ। दुवै पार्टीले आन्तरिक रूपमा थप छलफल गरेपछि नयाँ बन्ने सरकारमा मन्त्रालयगत जिम्मेवारीसम्बन्धी निष्कर्षमा पुग्ने जनाएका छन्।

नयाँ सत्ता समीकरणका लागि सभापति देउवा र अध्यक्ष ओलीबीच केही दिन नियमित रूपमा छलफल हुँदै आएको थियो। सोमबारको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले अध्यक्ष ओलीसँग यही असार १५ गते भएको भेट सकारात्मक भएको जानकारी गराएका थिए।

कांग्रेस-एमालेबीच नयाँ सरकार गठनबारे लिखित सहमति

धरापमा प्रचण्डको ‘जादुमय नम्बर’!

प्रकाशित: १८ असार २०८१ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =